मगर संघ माटेपानी एकाइको रजत जयन्तीमा तनहुँको कौरा नाच

पोखरा, २५ असार
नेपाल मगर संघ माटेपानी इकाई समितिको २५ औं स्थापना दिवस तथा रजत जयन्ती भव्य रुपमा मनाएको छ ।
बुधबार आयोजित कार्यक्रममा नेपाल मगर संघका पूर्वअध्यक्ष एवं वर्तमान संरक्षक तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्वउपाध्यक्ष झकबहादुर थापामगरले केक काटेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै उहाँले मगर जातिले आफ्नो जातीय संस्कृति संरक्षण गर्दै आइरहेकोमा गर्व गर्दै अब मानसिक रुपमा परिवर्तन हुन जरुरी रहेको बताउनुभयो । युवाहरुलाई लक्षित गर्दै उहाँले भन्नुभयो “मगरहरु यो देशको हरेक निकायमा पुग्नको लागि प्रतिष्पर्धा गर्न सक्ने क्षमताको विकास गर्नु पर्दछ तब मात्र राज्यको विभिन्न तह र निकायमा मगरहरुको पहुँच पुग्न सक्छ, यो जिम्मेवारी भनेको अबका युवाहरुको हो ।”
कार्यक्रमका विशेष अतिथि नेपाल मगर संघका केन्द्रीय सदस्य एवं कास्की जिल्ला अध्यक्ष पूर्णबहादुर रानामगरले माटेपानी इकाई मगर संघको सबैभन्दा जेठो इकाई समिति भएको र नेपाल मगर संघ कास्कीमा पनि ऐतिहासिक र उल्लेखनिय भूमिका खेलेकोमा आफूलाई गर्ब लागेको बताउनुभयो । यसैगरी, संघका संस्थापक उपाध्यक्ष भक्तबहादुर थापाले मगर जाति भाषा, संस्कार संस्कृतिमा धनी जाति भएकोले यसको संरक्षण गर्नु अत्यन्त जरुरी रहेको भन्दै बाँकी दिनमा आफूले सकेको योगदान दिने बचन व्यक्त गर्नुभयो ।
संघका पूर्वअध्यक्ष एवं नेपाल मगर संघ जिल्ला कार्य समितिका प्रचारप्रसार विभाग प्रमुख डिलबहादुर श्रीसमगरले संगठनले हालसम्म गरेका महत्वपूर्ण कार्य गतिविधिहरु प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीकी कोषाध्यक्ष बुद्धिमाया थापामगर, नेपाल मगर संघ माटेपानी इकाई समितिका निवर्तमान अध्यक्ष पूर्व प्रहरी नायब निरीक्षक चन्द्रप्रकाश थापामगर, माछापुच्छे« टोल विकास संस्थाकी अध्यक्ष निर्मला श्रेष्ठ, नेपाल मगर संघ चाउथे इकाई समितिका अध्यक्ष सुनमाया आलेमगरलगायतले संघको रजत जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा हालसम्म संगठनमा महत्वपूर्ण योगदान दिनुभएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । यसैगरी, लामो समयसम्म संगठनमा रहेर योगदान दिएको भन्दै देवीकुमारी थापामगरलाई समाजसेवी एवं संघका सल्लाहकार प्रेमबहादुर रानामगरले आफ्नो स्व. बाबाआमाको सम्झनामा स्थापना गरिएको नन्द–गोविन्द अध्यय कोषको तर्फबाट कदर पत्र र खादाले सम्मान गरिएको थियो । रजत जयन्ती समारोहलाई तनहुँको दमौलीको कौरा नृत्यले थप रौनक बनाएको थियो ।
नेपाल मगर संघ माटेपानी इकाई समितिका अध्यक्ष दुर्गाबहादुर थापामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव ई. बमबहादुर श्रीसमगरले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष पूर्णबहादुर थापामगरले व्यक्त गर्नुभएको थियो ।
नेपाल मगर संघ माटेपानी इकाई समितिमा विभिन्न जिल्लाबाट आएर पोखरा महानगरपालिका वडा नं. ११, १२, १३ मा बसोबास गर्ने र १० र १४ का केही घरहरू समेत गरी १२० घरधुरी आबद्ध छन् भने ६२६ जनसंख्या रहेका छन् ।

Advertisment