जनयुद्ध लोकतान्त्रिक गणतन्त्रका लागि थिएन ः गौरव

पोखरा, ५ साउन
नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेल ‘गौरव’ले दश वर्षे जनयुद्ध लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि नलडिएको बताउनुभएको छ ।
क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारी ‘श्याम’को निधन भएको १५ दिनका अवसरमा पोखरामा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै नेता गौरवले जनगणतन्त्र ल्याउनका लागि जनयुद्ध लडिएको प्रष्ट पार्नुभयो । जनयुद्धको नेतृत्वले धोका दिएकाले क्रान्ति अलपत्र परेको भन्दै उहाँले हिजो आफूहरूले आमूल परिवर्तनका लागि लडेपनि त्यसो हुन नसकेको उल्लेख गर्नुभयो ।
नेपालमा अझै पनि राजनैतिक परिवर्तनले पूर्णता पाउन नसकेको भन्दै क्रान्तिकारी माओवादीसम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो), नेपालका अध्यक्ष समेत रहनुभएका नेता गौरवले क्रान्तिको लक्ष्यविपरीत नेतृत्वले विश्वासघात गरेको आरोप लगाउनुभयो । स्व. नेता श्याम निष्ठा र आदर्शका प्रतीक भएको उहाँको भनाइ थियो । “नेपाली राजनीतिमा निष्ठा र मूल्य, मान्यता स्खलित भएको बेलामा उहाँ एउटा आदर्श पात्र हुनुहुन्थ्यो”, नेता गौरवले भन्नुभयो, “आदर्शको खडेरी परेका बेला उहाँको निधनले नेपाली राजनीतिलाई नै अपूरणीय क्षति पु¥याएको छ ।”
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान “अजित”ले स्वर्गीय नेता श्याम अन्तिम अवस्थासम्म पनि उच्च मनोबलका साथ रहेको उल्लेख गर्नुभयो । नेता श्यामको जीवनबाट अहिलेका नेता, कार्यकर्ताले धेरै कुरा सिक्नुपर्ने भन्दै मन्त्री अजितले उहाँले आदर्श जीवन बिताउन सफल भएको बताउनुभयो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलकपाणि तिवारीले पारिवारिक सहयोगले नै स्वर्गीय नेता श्याम निष्ठाका प्रतीक बन्न सम्भव भएको भनाइ राख्नुभयो । नेपालको कम्युनिष्ट आन्दोलन सत्ताको सुख भोगमा रमाउने र सत्ताबाहिर रहने गरी दुई कित्तामा बाँडिएको नेता तिवारीले बताउनुभयो । त्याग र समर्पण भन्ने कुरा नेपालको राजनीति का लागि स्खलित भएर गएको भन्दै उहाँले यस्तो बेलामा नेता श्यामको निधनले निकै दुःखित तुल्याएको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा, गण्डकी प्रदेशका अध्यक्ष शंकर बराल, समाजवादी पार्टी नेपालका नेता टिकाराम पौडेल “विश्वास”, नेकपा (माले)का केन्द्रीय सदस्य टेकनाथ भण्डारी, वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बराल, सांस्कृतिक रुपान्तरण अभियान, नेपालका अध्यक्ष पूर्ण गिरीलगायतले स्वर्गीय नेता श्याम एक त्यागी र निष्ठावान नेता भएको बताएका थिए ।
नेकपा (क्रान्तिकारी माओवादी), गण्डकी प्रदेश कमिटीका सचिव चन्द्रहरि सुवेदी “अटल”को अध्यक्षतामा कार्यक्रममा नेता केशबहादुर परियारले पनि बोल्नुभएको थियो ।

Advertisment