अधिकारको रेल चढ्न कर्तव्यको तेल भर्नुपर्छ ः सांसद् रोका

पोखरा, १४ भदौ
गण्डकी प्रदेशकी प्रदेशसभा सदस्य दिलमाया रोका “दीपा”ले अधिकारको रेल चढ्न कर्तव्यको तेल भर्नुपर्ने बताउनुभएको छ ।
नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजका अवसरमा गलकोट समाज पोखराले शनिबार पोखरामा आयोजना गरेको दर खाने कार्यक्रमलाई सम्बोधन गर्दै सांसद् रोकाले अधिकारको खोजीसँगै आफ्नो कर्तव्य पनि पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
नीति र विधिभन्दा कोही माथि नहुने भन्दै उहाँले देश समृद्धिको यात्रामा अघि बढेको र महिलाहरू पनि आर्थिक समृद्धिसँग जोडिनुपर्ने धारणा राख्नुभयो । महिला अधिकारका सवालमा जति नै राम्रा कानून निर्माण भएपनि त्यसको कार्यान्वयन नभएसम्म औचित्य नहुने भन्दै सांसद् रोकाले मौलिक संस्कृतिको संरक्षण गर्दै समयानुसार चाडपर्वलाई परिष्कृत समेत गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
समाजमा वरिष्ठ सल्लाहकार प्रा.डा. भवानीप्रसाद पाण्डे “भाष्कर”ले तीज पर्व हिन्दू नारीहरूको मात्र नभइ सबै नेपाली नारीहरूको चाड भएको बताउनुभयो । संस्कृति मानवको जीवन पद्धति भएको भन्दै उहाँले संस्कृति आफैंमा गतिशील चिज भएकाले समयानुसार परिवर्तन हुँदै जाने बताउनुभयो । तीजमा विकृति भयो भन्नेहरूप्रति इंगित गर्दै उहाँले तीजमा विकृति आएको नदेखेको बरु विकृति भन्नेहरूको सोंच नै विकृतिले भरिएको बताउनुभयो ।
बागलुङ समाज पोखराका अध्यक्ष कुलचन्द्र शर्माले तीज पर्वले नेपाली महिलाहरूलाई स्वतन्त्रताको महसुस गर्न र अधिकारको बोध गराउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । तीजको मौलिकतालाई मर्न दिन नहुने भन्दै उहाँले बागलुङ जिल्लाबाट आएर पोखरामा विभिन्न पेशा, व्यवसाय गरी बस्नेहरूका बीचमा यस्ता कार्यक्रमले सद्भाव र सहकार्य बढाउन भूमिका खेल्ने धारणा राख्नुभयो ।
गलकोट समाज पोखराका अध्यक्ष मीनबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राधिका खत्री र सचिव द्रोण खत्री “पूर्वक”ले पनि बोल्नुभएको थियो । कार्यक्रममा दर खाने कार्यक्रमका प्रायोजक अम्मरबहादुर खत्री र उहाँको परिवारलाई सम्मान समेत गरिएको थियो । साथै, ८० वर्ष भन्दा माथिका ज्येष्ठ महिला नागरिकलाई पनि सम्मान गरिएको थियो ।

 

Advertisment