भूमे महोत्सव

                                                                  -डा. मीन श्रीस मगर (minshrisphd@gmail.com)
भूमे, भूम्या, भूयँर, भयँर, सेमेभूमि आदिलाई समान अर्थमा बुझ्ने गरिएको पाइन्छ । कावाकितो जिरो (सन् १९७४) का अनुसार भूमे शब्दले कुनै एक मात्र देउतालाई नबुझाई स्थानीय प्रकृतिका परम्परागत देवदेवीहरूको समूह (देवगण) लाई जनाउँछ । अर्थात भूमि (जमिन) मा रहेका सबै स्थानीय देवदेवीलाई बुझाउँदछ । भूमे पूजा परम्परा खासगरी पितृपूजा वा वायुवादमा आधारित रहेको पाइन्छ । म्याग्दीको शिख र किवन क्षेत्रमा सबैजसो स्थानीय देवदेवीहरूको नामसँग भूमे शब्द जोडिएको पाइन्छ । जस्तैः सिद्धभूमे, मुखियाभूमे, नरसिङभूमे, वराहभूमे, थुम्केभूमे, कान्छी बराहनीभूमे, देवनीभूमे, कालीभूमे, भाराभूमे, फेरीभूमे, भीमसेनभूमे र नकचे वराहभूमे आदि । भूमे देवताहरु प्रकृतिका खुल्ला स्थानहरु खर्क (चरन क्षेत्र), वन, डाँडा, ताल, खेतवारी आदिमा बस्ने विश्वास गरिन्छ । कालीभूमे डाँडामा, थुम्केभूमे थुम (राणाकालीन प्रशासनिक क्षेत्र) को सदरमुकाममा, देवनीभूमे वनमा, खयरवराहनीभूमे र वराहभूमे तालमा बस्ने विश्वास गरिन्छ । शिख र पक्टार गाउँका मगरहरूमा प्रचलित खर फक्या सम्बन्धि मिथकसँग पनि भूमे देवताको प्रसँग जोडिएको पाइन्छ । त्यस क्षेत्रका मगरको पुर्खा मानिएका खर फक्याका दोस्रा र तेस्रा छोराहरूलाई क्रमशः खला (बाली काटेर चुट्ने ठाउँ) को भूमे र खेतीको भूमे तथा पहिलो र अन्तिम छोराहरूलाई बसोबास क्षेत्रको भूमे मानिएको पाइन्छ । यस क्षेत्रमा नयाँ घर बनाउँदा घरको भूमे (कुलपितृ) को पूजा गर्ने चलन छ । कुनै गाउँमा कुलो खन्ने बेलामा कुलोभूमे, धान रोप्ने बेलामा झांक्रीभूमे, जनै पूर्णिमाको समयमा खयर वराहनीभूमे, साउन पूर्णिमाका दिन साउनेभूमे आदिको पूजा गरिन्छ  (पृ. ३७२) । तनहूँको याङचोक र नवलपरासीको अर्खलामा लामो समय बसेर मगर जातिका बारेमा अध्ययन गरेका ग्यारी शेफर्ड (सन् १९८२) ले तयार पारेको अर्खलाका अन्ठाउन्न सिकारी देवताहरूको सूचीमा भुयाँर, जल भुयाँर र जबर भुयाँरको उल्लेख गरिएको छ । जमिनका राजा वा भूमि देवतालाई भुयाँर, जलका राजा वा जल देवतालाई जल भुयाँर र घरको पिढीमा जाँतो पिस्दैगर्दा बाघले खाएको जबरसिंहको मृतात्मा अर्थात वायुलाई जबरभूयाँर भन्ने उल्लेख गरिएको छ (पृ. २५३) । त्यसकारण भूमे, भूम्या, सेमेभूमे, भुयाँर आदि जे नामले पुकारे पनि ती देवताहरू वायुवादमा आधारित मगरहरूका पुर्खासँग सम्बन्धित छन् भन्ने प्रष्ट हुन्छ । प्रकृतिका हरेक वस्तुमा आत्मा रहन्छ भन्ने विश्वास (animism) का आधारमा भूमे पूजा परम्पराको विकास भएकाले झांक्रीवाद (shamanism) अन्तरसम्बन्धि रहेको देखिन्छ । समयमा पानी नपर्दा होस् वा विरामीको उपचार गर्दा झांक्रीले विभिन्न भूमे देउताहरुलाई आह्वान गरेको पाइन्छ ।
