मिलन पोखरा ग्रुपको अध्यक्षमा काशी गुरुङ

पोखरा, १८ साउन
सामूहिक लगानीमा स्थापित कम्पनी मिलन पोखरा ग्रुप मल्टिपर्पोज प्रालिको अध्यक्षमा काशी गुरुङ निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न कम्पनीको प्रथम वार्षिक साधारणसभाबाट गुरुङ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
साधारणसभाबाट निर्वाचित नौ सदस्यीय सञ्चालक समितिका सञ्चालकहरूमा दुर्गाबहादुर गुरुङ (मिलन), मनलाल गुरुङ (मणि), रुपा गुरुङ, मेलिना गुरुङ, गुनी आले, किरण गुरुङ, संगीता आले र रूद्रबहादुर श्रीस रहनुभएको छ । नवनिर्वाचित सञ्चालक समितिलाई क्होंलासोंथर गाउँपालिका, लमजुङकी गाउँ कार्यपालिका सदस्य गमी गुरुङ र कम्पनीकी निवर्तमान सल्लाहकार प्रमिला गुरुङले बधाई दिनुभएको थियो ।
साधारणसभाले अध्यक्ष काशी गुरुङद्वारा प्रस्तुत अध्यक्षको प्रतिवेदन र प्रबन्धक मेलिना गुरुङद्वारा प्रस्तुत लेखा प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । “स्वस्थ उत्पादन, हाम्रो अभियान” भन्ने नाराका साथ कम्पनीले बहुउद्देश्यीय उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारीको सिर्जना गर्ने र स्वस्थ एवं अर्गानिक खाद्य उत्पादन गरी स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई खुवाउने कम्पनीको लक्ष्य रहेको अध्यक्ष गुरुङको भनाइ छ ।
कम्पनीले विशेषगरी, मकैजन्य अर्गानिक खाद्य उत्पादनलाई जोड दिइ पोखरेली खाद्य ब्राण्डका रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ । किसानहरूलाई मकै उत्पादन गर्न आग्रह गर्दै अध्यक्ष गुरुङले मिलन पोखरा ग्रुप कम्पनीद्वारा उत्पादित खाद्य वस्तुका बारेमा आवश्यक सल्लाह र सुझाव दिन समेत आग्रह गर्नुभएको छ । हाल कम्पनीले मकैजन्य उत्पादनसँगै अन्य खाद्य वस्तु उत्पादनका साथै, प्याकेजिङ गरी बिक्री वितरण गर्दै आइरहेको छ ।

Advertisment