मृगौलापीडित श्रीसलाई बागलुङ–पोखरा मगर समाजको ४० हजार सहयोग

पोखरा, २५ साउन
दुवै मृगौला खराब भइ उपचाररत बागलुङको गलकोट नगरपालिका वडा नं. २, नरेठाँटी, घसघसाका ३६ वर्षीय गमप्रसाद श्रीसमगरलाई बागलुङ–पोखरा मगर समाजले ४० हजार ५ सय ५ रुपैयाँ सहयोग हस्तान्तण गरेको छ ।
मृगौलापीडित श्रीसलाई शनिबार आयोजित समाजको १३ औं वार्षिक साधारणसभाको अवसरमा सो सहयोग रकम हस्तान्तरण गरिएको हो । सो सहयोग रकममध्ये समाजको तर्फबाट ३ हजार रुपैयाँ र बाँकी समाजका सदस्यहरूबाट संकलन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगर, समाजका अध्यक्ष रामबहादुर पुनमगर र बागलुङ समाज, पोखराका उपाध्यक्ष सुनिल पाण्डेले संयुक्त रुपमा सो रकम मृगौलापीडित श्रीसलाई हस्तान्तरण गर्नुभएको हो ।
वैदेशिक रोजगारीका शिलशिलामा संयुक्त अरब इमिरेट्सको दुबईमा सात वर्ष कार्यरत मृगौलापीडित श्रीस बिरामी भएपछि स्वदेश फर्कनुभएको थियो । नेपाल आएर स्वास्थ्य परीक्षण गरेपछि दुवै मृगौला फेल भएको पत्ता लागेको उहाँले जानकारी दिनुभयो । सुरुमा काठमाडौंको निदान अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात उपचार सुरु गरेको र पछि वीर अस्पतालमा डाइलासिस सुरु गरेको मृगौलापीडित श्रीसले बताउनुभयो । हालः पोखराको लेकसिटी हस्पिटल एण्ड रिसर्च सेन्टरमा नियमित डाइलासिस गराइरहनुभएका उहाँले मृगौला प्रत्यारोपणका लागि ठूलो धनराशी खर्च हुने भएकाले आर्थिक अभावका कारण उपचारमा समस्या भएको उल्लेख गर्नुभयो ।
यसअघि, पनि जापानबाट साढे पाँच लाख रुपैयाँ र दक्षिण कोरियाबाट २ लाख १२ हजार रुपैयाँ सहयोग आएको मृगौलापीडित श्रीसले बताउनुभयो । चिकित्सकले मृगौला प्रत्यारोपणका लागि ३०/४० लाख रुपैयाँ खर्च हुने बताएकोले सहयोग रकम जुटेमा मृगौला प्रत्यारोपणका लागि प्रक्रिया अघि बढाउने उहाँको भनाइ छ । हालसम्म सहयोग गर्नेहरूलाई धन्यवाद दिँदै उहाँले सहयोगी मनहरूको साथले आफूले नयाँ जीवन पाएको अनुभूति गरेको समेत बताउनुभयो । आर्थिक अभावका कारण नियमित डाइलोसिस र थप उपचारमा समस्या भएकाले सहयोगका लागि उहाँले सबैसँग याचना समेत गर्नुभएको छ ।

Advertisment