विश्व संगीत दिवसमा तराना म्यूजिकले श्रीमानलाई सम्झियो

पोखरा, ६ असार
विश्व संगीत दिवसका अवसरमा तराना म्यूजिक सेन्टर, पोखराले आफ्नो साप्ताहिक सांगीतिक कार्यक्रमको आयोजना ग¥यो । तराना म्यूजिकका संस्थापक गायक एवं संगीतकार स्व. श्रीमान थुलुङप्रति समर्पित शुक्रबारको सो कार्यक्रममा कलाकारहरूले विभिन्न सांगीतिक प्रस्तुती राखे ।
गायक एवं संगीतकार थुलुङको सवारी दुर्घटनामा परी निधन भएपछि बन्द भएको साप्ताहिक सांगीतिक कार्यक्रमलाई शुक्रबारदेखि पुनः सुरु गरिएको तराना म्यूजिकका सञ्चालक गायक उमेश राईले जानकारी दिए । यसअघि, पनि तराना म्यूजिक सेन्टरमा आफ्ना संगीत प्रशिक्षार्थीका लागि साप्ताहिक सांगीतिक कार्यक्रम हुँदै आएको राईले बताए ।
शुक्रबार आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोलाइएका नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्र श्रीसमगरले स्व. थुलुङका बारेमा चर्चा गर्नुभयो । थुलुङको अल्पायुमै निधनले संगीत क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउँदै श्रीसले निधनको पीडा भएपनि अब शोकलाई शक्तिमा बदलेर उहाँका सपना पूरा गर्नतिर लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
किरात सेवा समाज, कास्कीका अध्यक्ष लोकेन्द्र चाम्लिङ राईले स्व. थुलुङको स्मृतिमा अक्षयकोष स्थापना गर्न लागिएको जानकारी दिनुभयो । अक्षयकोष स्थापना गरेर संगीत क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई स्व. थुलुङका नामबाट सम्मान गरिने बताउँदै राईले थुलुङको भौतिक शरीर नरहेपनि सांगीतिक योगदान सदा स्मरणीय रहने बताउनुभयो ।
स्व. थुलुङका बहिनी ज्वाइँ समेत रहेका पूर्वाञ्चल सेवा समाज, पोखराका अध्यक्ष डीबी राईले थुलुङको स्मृतिमा स्थापना गर्न लागिएको अक्षयकोषका लागि आफूले सक्दो भूमिका खेल्ने बताउँदै परिवार र आफन्तका तर्फबाट समेत अक्षयकोषका लागि साथ रहने उल्लेख गर्नुभयो । स्व. थुलुङका ठूलो दाइ डीके राईले अल्पायुमै भएको निधनका कारण परिवार अझै पनि भावविÞवल रहेको बताउनुभयो । रेडियो सिटी पोखराका स्टेशन म्यानेजर रामचन्द्र घिमिरेले गायक एवं संगीतकार थुलुङको सांगीतिक योगदानलाई सञ्चार क्षेत्रले सधैं सम्झिरहने बताउनुभयो ।
तराना म्यूजिक सेन्टरका सञ्चालक गायक उमेश राईले स्व. थुलुङको सम्झनामा स्वर सम्राट नारायण गोपालको गीत गाएसँगै सुरु भएको सांगीतिक कार्यक्रममा संगीत प्रशिक्षक अमर थापा, दिपेश श्रेष्ठ, दिलु थापा, विना थापा, कमला थापा र स्मृति राईले आ–आफ्नो सांगीतिक प्रस्तुती राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्र श्रीसमगर र स्व. थुलुङकी धर्मपत्नी विमला राई तथा कान्छी छोरी स्मृति राईले थुलुङको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

Advertisment