४५ औं दिनको पुण्य तिथिमा संगीतकार स्व. थुलुङका परिवारद्वारा पोखरा वृद्धाश्रममा फलफूल वितरण

पोखरा, ११ जेठ
पोखराका प्रतिष्ठित संगीतकार श्रीमान थुलुङको निधन भएको ४५ औं दिनको पुण्य तिथिमा शनिबार पोखरा वृद्धाश्रममा थुलुङ परिवारले फलफूल वितरण गरेको छ । संगीतकार थुलुङको स्कुटर दुर्घटनामा परी गत चैत्र २७ गते निधन भएको थियो ।
पोखरा–१७, सीतापाइलास्थित सो वृद्धाश्रममा रहेका ७० जना वृद्धवृद्धाहरूलाई स्व. थुलुङकी धर्मपत्नी विमला राई र उहाँका पाँच जना छोरीहरूले फलफूल वितरण गरेका हुन् । त्यसैगरी, सोही अवसरमा स्व. थुलुङलाई फेवा टेलिभिजनले मरणोपरान्त सम्मान समेत गरेको छ । नेपाली संगीतको विकास र फेवा टेलिभिजनको प्रवद्र्धनमा विशेष योगदान दिएको भन्दै मरणोपरान्त सम्मान सो टेलिभिजनले मरणोपरान्त सम्मान गरेको हो । फेवा टेलिभिजनका वरिष्ठ समाचार सम्पादक रूद्रबहादुर श्रीसले स्व. थुलुङकी धर्मपत्नी विमला राईलाई सो सम्मानपत्र प्रदान गर्नुभयो ।


फलफूल वितरण तथा सम्मान कार्यक्रममा स्व. थुलुङको जीवनबारे प्रकाश पार्दै पूर्वाञ्चल सेवा समाज, कास्कीका अध्यक्ष डीबी राईले देशले एक कुशल संगीतकार र संगीत प्रशिक्षक गुमाएको बताउनुभयो । थुलुङको असामयिक र अकल्पनीय निधनले सिंगो नेपाली संगीतलाई क्षति पुगेको भन्दै अध्यक्ष राईले स्व. थुलुङको भौतिक शरीर नरहेपनि उहाँका कीर्तिहरू सधैं अमर रहिरहने उल्लेख गर्नुभयो ।
फेवा टेलिभिजनका वरिष्ठ समाचार सम्पादक रूद्रबहादुर श्रीसले टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम “फेवा चौतारी”का वरिष्ठ सदस्य थुलुङको निधनले ठूलो अभाव महसुस गरेको बताउनुभयो । थुलुङले टेलिभिजनका लागि मात्र नभइ सिंगो नेपाली संगीतका लागि पु¥याएको योगदान अतुलनीय रहेको भन्दै श्रीसले थुलुङका अधुरा सपना पूरा गर्न सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिनुभयो ।
पोखरा वृद्धाश्रमका संरक्षक वसन्तकेशव पराजुलीले स्व. थुलुङ एक प्रतिभाशाली कलाकार भएको बताउँदै उहाँलाई गुमाउनुपर्दा पीडाबोध भएको उल्लेख गर्नुभयो । थुलुङको ४५ औं दिनको पुण्य तिथिमा वृद्धाश्रमका वृद्धवृद्धाहरूलाई फलफूल वितरण गरी पुण्य कार्य गरेकोमा परिवारजनलाई धन्यवाद दिँदै पराजुलीले जन्मनु र मर्नु प्राकृतिक नियम भएपनि अकालमा मृत्यु हुँदा भने असह्य पीडा हुने बताउनुभयो ।
सोलुखुम्बुमा जन्मिएका स्व. थुलुङले विगत अढाइ दशकदेखि पोखरामा तराना म्यूजिक सेन्टर नामक संगीत पाठशाला खोलेर सयौं संगीत प्रशिक्षार्थीलाई संगीत प्रशिक्षण दिइसक्नुभएको छ । थुलुङको निधनपछि तराना म्यूजिकको व्यवस्थापनको जिम्मेवारी सम्हालेका गायक उमेश राईले स्व. थुलुङका सपना पूरा गर्न आफूले पोखराको स्थापित संगीत पाठशालालाई नेतृत्व दिएर निरन्तरता दिने अठोट लिएको बताउनुभयो ।

Advertisment