कास्की जिल्लास्तरीय इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन भदौ १० गतेदेखि

पोखरा, १२ साउन
कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा आगामी भदौ १० गतेदेखि १८ औं संस्करणको कास्की जिल्लास्तरीय इन्द्रबहादुर गुरुङ स्मृति अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
संघले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष डम्मरसिंह गुरुङले प्रतियोगिता भदौ १४ गतेसम्म सञ्चालन हुने जानकारी दिनुभयो । प्रतियोगिता अन्तर्गत आधारभूत तह (कक्षा आठसम्म) ब्वाइज सिंगल र गल्र्स सिंगल, माध्यमिक तह (कक्षा १० सम्म) ब्वाइज सिंगल, गल्र्स सिंगल, ब्वाइज डबल र गल्र्स डबल, उच्च माध्यमिक तह (कक्षा १२ सम्म) ब्वाइज सिंगल, गल्र्स सिंगल, ब्वाइज डबल र गल्र्स डबल अनुसार प्रतिस्पर्धा गराइने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिता सम्पन्न गर्न विभिन्न १२ वटा उपसमिति गठन गरिएको समेत प्रतियोगिता संयोजक बबिन बाग्दासले बताउनुभयो । जस अन्तर्गत प्राविधिक तथा निर्णायक उपसमिति संयोजकमा सुरेशबहादुर श्रेष्ठ, पुरस्कार व्यवस्थापन उपसमितिमा शम्भु श्रेष्ठ, आर्थिक उपसमितिमा इन्द्रबहादुर गुरुङ, साउण्ड तथा रंगरोगन व्यवस्थापन उपसमितिमा मीनबहादुर गुरुङ, खेल व्यवस्थापन उपसमितिमा नरबहादुर गुरुङ, मञ्च सजावट उपसमितिमा होम गुरुङ, खाना, खाजा तथा पानी व्यवस्थापन उपसमितिमा बुद्धिमान गुरुङ, अतिथि सत्कार उपसमितिमा खेम गुरुङ, ब्यानर तथा प्लेकार्ड व्यवस्थापन उपसमितिमा रूद्रबहादुर घले, प्राथमिक उपचार उपसमितिमा विष्णुप्रसाद चापागाईं, कार्यालय व्यवस्थापन तथा प्रचारप्रसार उपसमितिमा दुर्गाप्रसाद जोजिजू संयोजक रहनुभएको छ भने १५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।
प्रतियोगितामा भाग लिनका लागि कास्की जिल्लाभरिका सामुदायिक, प्याब्सन, एन प्याब्सन र युनिप्समा आबद्ध विद्यालयहरूलाई संघले आह्वान गरेको छ । संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यले संघको पहलमा निर्माण भइरहेको चार वटा कोर्ट भएको अन्तर्राष्ट्रियस्तरको सुविधायुक्त ब्याडमिन्टन कभर्डहल निर्माणपश्चात पोखरा ब्याडमिन्टन एकेडेमी सञ्चालन गर्ने समेत सचिव दुर्गाप्रसाद जोजिजूले जानकारी दिनुभयो । ४ लाख ९० हजार रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताका बिजेताहरूलाई आकर्षक पुरस्कारसहित स्पोर्टस् साइकल प्रोत्साहनस्वरुप प्रदान गरिने गुरुङले बताउनुभयो ।

Advertisment