‘क्यु प्ह्रो छे’ र ‘रिंजे नाँसा’लाई राष्ट्रिय चलचित्र पुरस्कार

पोखरा, ४ साउन
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्डद्वारा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार–२०७३ र २०७५’ मा आदिवासी जनजाति चलचित्रतर्फको सर्वोत्कृष्ट चलचित्र पुरस्कार गुरुङ चलचित्र ‘क्यु प्ह्रो छे’ (भेडी गोठाले) र ‘रिंजे नाँसा’ (रिजे गाउँ)ले प्राप्त गरेको छ ।
राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा अभिनेता एवं अभिनेत्रीहरू गौरी मल्ल, सरोज खनाल, शनि रौनियार, दिलीप रायमाझी, रमेश उप्रेती, जयकिशन बस्नेत, रेजिना उप्रेतीलगायतको विशेष प्रस्तुती रहेको थियो ।
३ बर्ष क्रमशः २०७३, २०७४ र २०७५ सालको अवार्ड एकैपटक वितरण गरिएको कार्यक्रममा यस वर्षको दीर्घजीवि सम्मान निर्देशक तुलसी घिमिरेलाई नगद ३ लाख ५१ हजार रुपैयाँसहित ताम्रपत्र, उत्कृष्ट चलचित्र ‘गोपी’, उत्कृष्ट नायक विपिन कार्की (प्रसाद), उत्कृष्ट नायिका स्वस्तिमा खड्का (बुलबुल) ले प्राप्त गरे ।
गुरुङ चलचित्रका निर्देशक सुवास गुरुङद्वारा निर्देशित ‘क्यु प्ह्रो छे’ (भेडी गोठाले)ले सर्वोत्कृष्ट आदिवासी जनजाति चलचित्र अवार्ड–२०७३ र प्रितम गुरुङद्वारा निर्देशित गुरुङ चलचित्र ‘रिंजे नाँसा’ले सर्वोत्कृष्ट आदिवासी जनजाति चलचित्र अवार्ड २०७५ जित्न सफल भएको हो। चलचित्र ‘क्यु प्ह्रो छे’ले यसअघि पनि संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा सम्पन्न आदिवासी जनजाति चलचित्र महोत्सवमा उत्कृष्ट निर्देशक, नायकलगायतका अवार्ड जित्न सफल भएको थियो । मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.को ब्यानरमा निर्मित पहिलो चलचित्र ‘क्यु प्ह्रो छे’ दुर्गा गुरुङ ‘मिलन’ले निर्माण गर्नुभएको हो ।

Advertisment