कार दुर्घटनामा ज्यान गुमाएका वडा सचिव थापाको श्रद्धाञ्जलीसभा

दग्दी (स्याङ्जा), १४ असार
चितवनको नारायणगढमा कार दुर्घटनामा परी ज्यान गुमाएका स्याङ्जाको हरिनास गाउँपालिका वडा नं. ५ र ७ का वडा सचिव हुमबहादुर थापाको श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।
हरिनास गाउँपालिका वडा नं. ७ ले बिहीबार आयोजना गरेको श्रद्धाञ्जलीसभामा बोल्दै गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले हरिनास गाउँपालिकाले एक इमान्दार, कर्मठ र मेहेनती कर्मचारी गुमाएको बताउनुभयो । अस्थायी रुपमा वडा सचिवमा कार्यरत भएपनि लामो समयदेखि कार्यरत रहेको र थापाकी धर्मपत्नी अस्वस्थ भएको भन्दै अध्यक्ष मानन्धरले गाउँ कार्यपालिकाका तर्फबाट सञ्चयकोषबाट पाँच लाख रुपैयाँ स्व. थापाको परिवारलाई सहयोग गर्ने घोषणा गर्नुभयो । अध्यक्ष मानन्धरले स्व. थापाको शोकमा गाउँपालिका अन्तर्गतका सबै वडा कार्यालयमा असार १३ गते शुक्रबार बिदा दिने घोषणा समेत गर्नुभएको थियो ।
वडा नं. ७ का वडाध्यक्ष केशमाया थापाले थापाको अकल्पनीय निधनले वडाले एक महत्वपूर्ण सारथी गुमाएको भन्दै स्व. थापाको अभाव सधैं महसुस भइरहने बताउनुभयो । पूरानो परम्परालाई तोड्दै श्रीमती र छोरीले दाहसंस्कार र काजकिरिया गरेकोमा प्रशंसा गर्दै संस्कारहरू समयानुकूल परिमार्जन गर्दै जानुपर्ने आवश्यकता औंल्याउनुभयो ।


को हुन् ? थापा
२०२८ साल वैशाख १५ गते हरिनास गाउँपालिका वडा नं. ७, क्याक्मीमा जन्मिनुभएका उहाँ स्व. जंगबहादुर थापाका एक मात्र सुपुत्र हुनुहुन्थ्यो । पोखरीभञ्ज्याङ आधारभूत विद्यालयबाट प्रारम्भिक शिक्षा लिनुभएका उहाँले शंकर मावि हुँदै पिताम्बर माविबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो । पछि नौ वर्ष वैदेशिक रोजगारीमा बिताएका उहाँले नेपाल फर्केपछि साबिक क्याक्मी गाविसमा २०५७ सालदेखि सहायक सचिवका रुपमा काम गर्नुभयो । देश संघीयतामा गएपछि हरिनास गाउँपालिका वडा नं. ५ र ७ को अस्थायी वडा सचिवका रुपमा कार्यरत हुनुहुन्थ्यो । स्व. थापाका एक श्रीमती, दुई छोरी मञ्जु र मेनुका रहेका छन् ।

स्व. थापाको किरिया बसेका कान्छी छोरी मेनुका र श्रीमती ।

Advertisment