खासगरी गण्डकी र राप्ती प्रश्रवणक्षेत्रको मगर समाजमा भूमेपूजालाई उर्वरशक्ति (fertility cult) र पितृपूजा (ancestor worship) सँग अन्तरसम्बन्धित गराएर बालीपूजाको रुपमा धुमधामले मनाउने गरिन्छ । सामान्यतया बाली लगाउनु र भित्रयाउनु अघि भूमि र पितृहरूको आशीर्वाद लिने तथा उनीहरूलाई धन्यवाद ज्ञापन गर्ने उद्देश्यले उँभौली र उँधौली गरी वर्षको दुई पल्ट सामुहिक रुपमा भूमेपूजा वा बालीपूजा गर्ने चलन रहे पनि कतै वर्षको तीन पल्ट त कतै वर्षको एक पल्ट मात्र गरिएको पाइन्छ । भौगोलिक तथा वातावरणीय विविधताले गर्दा सबै ठाउँमा एकै समयमा बाली लगाउने र भित्रयाउने काम नहुने भएकाले नै भूमे पुज्ने समयमा पनि ठाउँअनुसार विविधता रहेको पाइन्छ । विशेषगरी म्याग्दी र रोल्पामा भूमेपूजालाई विशेष उत्सव वा चाडवाडकै रुपमा धुमधामसँग मनाउने परम्परा रहेको पाइन्छ । वर्षे बाली नै मुख्य बाली भएकाले उँभौली भूमेपूजालाई विशेष महत्व दिइएको हुन्छ । यसो गर्नुको मूल उद्देश्य अन्नबालीको सुरक्षा र उत्पादन बृद्धिको कामना हो । भूमे देउताले अतिवृष्टि, अनावृष्टि, असिना, बाढीपहिरो र रोगकिराबाट बालीनाली जोगाउन मद्दत पुर्याउँछन् भन्ने विश्वास पाइन्छ । भूमे देवाता खुशी भएमा पर्यावरणीय सन्तुलन कायम भई उत्पादन बृद्धि र मानव कल्याण हुन्छ भन्ने मान्यताको केन्द्रयीतामा भूमेपूजा परम्परा अघि बढेको देखिन्छ । बालीपूजा नगर्दासम्म नयाँ अन्न (हिउँदे बाली) खान नहुने तथा वर्षे बालीका लागि खेतबारी खनजोत गर्न नहुने मान्यता रहेको पाइन्छ (गुरुङ; १९९९:२६७) । भूमेपूजाको दिन खेतबारीको काम तथा कुटानी–पिसानी गर्न हुँदैन भन्ने मान्यता रहेको छ । झाँतो पिसेमा पहिरो जान्छ, बयली नफर्काएमा पानी पर्दैन र खेतीपाती राम्रो हुँदैन भन्ने जनविश्वास रहेको छ । बयली फर्काएर नाचगान सहित भूमे देवताको पूजा गरेमा राम्रो वर्षात भई अन्नबाली प्रसस्त उत्पादन हुन्छ । सहकाल आउँदछ, बाढीपहिरोको प्रकोप हुँदैन र भूइँचालो आउँदैन भन्ने विश्वास रहेको पाइन्छ ।
म्याग्दी, रुकुम र रोल्पातिर भूमेपूजालाई ठूलै उत्सवका रुपमा मनाउने गरिए पनि समयमा भने एकरुपता पाइँदैन । म्याग्दी जिल्लाको चिमखोला, दोबा, बेग, बाँन्दुक आदि गाउँमा चैतको उजेली पक्ष (शुक्लपक्ष) को मंगलबार पारेर भूमेपूजा गरिन्छ । म्याग्दीकै रायखोर, कोटगाउँ, पाखापानी, दगनाम, दर्मिजा आदि गाउँमा भने जेठमा भूमेपूजा गरिन्छ । भूमेपूजामा