विविधताको सम्बोधन गर्न संघीयतामा गएका हौं ः मन्त्री अजित

पोखरा, २३ साउन
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान ‘अजित’ले नेपालमा भएको जातीय एवं सांस्कृतिक विविधताको सम्बोधन गर्न संघीयतामा गएको बताउनुभएको छ ।
२५ औं विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, अमरसिंह नमुना मावि एकाइ समिति, पोखराको आयोजनामा आज आयोजित बृहत सांस्कृतिक नृत्य प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अजितले विविधता देशको सम्पत्ति भएको उल्लेख गर्नुभयो । देशमा विद्यमान सांस्कृतिक सम्पदाको संरक्षण गर्न आवश्यक रहेको भन्दै मन्त्री अजितले विविधताको सम्मान गरेर मात्रै देशको भलो हुने भनाइ राख्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), गण्डकी प्रदेश संसदीय दलकी सचेतक गायत्री गुरुङ ‘कुसुम’ले आदिवासी जनजाति समुदायले प्राप्त अधिकारको सदुपयोग गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष एमबी ‘आस्था’ मगर, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, जिल्ला समन्वय समिति, कास्कीका अध्यक्ष सुजनकुमार लामालगायतले आदिवासी जनजाति समुदायले आंशिक अधिकार पाएपनि अझै पूरा अधिकार पाइनसकेको भन्दै संघर्ष गर्नुपर्नेमा जोड दिएका थिए ।

Advertisment