नेपाल छन्त्याल संघ, गण्डकी प्रदेशद्वारा गायिका छन्त्यालको बिदाइ

पोखरा, २३ भदौ
नेपाल छन्त्याल संघ, गण्डकी प्रदेशले प्रदेश सदस्य एवं गायिका जेनिशा छन्त्याल (जकमाया)लाई बिदाइ गरेको छ । अष्ट्रेलिया जान लागेकी गायिका छन्त्याललाई संघले आइतबार कास्कीको माछापुच्छ«े गाउँपालिका–२, भुर्जुङखोलामा आयोजित एक कार्यक्रममा सफल जीवनको कामनासहित बिदाइ गरेको हो ।
सो अवसरमा गायिका छन्त्याललाई बिदाइ गर्दै छन्त्याल संघ, गण्डकी प्रदेशका अध्यक्ष खिम झिंराजा छन्त्यालले सामाजिक, राजनैतिक एवं गायन क्षेत्रमा समेत उत्तिकै प्रतिभाशाली व्यक्तित्वलाई स्वदेशमै राख्न नसक्नु दुःखद् कुरा भएको बताउनुभयो । नेपालमै बसेर धेरै योगदान दिन सक्ने व्यक्तित्व भएपनि विदेशिनु बाध्यता भएको बताउँदै उहाँले विदेशमा बसेर पनि आफ्नो मातृभूमिका लागि गर्न सकिने कामलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । साथै, उहाँले आफ्नो जातिको स्वाभिमान र पहिचानका लागि विदेशमा भएपनि आफ्नो ठाउँबाट काम गर्न समेत आग्रह गर्नुभयो ।


त्यस्तै, संघका केन्द्रीय सदस्य प्रथम छन्त्याल, गण्डकी प्रदेशका सल्लाहकार बमबहादुर घरब्जा छन्त्याल, प्रदेश सचिव थमप्रकाश छन्त्याल, नेपाल छन्त्याल महिला संघ, कास्कीकी अध्यक्ष माया तथब्जा छन्त्याल र सचिव नरकुमारी छन्त्यालले जहाँ गएपनि जहाँ भएपनि आफ्नो समुदायको पहिचानलाई नभुल्न आग्रह गर्दै विदेशिँदै गर्दा आफ्नो मातृभाषामा गीत कोसेलीस्वरुप बजारमा ल्याएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो । गायिका छन्त्यालले विदेशिनु आफ्नो रहर नभइ बाध्यता भएको बताउँदै विदेशी भूमिमा रहेपनि आफ्नो मातृभूमिलाई कहिल्यै भुल्न नसक्ने बताउनुभयो । साथै, उहाँले आफू धेरै वर्ष अष्ट्रेलियामा बिताउने पक्षमा नरहेको र त्यहाँ सिकेको कुरालाई स्वदेश फर्किएर लागू गर्ने प्रयास गर्ने बताउनुभयो ।
त्यस अवसरमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, गण्डकी प्रदेशकी अध्यक्ष दिलमाया गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका महासचिव रूद्रबहादुर श्रीस, तमुस्यो रि च्हमी परिवारका अध्यक्ष गौरी गुरुङलगायतले गायिका छन्त्याललाई शुभकामना दिनुभएको थियो ।


गायिका छन्त्यालले गत साता मात्रै आफ्नो पहिलो सांगीतिक कोसेलीका रुपमा छन्त्याल भाषाको तेस्रो गीत “खानी गाउँरी म्हिन्थो फुलिसीम” (खानी गाउँमा फूल फुलेको छ)को म्यूजिक भिडियो सार्वजनिक गर्नुभएको थियो । सामाजिक कार्यमा समेत क्रियाशील गायिका छन्त्याल राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, गण्डकी प्रदेशको सह–सचिव, नेपाल छन्त्याल संघ, गण्डकी प्रदेशको सदस्य र नेपाल छन्त्याल महिला संघ, कास्कीको कोषाध्यक्ष हुनुहुन्छ ।

Advertisment