गायक कुलेन्द्र र वडाध्यक्षलाई पर्वत मञ्च हङकङको स्वागत तथा सम्मान

हङकङ, २० असार
चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र विक र पर्वतको फलेबास नगरपालिका वडा नं. ११ का वडाध्यक्ष शेरबहादुर विकलाई पर्वत मञ्च, हङकङले स्वागत एवं सम्मान गरेको छ ।
साम्पाङ साँझमा सहभागी हुन हङकङ पुगेका गायक कुलेन्द्र र वडाध्यक्ष शेरबहादुरलाई मञ्चका सल्लाहकार एवं नेपाली जनसम्पर्क समिति, हङकङका सभापति मीनबहादुर गुरुङ र पर्वत मञ्च, हङकङका अध्यक्ष दुर्गा गुरुङ “मिलन”ले संयुक्त रुपमा स्वागतसहित सम्मान गर्नुभयो । कार्यक्रममा मञ्चका सल्लाहकार एवं चेम्बर अफ कमर्स, हङकङका कोषाध्यक्ष धरनकुमार गुरुङ, सल्लाहकार तीर्थ गुरुङ, म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङका सल्लाहकार बोमबहादुर विकलगायतको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै गायक कुलेन्द्रले पर्वत जिल्लाबासीहरू विदेशमा पनि सक्रिय भएको देख्दा खुशी लागेको बताए । कुलेन्द्रले आफू साम्पाङ साँझमा हङकङ आएको बेला मञ्चले सम्झेकोमा धन्यवाद समेत दिए । पर्वत मञ्च, हङकङले बोलाएको खण्डमा आफू पुनः हङकङ आउने बताउँदै गायक कुलेन्द्रले हङकङमा पाएको माया र साथ सदा स्मरणीय रहने उल्लेख गरे । वडाध्यक्ष शेरबहादुर विकले नेपालमा नयाँ संविधान जारी भएपछि विकासको लहर आएको बताउँदै आफ्नो जन्मथलोलाई नबिर्सन आग्रह गर्नुभयो । जनप्रतिनिधिहरूलाई साथसँगै खबरदारी पनि गर्न आग्रह गर्दै उहाँले समृद्धिको यात्रामा प्रवासी नेपालीहरूले पनि साथ दिनुपर्ने भनाइ राख्नुभयो ।
पर्वत मञ्च, हङकङका अध्यक्ष दुर्गा गुरुङ “मिलन”को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष एवं कार्यक्रम संयोजक भीमबहादुर गुरुङ र पूर्वअध्यक्ष एवं वर्तमान सल्लाहकार बिसन गुरुङले स्वागत गर्नुभएको थियो । मञ्चमा पर्वत जिल्लाका विभिन्न गाउँका एकाइ समाजहरू आबद्ध रहेका छन् । मञ्चले आँखा शिविर, पर्वत साँझलगायतका कार्यक्रम गर्दै आएको छ भने सामाजिक कार्यमा समेत क्रियाशील रहँदै आएको छ ।

Advertisment