आदिवासी जनजातिलाई जलवायु परिवर्तन र प्राकृतिक स्रोत व्यवस्थापनबारे प्रशिक्षण

पोखरा, २० असार
नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीको आयोजनामा आदिवासी जनजाति, जलवायु परिवर्तन र प्राकृतिक स्रोत व्यवस्थापन बारेमा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
अन्नपूर्ण गाउँपालिका, कास्कीको सहयोगमा आयोजित कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले आफ्नो भाषा, संस्कृति र भेषभूषा जोगाउन आदिवासी जनजाति समुदायले विशेष चासो देखाउनुपर्ने उल्लेख गर्नुभयो । बेलायत, हङकङलगायत विदेश पलायन र सहर पलायन हुनाले धेरै गाउँहरू रित्तिँदै गएकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष कुँवरले आफ्ना भाषा, लिपि, संस्कृतिबारे भावी सन्ततिले ग्रहण गर्न पाउनुपर्ने भनाइ राख्नुभयो ।
मातृभाषाको संरक्षणका लागि शैक्षिक पाठ्यक्रमको विकास गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष कुँवरले गाउँपालिकाभित्रका विद्यालयमा मातृभाषामा शिक्षा दिन खोजिएपनि पाठ्यक्रम अभावले त्यो पूरा गर्न नसकेको बताउनुभयो । परम्परागत सीपको आधुनिकीकरण र व्यवसायिकीकरण गर्दै उत्पादनलाई जोड दिनुपर्ने बताउँदै उहाँले आदिवासी ज्ञानमा आधारित कैयन् परम्परागत पेशा लोप हुन थालेकोमा चिन्ता व्यक्त गर्नुभयो । एक अर्को प्रसंगमा उहाँले जातीय सद्भाव कायम गर्दै आफ्नो अधिकार खोज्न सकिने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी आदिवासी जनजाति समुदाय शिकार हुनुपरेको उल्लेख गर्दै यसको न्यूनिकरणका लागि राज्य पक्ष र सरोकारावाला पक्ष सचेत एवं सजग बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो । आदिवासी जनजाति समुदायको आवाज अझै पनि राज्य पक्षबाट नसुनिएको बताउँदै उहाँले आवाज बुलन्द गर्न सके मात्र राज्यले आदिवासी जनजातिको आवाज सुन्न सक्ने भनाइ राख्नुभयो ।
लक्षित समूहको बजेट अन्तर्गत आदिवासी जनजाति समुदायका लागि छुट्याइएको बजेटको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उपाध्यक्ष गुरुङले त्यसको प्रभावकारिताबारे मूल्याङ्कन हुनुपर्ने बताउनुभयो । आदिवासी जनजाति समुदायले संगठित भएर आफ्ना कुरा राज्यसमक्ष राख्नुपर्ने बताउँदै उहाँले आफ्ना कुरा राज्यसमक्ष दरिलोसँग राख्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष एवं तमुवान–मगरात प्रदेश इञ्चार्ज गणेशलाल थकालीले प्राकृतिक स्रोतसाधनमाथि स्थानीय आदिवासी समुदायको अग्राधिकार रहने उल्लेख गर्दै अहिले महासंघ लोक सेवा आयोगको असमावेशी विज्ञापनका विरुद्ध आन्दोलनरत रहेको बताउनुभयो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्वउपाध्यक्ष झकबहादुर थापामगरले जलवायु परिवर्तनको असरबारे राज्यपक्ष र जनता दुवै सचेत हुनुनर्पे आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का प्रदेश इञ्चार्ज दलबहादुर गुरुङ, भुजेल समाज सेवा समितिका केन्द्रीय महासचिव पानबहादुर घर्ती, पूर्वाञ्चल सेवा समाज, पोखराका अध्यक्ष डीबी राई, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, गण्डकी प्रदेशकी अध्यक्ष दिलमाया गुरुङ, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, कास्कीका अध्यक्ष सुजनकुमार लामा, नेपाल मगर संघ, कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरलगायतले जलवायु परिवर्तनको असर र आदिवासी जनजाति समुदायको सरोकारका बारेमा आ–आफ्नो भनाइ राखेका थिए ।
नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बमबहादुर छन्त्याल र उपाध्यक्ष सु. हरिमान थिङ तामाङले स्वागत गर्नुभएको थियो । सो अवसरमा प्रशिक्षक कुमार थापामगरले जलवायु परिर्वतन, आदिवासी जनजाति र प्राकृतिक स्रोत व्यवस्थापनबारे सहजीकरण गर्नुभएको थियो ।

Advertisment