कास्कीको मोहरामा मगर भाषाको पढाइ सुरु

पोखरा, ३१ जेठ
कास्कीको माछापुच्छ«े गाउँपालिका–५, रिभान, मोहरास्थित माछापुच्छ«े आधारभूत विद्यालयमा मगर भाषाको पढाइ सुरु गरिएको छ ।
शुक्रबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका सांसद् रामजी बराल “जीवन”ले मगर भाषा अध्यापनको शुभारम्भ गर्नुभयो । कार्यक्रमको शुभारम्भ गर्दै सांसद् जीवनले मातृभाषामा शिक्षा पाउनु संविधानले प्रत्याभूत गरेको मौलिक हकभित्र पर्ने बताउनुभयो । संविधानले मातृभाषामा छुट्टै विद्यालय समेत सञ्चालन गर्ने अधिकार दिएको भन्दै सांसद् जीवनले मातृभाषाको पढाइ सुरु भएपछि मोहराका मगर समुदायका विद्यार्थी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
विविधता देशको सम्पत्ति भएको बताउँदै उहाँले विविधतालाई सम्बोधन गर्न विविध भाषा तथा संस्कृतिको संरक्षण आवश्यक रहेको बताउनुभयो । मगर जातिको मातृभाषाको पढाइ सुरु गरेकोमा विद्यालयलाई धन्यवाद व्यक्त गर्दै सांसद् जीवनले मगर भाषाको पढाइलाई निरन्तरता दिन आफूले सघाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।


माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले गत वर्षको गाउँसभाले पारित गरेको नीतिबमोजिम मोहरामा मगर भाषाको पढाइ सुरु गरिएको बताउनुभयो । गाउँसभाले गाउँपालिकाभित्र बोलिने नेपाली भाषाबाहेकका तीन मातृभाषा गुरुङ, मगर र तामाङ भाषाको पढाइ सुरु गर्ने साथै, त्यसका लागि सम्भावित विद्यालय छनौट गर्ने नीति पारित गरेको जानकारी दिनुभयो । गाउँसभाको निर्णय बमोजिम पहिलोपटक मगर भाषाको पढाइ शुभारम्भ गरिएको उहाँले बताउनुभयो । सो विद्यालयमा मगर भाषाको पढाइलाई निरन्तरता दिन गाउँपालिकाको तर्फबाट निरन्तर सहयोग गर्ने वाचा गर्दै अध्यक्ष गुरुङले लोप हुँदै गएको मातृभाषा संरक्षणमा सबैले चासो दिनुपर्ने बताउनुभयो ।
माछापुच्छ«े गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष जुमबहादुर गुरुङले सम्बन्धित मातृभाषी समुदायको बाहुल्यता हेरी गाउँसभाबाट मातृभाषाको पढाइ सुरु गर्ने निर्णय गरिएको बताउँदै पहिलो कार्यान्वयनका रुपमा मगर भाषाको पढाइ शुभारम्भ गरिएको जानकारी दिनुभयो । गौरीशंकर मनिलाल माविका प्रधानाध्यापक रक्षबहादुर क्षत्रीले मगर भाषाको पढाइले मगर विद्यार्थीहरूको सिकाइमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो ।


विद्यालयका प्रधानाध्यापक जीवनाथ अधिकारीले आफूले तनहुँको घिरिङमा पाँच वर्षसम्म अध्यापन गर्दा मगर भाषा सिकेको बताउँदै मगर बाहुल्य गाउँ भएको र विद्यालयमा पनि ९९ प्रतिशत मगर विद्यार्थी रहेकाले मगर भाषाको पढाइ सुरु गरिएको बताउनुभयो । मगर भाषाको पढाइले लोपोन्मुख मगर भाषाको संरक्षण गर्ने बताउँदै प्रधानाध्यापक अधिकारीले विद्यार्थीले मगर भाषा एवं संस्कृतिबारे जान्ने उल्लेख गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ, गण्डकी प्रदेश समितिका सदस्य रासबहादुर थापामगरले पनि बोल्नुभएको थियो । आधारभूत तहको सो विद्यालयमा स्थानीय पाठ्यक्रम अन्तर्गत मगर भाषाको पढाइ सुरु गरिएको हो । मगर भाषाको अध्यापनका लागि गाउँपालिकाले एक जना शिक्षकको व्यवस्था गरेको विद्यालयले जनाएको छ ।

Advertisment