चढाउन एक महिना अघि सेजो (जौंको पीठो पकाएर ओक्टो अर्थात मर्चा मिसाएर बनाउने जाँड) राख्ने गरिन्छ । भूमे देवतालाई चढाउन र प्रसादका रुपमा खानका लागि मंगलबारका दिन पारेर सेजो राख्ने गरिन्छ । सर्वप्रथम भूमेको गुरु र वनको देवतालाई छेउमै सानो थान बनाएर कुखुराको भाले चढाएपछि भूमे देवतालाई छिप्पिएको भेडाको साँढ (थुमा) बलि दिइन्छ । भूमेका अतिरिक्त मण्डली, सिद्ध, भैरम, सागरे छहरा आदि देवताहरूका थानमा पनि बलिपूजा गरिन्छ । मण्डलीलाई बाख्राको पाठी र सागरे छहरालाई कुखुराको भाले चढाइन्छ । पुजारीले अक्षताको सेतो टीका र गलामा बाँध्न ध्वजा दिएपछि सेजो र कोदोको जाँड प्रसादको रुपमा वितरण गरिन्छ । भूमे थानको छेउमा टोलटोलको चुलो बनाएर भात पकाई भात र बलि दिइएको पशुको मासु बिलो लगाएर सबै घर कुरियालाई वितरण गरिन्छ । भूमे हँसाउने अर्थात देवतालाई खुशी पार्ने भनेर आफ्ना भाउजू र साली नाता पर्नेहरूसँग प्रसाद बनाउन आगो बालेको ठाउँको अंगारको कालो र जाँडको छोक्रा आपसमा दलेर मनोरञ्जन लिइन्छ । त्यसपछि थान उठाउने विधि अन्तर्गत प्रसाद बनाउन स्थापना गरिएको टोल–टोलको चुलो वरिपरि घुम्दै सेदो गाउने र नौमति बाजा बजाउने गरिन्छ । भूमेपूजाको अवसरमा नौमति बाजा बजाउने, सेदो, भइच साइँला, रेलीमाई, यानीमाया, सिरफूलै आदि भाकामा गीत गाउने र पुख्र्यौली नाच नाच्ने गरिन्छ । भूमे थानबाट बाजागाजा, नाचगान सहित फर्कदा गन्यमान्य व्यक्तिहरूलाई काँधमा बोकेर ल्याउने चलन छ । गाउँ नजिकैको भेला हुने स्थानमा पुग्नु अघि आमा समूहले बाटो छेक्ने गर्दछन् । उनीहरूलाई दानदक्षिणा दिएपछि सोगन (सगुन) को रुपमा जाँड, रक्सी, सिमी, केराउ, सागसब्जी आदिको परिकार खान दिइन्छ । भूमेपूजाको भोलिपल्ट टोल–टोलबाट महिलाहरू पुरुषको भेषमा सजिएर सेदो गाउदै मेला लाग्ने स्थलमा आउँदछन्, जसलाई टोबा निस्कने भनिन्छ । नौमति बाजा र मादले–मारुनी नाच प्रस्तुत गरिन्छ । कन्य केटाकेटीहरू माइती र चेलीवेटीको समूहमा विभाजन भएर कलश जुझाउने कार्यक्रम गर्दछन् । यो कार्यक्रममा एउटा खाँबो गाडेको ठाउँमा भेला भएर विवाह संस्कारलाई झल्काउने अभिनय प्रस्तुत गरिन्छ । तेस्रो दिन विभिन्न प्रकारका खेलकूद गतिविधिहरू संचालन गरिन्छ । जुरे चिलले चल्ला झम्टने र कुखुराको माउले चल्ला जोगाउने अभिनयलाई जुरेचल्ला खेल पनि खेलिन्छ ।
