फोनिज गण्डकीमा एमबी ‘आस्था’ निर्विरोध, ‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार’ पत्रकार अमात्यलाई

पोखरा, ३० असार
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको आइतवार पोखरामा सम्पन्न प्रथम महाधिवेशनबाट कास्कीका एमबी ‘आस्था’ मगर अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
प्रदेश समितिका उपाध्यक्षमा दिल शिरीष (बागलुङ), महिला उपाध्यक्षमा कमला रानामगर (नवलपुर), महासचिवमा रूद्रबहादुर श्रीसमगर (कास्की), संगठन सचिवमा खिमा गुरुङ (कास्की), संस्थागत सचिवमा सुनिता थापामगर (तनहुँ) र कोषाध्यक्षमा सिर्जना रानामगर (तनहुँ) निर्विरोध निर्वाचित हुनुभयो ।
त्यस्तै, खुल्ला सदस्यहरूमा सुशान्त गाहामगर (कास्की), धनबहादुर गुरुङ ‘सुमन’ (कास्की), गणेश गुरुङ (म्याग्दी), तिलक गुरुङ (स्याङजा) चयन हुनुभयो । त्यसैगरी, महिला सदस्यहरूमा मुना थापामगर (नवलपुर), सूर्यकुमारी महतो (नवलपुर), सुमन थापामगर (कास्की) र संस्थागत सदस्यहरूमा मीना थापामगर (नेपाल मगर पत्रकार संघ), मनलाल गुरुङ ‘मणि’ (तमु सञ्चारकर्मी संघ) चयन हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ फोनिजका संघीय समिति अध्यक्ष डण्ड गुरुङले गराउनुभएको थियो भने प्रमुख निर्वाचन अधिकृत तिलकप्रसाद पुन पुर्जा, निर्वाचन मण्डल सदस्य दीपेन्द्र श्रेष्ठ, फोनिज उपाध्यक्ष देविका घर्तीमगर, महासचिव मनोज घर्तीमगर, संगठन सचिव तथा केन्द्रीय प्रतिनिधि मिलन लिम्बू, प्रदेश इञ्चार्ज हुमबहादुर गुरुङलगायतले बधाई ज्ञापन गर्नुभएको थियो भने नवनिर्वाचित अध्यक्ष एमबी ‘आस्था’ मगरले फोनिजलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
यसअघि, फोनिजको प्रदेश महाधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारहरूले सामाजिक न्यायसहितको समृद्धिका लागि कलम चलाउनुपर्नेमा जोड दिनुभयो । विभेदले द्वन्द्व निम्त्याउने भन्दै मुख्यमन्त्री गुरुङले समावेशी लोकतन्त्रमार्फत् सामाजिक द्वन्द्वको समाधान गर्दै आर्थिक समृद्धितर्फ देशलाई अघि बढाउन खोजिएको भनाइ राख्नुभयो ।
आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान ‘अजित’ले गण्डकी प्रदेशले सञ्चार नीति पारित गरिसकेको जानकारी गराउँदै फोनिजलगायतका पत्रकारसम्बद्ध सरोकारवालाहरूसँग छलफल गरेर मात्रै प्रदेश सञ्चार ऐन ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । देशको विविधतालाई समेटेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री अजितले सबैको भावना प्रतिनिधित्व हुने गरी ऐन, कानून निर्माण गरिने उल्लेख गर्नुभयो ।
सो अवसरमा फोनिज कास्कीले हरेक वर्ष तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको वैवाहिक वर्षगाँठका अवसरमा प्रदान गर्दै आएको ‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार–२०७६’बाट अग्रज पत्रकार उदयबहादुर अमात्यलाई सम्मान गरिएको थियो । पुरस्कारको राशि १५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । कार्यक्रममा फोनिजका अध्यक्ष डण्ड गुरुङ, जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका उपाध्यक्ष शान्ति गुरुङ, तमु धिं नेपालकी अध्यक्ष कर्म तमु, पुरस्कृत व्यक्तित्व अग्रज पत्रकार उदयबहादुर अमात्यले बोल्नुभएको थियो । पुरस्कारको प्रतिभा छनौट समितिका संयोजक नेपाल बार एशोसिएसनका उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापामगरले प्रतिभा परिचय गराउनुभएको थियो ।
फोनिज गण्डकी प्रदेश तदर्थ समितिका संयोजक एवं प्रदेश इञ्चार्ज हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन फोनिज, कास्कीका सचिव भूपाल गुरुङ तथा फोनिज, तनहुँका अध्यक्ष प्रताप रानामगरले स्वागत गर्नुभएको थियो ।

Advertisment