निर्मला हत्या प्रकरणमा नयाँ सूत्रबाट अनुसन्धान ः गृहमन्त्री बादल

काठमाडौं, १३ साउन
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याकाण्डमा प्रहरीले नयाँ सूत्रबाट अनुसन्धान गरिरहेको जानकारी दिनुभएको छ ।
सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित विधायन तथा सरकारी आश्वासन समितिको बैठकमा गृहमन्त्री बादलले पुराना सबै अनुसन्धानका विधि असफल भएपछि खाएपछि अहिले नयाँ सूत्र लगाएर भेटिएका नयाँ तथ्यहरू केलाउँदै अनुसन्धान चलिरहेको जानकारी दिनुभएको हो । गृहमन्त्री बादलले २०७५ साउन १० गते गाउँमै बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा प्रहरीको हिरासतमा २५ बसेर छुटेका दिलीपसिंह विष्टको नाम फेरि आउन थालेको बताउनुभयो । मन्त्री बादलले कोही पनि हाइप्रोफाइललाई जोगाउन निर्मला प्रकरण नमोडिएको दाबी गर्नुभयो । गृहमन्त्री बादलले यो प्रकरणमा सयौँ व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याइएको भन्दै अहिलेसम्म भएका अनुसन्धानको प्रतिवेदन समितिलाई उपलव्ध गराउनुभयो । उहाँले बाढीपिडित र अन्य विपतमा परेकालाई गृहमार्फत राहत र क्षतिपूर्ति वितरण हुने गरिएको र त्यसका लागि सिफारिस आवश्यक रहेको जानकारी दिनुभयो ।
मन्त्री बादलले सुरक्षानिकायको कामकारबाहीका बारेमा सरकारले निगरानी गरिरहेको भन्दै प्रहरीको व्यवसायिकता प्रदर्शन र कार्यसम्पादनका बारेमा पनि निगरानी भइरहेको बताउनुभयो । बैठकमा समिति सदस्यहरूले मुलुकभरको सुरक्षा अवस्थाका बारेमा जानकारी माग गर्दै केही घटनाका अपराधीहरू पक्राउ पर्न नसक्नुका बारेमा जिज्ञासा राखेका थिए । जवाफलमा गृहमन्त्री बादलले मुलुकभरको सुरक्षा व्यवस्था चुस्तदुरुस्त रहेको भन्दै केही घटनामा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

Advertisment