राष्ट्रिय मौलिक कौरा पत्रकारिता पुरस्कार पत्रकार तिलक पुनलाई

पोखरा, १६ जेठ
“राष्ट्रिय मौलिक कौरा पत्रकारिता पुरस्कार–२०७६” पोखराका अग्रज पत्रकार एवं लेखक तिलकप्रसाद पुनमगरलाई दिइने भएको छ । नेपाल मगर पत्रकार संघ, कास्की शाखाद्वारा सञ्चालित यो पुरस्कार राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालले स्थापना गरेको हो ।
राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालको स्थापना दिवस जेठ १५ को अवसर पारेर हरेक वर्ष प्रदान गर्ने गरी स्थापित यो पुरस्कार गत वर्षदेखि दिन सुरु गरिएको हो । गत वर्ष नवलपुरकी पत्रकार कमला रानामगर यो पुरस्कारबाट पुरस्कृत भइसक्नुभएको छ ।
नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरको संयोजकत्वमा गठित पाँच सदस्यीय प्रतिभा छनौट समितिको बिहीबार बसेको बैठकले अग्रज पत्रकार पुनलाई पुरस्कार दिने निर्णय गरेको हो । छनौट समितिमा राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका तर्फबाट अध्यक्ष हर्क आलेमगर र नरमाया आलेमगर, नेपाल मगर पत्रकार संघ, कास्की शाखाका तर्फबाट अध्यक्ष रूद्रबहादुर हितानमगर र सचिव उमा आलेमगर रहनुभएको थियो । झण्डै दुई दशकभन्दा बढी समयदेखि करिब अढाइ दर्जन पत्रपत्रिकामा स्तम्भ लेख्ने एवं सम्पादनको काम गर्दै आउनुभएका पत्रकार पुनले केही समय एफएम रेडियोमा समेत कार्यक्रम प्रस्तोताका रुपमा काम गर्नुभएको थियो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का पूर्व केन्द्रीय उपाध्यक्ष एवं नेपाल मगर पत्रकार संघका केन्द्रीय सल्लाहकार रहनुभएका पत्रकार पुन कास्की आवाज राष्ट्रिय दैनिकमा स्तम्भकारका रुपमा कार्यरत रहनुभएको छ । विभिन्न सामाजिक संघसंस्थामा समेत क्रियाशील पत्रकार पुनले विभिन्न जातजातिको संस्कृतिको स्थलगत अध्ययनमा विशेष रुचि राख्नुहुन्छ ।
पत्रकार पुन हालसम्म “हिमदूत पत्रकारिता सम्मान”, “कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार”लगायतका विभिन्न पुरस्कार र सम्मानबाट समेत सम्मानित भइसक्नुभएको छ । मगर जातिमा लोकप्रिय कौरा नाचलगायत विभिन्न संस्कृतिका विषयमा कलम चलाउनुभएका पत्रकार पुनले “लोकसंस्कृतिका सुसेलीहरू” नामक पुस्तक समेत प्रकाशित गर्नुभएको छ । पत्रकार पुनलाई यही जेठ २५ गते आयोजना गरिने विशेष कार्यक्रममा सो पुरस्कारबाट सम्मान गरिने राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालकी उपाध्यक्ष तारामाया थापामगरले जानकारी दिनुभयो ।

Advertisment