रोल्पाको उवा, थवाङ तथा रुकुमको टक्सेरा, काक्री आदि क्षेत्रमा भूम्या नामले उत्सव मनाइन्छ । रुकुम र रोल्पाका उच्च पहाडी भेगतिर आलु खन्ने र जौं काट्ने काम सकिएपछि भेडाहरू बुकी (हिमाली चरन) मा रहेका बेला असार १ देखि ३ गतेसम्म भूम्या मनाइन्छ । रुकुमको कुनै क्षेत्रमा असार एक गते बलपूजा भनेर भूमेपूजा गर्ने र हिलो खेल्ने गरिन्छ भने कतै सिस्नो खेल्ने (ङन्तिराम/सिस्नो मेला) गरिन्छ । कुनै ठाउँमा भूम्या पूजालाई नोकोवाङ पूजा पनि भनिन्छ । पुरानो समयमा भूम्या पूजालाई ‘नाम कः’ भनिन्थ्यो । मगर भाषामा ‘नाम’ को अर्थ भूमि अर्थात जमिन र ‘कः’ को अर्थ पूजा गर्नु वा पवित्र बनाउनु हुन्छ । जेठ एक गते विधिपूर्वक भूम्4यानाच फुकाएर असार एक गते बाजागाजा सहित भेडाको पाठो, बोका, कुखुरा आदि बलि चढाएर भूम्या थानमा पूजा गरी तीन दिनसम्म भूम्यानाच नचाइन्छ । ठाउँअनुसार जेठ मसान्त अथवा असार मसान्त वा असार संक्रान्ति अथवा साउने संक्रान्तिमा पनि भूमे उत्सव मनाउने गरेको पाइन्छ । मसान्तको दिन युवायुवतीहरू लेक (हिमाली चरन क्षेत्र) तिर बुकी फूल टिप्न जान्छन् । उतै बास बसेर भोलिपल्ट लेकबाट बुकी लिएर फर्कने क्रममा गाउँ नजिकैको डाँडामा आइपुगेपछि युवायुवतीहरूले रातो, सेतो, हरियो, नीलो रंगका कपडाको दुई छेउमा समाएर दुई लहर भएर कपडा फहराउँदै र हल्ला गर्दै आउँछन्, जसलाई बयली फर्काउनु (हावा फर्काउनु) भनिन्छ । यसरी बयली फर्काएर गाउँतिर आउँदै गरेका युवायुवतीको समूहलाई देखेपछि चौपारीमा भेला भएका गाउँलेहरू महिला र पुरुषको भिन्नाभिन्नै पंक्तिमा उभिएर पञ्चै बाजाको तालमा नाच्न थाल्दछन् । त्यसपछि चौपारीमा ल्याइएको भेडाको पाठोलाई पूर्वबाट पश्चिमतिर लखेट्ने गरिन्छ । पाठोले गाउँको सीमाना काटेपछि समाएर सिङमा रातो र सेतो ध्वजा बाँधेर भूमे थानमा बलि चढाइन्छ । भूम्याको अवसरमा दुई–तीन दिनसम्म नाचगान गरी रमाइलो गर्ने चलन रहेको छ । भूम्या नाचलाई नोकोबाङ्गे नाच पनि भन्ने गरिन्छ । मगर भाषामा ‘बाङ’ को अर्थ समथर चउर हुन्छ । भूम्या पूजा गरेर गाउँका सबैजना ठूलो चउरमा भेला भएर नाचिने नाच भएकाले नै नोकोबाङ्गे नाच भनिएको बुझिन्छ । यो नाचमा सलामी, नौबाङ्गे (गुरुचाला), वै टिने (फूल टिप्ने), दोरे, तीनपाइले, खरगैकोने, चौवाने, गाईदुहुने, निगालो छोडाउने, सुर्तिबान, कण्डबसाल्ने, सिकुई, झयाँई, पछ्यौरी फाल्ने, सप्काउने, बटुवाचाला, दल्कनी, खन्जनी आदि बाइस चाला (ताल) हुन्छन् । भूम्याको दोस्रो दिन अर्थात असार दुई गते नामचुन छनोट गर्ने परम्परा रहेको पाइन्छ । मगर भाषामा ‘नाम’ को अर्थ भूमि र ‘चुन’ को अर्थ बस्नु वा बसाल्नु हुन्छ । गाउँका सबैभन्दा पाका उमेरका दुई जनालाई नामचुनको रुपमा छनोट गरेर भूम्या पूजा थानमा लगेर बसालिन्छ । उनीहरूले त्यहाँ वन बाँध्ने विधि सम्पन्न गर्दछन् । वन बाँध्ने विधिले वनको सुरक्षा गर्नुका साथै प्राकृतिक प्रकोपबाट बचाउँदछ भन्ने जनविश्वास रहेको छ । त्यसपछि नामचुनलाई बोकेर स–सम्मान गाउँमा ल्याएर सबैले ढोग सम्मान प्रकट गर्दछन् । गाउँलेले विभिन्न चाडवाडको अवसरमा बलि चढाइएका पशुपंक्षीका टाउको सिर्तोको रुपमा नामचुनलाई प्रदान गर्ने चलन पनि रहेको पाइन्छ ।
