समाजवादी क्रान्तिको मुख्य बाधक दलाल पुँजीवाद ः मुख्यमन्त्री गुरुङ

पोखरा, ७ साउन
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजवादी क्रान्तिको मुख्य बाधक दलाल पुँजीवाद भएको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जिल्ला कमिटी, कास्कीले मंगलबार पोखरामा आयोजना गरेको “नेपालको कम्युनिष्ट आन्दोलन र पुष्पलाल” विषयक प्रवचन कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले नयाँ जनवादी क्रान्तिको मुख्य कार्यभार पूरा भइसकेको उल्लेख गर्नुभयो ।
नेकपाका स्थायी समिति सदस्य एवं गण्डकी प्रदेशका इञ्चार्ज समेत रहेका मुख्यमन्त्री गुरुङले मुख्य रुपमा सामन्तवादको अन्त्य भएपनि त्यसका अवशेषहरू अझै बाँकी रहेको भनाइ राख्नुभयो । जनवादी क्रान्ति पूरा भएसँगै मुख्य शत्रु पनि बदलिएको जिकिर गर्दै उहाँले नोकरशाही दलाल पुँजीपति वर्ग नै समाजवादी क्रान्तिका लागि मुख्य शत्रु भएको बताउनुभयो ।
पार्टीको कार्यदिशामा सन्दर्भमा बोल्दै मुख्यमन्त्री गुरुङले बहुदलीय शब्द झिकेपनि जनताको जनवादको सार बहुदलीय प्रतिस्पर्धामै आधारित रहेको तर्क गर्नुभयो । पुष्पलालको विचारले नै नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने कुरामा सफलता मिलेको उल्लेख गर्दै उहाँले नेकपा नै पुष्पलालको सच्चा अनुयायी पार्टी भएको धारणा व्यक्त गर्नुभयो ।
नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सह–इञ्चार्ज खगराज अधिकारीले कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको मान्यताविपरीत नेकपामा गुटगत प्रतिस्पर्धा बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । कम्युनिष्ट पार्टीमा अहिले पुँजीवादी अराजकतावादले जरा गाडेको भन्दै नेता अधिकारीले पार्टी अनुशासन नमान्ने व्यक्ति कम्युनिष्ट हुनै नसक्ने भनाइ राख्नुभयो । अहिलेको नेतृत्वले ठीक ढंगले पार्टी एकता गरेको भन्दै उहाँले सन्तुलित कार्यविभाजन गरेको भन्दै पार्टी नेतृत्वलाई धन्यवाद समेत दिनुभयो ।
नेकपाका केन्द्रीय सदस्य एवं कास्की जिल्ला इञ्चार्ज राजकाजी गुरुङ ‘करण’ले पुष्पलालले देखेको एउटै कम्युनिष्ट पार्टी बनाउने सपना पूरा भएको बताउनुभयो । त्यस्तै, नेकपाका केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिकाका इञ्चार्ज मानबहादुर जिसीले जनपक्षीय काम गर्न सके मात्र पनि पुष्पलालको स्मृति दिवस मनाउनुको सार्थकता हुने उल्लेख गर्नुभयो । नेकपाकी अर्की केन्द्रीय सदस्य एवं कास्की जिल्ला सह–इञ्चार्ज सीता गिरी ओलीले पुष्पलालले अघि सारेको विचारलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपाका कास्की जिल्ला अध्यक्ष कृष्ण थापा र सचिव बखानसिंह गुरुङ ‘आभास’ले पनि पुष्पलालको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।

Advertisment