चार जिल्लाको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक पोखरामा

पोखरा, ३० असार
गण्डकी प्रदेश अन्तर्गतका चार जिल्लामा कार्यरत सुरक्षा निकायका प्रमुखहरूको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ ।
प्रदेश राजधानी पोखरामा सोमबार सम्पन्न बैठकमा कास्की, पर्वत, स्याङ्जा र तनहुँका चार वटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहित प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता रहेको थियो ।
बैठकमा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मोहनप्रसाद खनालले गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरूको पछिल्लो सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिनुभएको थियो । त्यस्तै, बैठकमा वर्षायाम सुरु भएसँगै बढेको बाढीपहिरोलगायतका सम्भावित प्राकृतिक प्रकोपबाट बच्न अपनाउनुपर्ने सतर्कता र तयारीका बारेमा छलफल भएको कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।

Advertisment