सामाजशास्त्रीय दृष्टिकोणमा भूमे पूजा परम्परा र विश्वासले सिङ्गो समाजलाई एकताबद्ध गराउनुका साथै सामाजिक सद्भावप्रति प्रेरित एवं समुदायमा आधारित संस्कृतिप्रति उन्मुख बनाएको देखिन्छ । यसले निश्चित भौगोलिक क्षेत्र वा गाउँमा बसोबास गर्ने सबै जातजाति र थरउपथरहरूका परिवारहरू वीचको समष्टिगत क्षेत्रीय प्रणालीमा प्रकार्यात्मक एकता कायम गराउन मद्दत पु¥याएको देखिन्छ । मगर जातिको संस्कृति समुदायमा आधारित रहेको तथ्यलाई भूमे प्रतिको विश्वास र पूजा परम्पराले पनि स्पष्ट पारेको छ । भूमेपूजाले सिङ्गो गाउँलाई एक सूत्रमा बाँध्नुका साथै आपसी सहकार्य, सहमती र अनुभवको आदानप्रदानका आधारमा कार्य सम्पादन गर्ने परम्परालाई उत्प्रेरित गरेको देखिन्छ । पर्यावरणीय प्रभावका कारण भूमे देउताका प्रकार, नाम, पूजा समय र विधिमा केही भिन्नताहरु पाइए पनि भूमे सम्बन्धि विश्वास र पूजा परम्पराका विम्व र त्यसले दिने अर्थमा भने एकरुपता पाइन्छ । अन्नबाली लगाउन शुरु गर्नुभन्दा पहिले बलि दिने चलन अनुकरणात्मक वा समवेदनात्मक अभिचार (तन्त्रमन्त्र) सँग सम्बन्धित रहेको छ । भूमेपूजा परम्परा अन्नबालीको राम्रो उत्पादन, उचित वर्षात, शरीर र मनको शुद्धिकरण, अनिष्टता हटाउने र सौभाग्य ल्याउने उद्देश्यसँग अन्तरनिहित रहेको पाइन्छ ।
सन्दर्भ सामग्री–सूची
उदासी, टीकाराम. (२०७६ जेठ १८). मगर समुदायको भूमि आराधना. गोरखापत्र शनिवार, पृ. ग । 
पुन मगर, विकास. (सन् २००६). भूमे चाड. कानुङ लाङ्घा, यु. के.: बेलायत मगर संघ, २ (२), पृ २४–२५ ।
श्रीस मगर, मीन. (२०७५). चाडवाडहरूको समाजशास्त्रीय विश्लेषण. ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।
Gurung, O. P. (1999). Local institutions, cultural practices and resource management in a mountain village of west Nepal. In R. B. Chhetri & Om P. Gurung (eds.), Anthropology and Sociology of Nepal, (pp. 251-274). Kathmandu: SASON.
Kawakita, J. (1974). The hill Magars and their neighbours: Hill peoples surrounding the ganges plain. Synthetic research of the culture of rice-cultivating peoples in southeast Asian countries III. Volume III. Tokyo: Tokai University Press. 
Shepherd, Gary. (1982). Life Among the Magars. Kathmandu: Sahayogi Press.
Advertisment