उपराष्ट्रपति पासाङ युरोपेली मुलुक अष्ट्रिया प्रस्थान

काठमाडौं, १२ जेठ
उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ अष्ट्रियाको भियना प्रस्थान गर्नुभएको छ । जेठ १४ गते राजधानी भियनामा सुरु हुने आर–२० अष्ट्रियन विश्व सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पासाङ आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
उपराष्ट्रपति पासाङ आइतबार बिहान ९ः२० बजेको उडानबाट कतार एयरवेजको उडानबाट भियनातर्फ प्रस्थान गरेको उहाँको सचिवालयले जनाएको छ । उपराष्ट्रपति पासाङको भ्रमण टोलीमा उहाँकी श्रीमती हस्तमाली पुन, वनमन्त्री शक्तिबहादुर बस्नेतलगायत रहनुभएको छ । उपराष्ट्रपतिले १३ जेठमा बहुपक्षीय कूटनीतिक फोरम भियना अन्तर्राष्ट्रिय सेन्टरको ४० औं वार्षिकोत्सव कार्यक्रममा सहभागिता जनाउनेछन् । जेठ १४ गते उनले आर–२० अष्ट्रियन विश्व सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यसपछि उनी अष्ट्रियाका संघीय राष्ट्रपतिले दिने दिवाभोजमा सहभागी हुनुहुनेछ । त्यस्तै आर–२० सम्मेलनको समूहगत छलफलमा पनि सहभागी हुनुहुनेछ । अष्ट्रिया भ्रमणका क्रममा उपराष्ट्रपति पासाङ जेठ १५ गते अन्तर्राष्ट्रिय सगरमाथा दिवसको कार्यक्रममा पनि सरिक हुनुहुनेछ । उपराष्ट्रपति पासाङ जेठ १६ गते स्वदेश फर्किने कार्यक्रम छ ।

Advertisment