तराना म्यूजिक सेन्टरमा गुरु पूर्णिमा, प्रशिक्षार्थी गुरुङलाई सम्मान

पोखरा, ३१ असार
तराना म्यूजिक सेन्टरले गुरु पूर्णिमा विशेष सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार आयोजित कार्यक्रममा तराना म्यूजिकका प्रशिक्षार्थी सूर्य गुरुङलाई सम्मान समेत गरियो ।
कार्यक्रममा ८४ वर्षीय केशवराज कोइरालासहित दुई दर्जन संगीत प्रशिक्षार्थी एवं अन्य कलाकारले आ–आफ्ना सांगीतिक प्रस्तुती राखे । सो अवसरमा तराना म्यूजिक सेन्टरका अध्यक्ष एवं गायक उमेश राईसहित संगीत प्रशिक्षक अमर थापा, सम्मानित भएका प्रशिक्षार्थी सूर्य गुरुङ, विना थापा, दिपेश श्रेष्ठ, समीर रामदाम, गृष्मा राई, सोम बस्याल, शान्ति राई, कमला थापा, अस्मिता थापा, अनिमेष नेपालीले विभिन्न गीत गाए ।
त्यस्तै, सरिता राई, दिलु मगर, सुस्मिता बाँस्तोला, किरण शर्मा, रश्मी रसाइली, उर्मिला प्रिथी, प्रिती छन्त्याल, भूपिमाया तामाङ, अजित गुप्ता, स्मृति पुनले पनि आ–आफ्नो गायन प्रस्तुती राखेका थिए । त्यसैगरी, संगीता राई, स्मृति राई, एलिजा राईले पनि आफ्नो गायन प्रस्तुत गरे ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्रबहादुर श्रीसले शिक्षा दिने गुरुलाई सबैले आदर गर्ने बताउनुभयो । ज्ञान र सीप ग्रहण गर्नका लागि गुरुको अति महत्वपूर्ण स्थान रहेको भन्दै श्रीसले गुरु पूर्णिमा गुरुका रुपमा ज्ञानको पूजा गर्ने दिन भएको उल्लेख गर्नुभयो । पूर्वाञ्चल सेवा समाज, कास्कीका अध्यक्ष एवं तराना म्यूजिक सेन्टरका सल्लाहकार डीबी राईले अहिलेको समयमा गुरु र असल शिष्य पहिचान गर्नै गाह्रो हुँदै गएको बताउँदै गुरु र गुरु तत्वको विशेष श्रद्धा गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै, सो अवसरमा तराना म्यूजिककी पूर्व प्रशिक्षार्थी एवं सञ्चारकर्मी सजना बाँस्तोलाले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा तराना म्यूजिक सेन्टरका संस्थापक, गायक एवं संगीतकार स्व. श्रीमान थुलुङप्रति श्रद्धासुमन प्रकट गर्दै संगीत प्रशिक्षार्थीहरूले उहाँकी धर्मपत्नी विमला राई र तराना म्यूजिक सेन्टरका अध्यक्ष एवं गायक उमेश राईसँग आशीर्वाद ग्रहण गरेका थिए । कार्यक्रमको सञ्चालन भने सञ्चारकर्मी पूर्णिमा आलेले गर्नुभएको थियो ।

Advertisment