पर्वतकी सनम गर्बुजा बनिन् मिस मगर नेपाल

पोखरा, ११ जेठ
चौथो संस्करणको “मिस मगर नेपाल–२०१९”को ताज पर्वतकी सनम गर्बुजामगरले जितेकी छिन् । एस.टी. क्रियशनको आयोजना तथा हिमाअस एजुकेशन कन्सल्टेन्सीको प्रस्तुतीमा शुक्रबार पोखराको पाँच तारे होटलमा भएको ग्राण्ड फिनालेमा आफ्ना अन्य ९ अन्तिम प्रतिस्पर्धीलाई पछि पार्दै मिस मगर नेपालको ताज पहिरिन सफल भएकी हुन् ।
वेष्ट लिडरसीप टाइटल अवार्डसँगै मिस मगर नेपालको ताज पहिरिन सफल उनले १ लाख रुपैयाँ बराबरको एक साताको विदेश भ्रमणमा जान पाउने भएकी छिन् । त्यस्तै, बागलुङकी सोनी पुनमगर वेष्ट स्माइल र वेष्ट फोटो जेनिक गरी दुई टाइटल अवार्डसँगै फष्ट रनर अप बनिन् । उनले ५० हजार रुपैयाँ नगद पुरस्कार जितिन् भने सेकेण्ड रनर अप पनि बागलुङकै सानिया पुनमगर भइन् । वेष्ट पर्सनालिटी र वेष्ट वाक गरी दुई टाइटल अवार्डसँगै सेकेण्ड रनर अप भएकी सानियाले ३० हजार रुपैयाँ नगद पुरस्कार जितिन् । मिस मगर नेपालको भ्यूअर्स च्वाइस अवार्ड भने पर्वतकी उषा अर्मजामगरले जित्न सफल भइन् । उषाले मोष्ट डिसिप्लिनको अर्को टाइटल अवार्ड पनि जित्न सफल भइन् ।
त्यसैगरी, वेष्ट स्किन टाइटल अवार्ड म्याग्दीकी मेलिना चोचाङ्गीमगर, वेष्ट हेयर बागलुङकी मेलिना श्रीसमगर, मोष्ट फ्रेन्डली म्याग्दीकी अस्मिता तिलिजामगर, वेष्ट पर्फरमेन्स बागलुङकी एलिसा बुढामगर, मोष्ट इन्टेलिजेन्ट तथा मोष्ट कन्फिडेण्ट तनहुँकी रिमांश थापामगर, मोष्ट पपुलर र मोष्ट ट्यालेन्टेड गरी दुई वटा टाइटल अवार्ड स्याङ्जाकी केशरी रानामगरले जितिन् ।


बिजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि, गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगर, विशेष अतिथि, नेपाल मगर संघका पूर्व केन्द्रीय अध्यक्ष एवं वर्तमान केन्द्रीय संरक्षक झकबहादुर थापामगर, विशेष अतिथि, जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानामगर, नेपाल मगर संघ, कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर, नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगर, प्रतियोगिताका प्रमुख निर्णायक नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापामगर, निर्णायक संयोजक पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष शिव थापामगर, निर्णायक एवं नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य फूलकुमारी थापामगर, निर्णायक एवं नेपाल मगर संघ, कास्कीका वरिष्ठ उपाध्यक्ष मेजर प्रेमबहादुर थापामगर, निर्णायक एवं पत्रकार मनोज घर्तीमगर, निर्णायक एवं मिस मगर पोखरा–२०१२ की सेकेण्ड रनर अप मेनका पल्लीमगर, मिस मगर नेपाल–२०१४ की सेकेण्ड रनर अप सरला थापामगर, मिस मगर तनहुँ–२०११ की फष्ट रनर अप पवित्रा थापामगर, मिस मगर तनहुँ–२०१८ वर्षा आलेमगर, रिबर्थ इभेण्ट म्यानेजमेण्टका अध्यक्ष अरुण दर्लामीमगर, मिस मगर नेपाल–२०१९ का प्रशिक्षण संयोजक रूद्र श्रीसमगरलगायतले पुरस्कार वितरण गरेका थिए ।


यसअघि, कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले मिस मगर नेपाल एउटा नवीनताको खोजीमा अघि बढेको कार्यक्रमका रुपमा अथ्र्याउनुभयो । भाषा, संस्कृतिको संरक्षणका लागि नवीनतामार्फत् योगदान दिन खोजेको भन्दै मन्त्री थापामगरले यस्ता कार्यक्रमले संस्कृतिप्रति युवा पुस्ताको चासो बढाउने उल्लेख गर्नुभयो ।
पर्यटन प्रवद्र्धनमा यस्ता कार्यक्रमले टेवा पु¥याउने उल्लेख गर्दै उहाँले नेपालमा आउने सबै पर्यटकलाई पोखरा ल्याउन प्रदेश सरकार लागिपरेको बताउनुभयो । यहाँ आउने पर्यटकलाई प्राङ्गारिक खाना खुवाउन उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री थापामगरले मिस मगर नेपालले भाषा र संस्कृति संरक्षणमा फरक खालको कार्यक्रम आँटे गर्न सकिने रहेछ भन्ने प्रमाणित गरेको विचार व्यक्त गर्नुभयो ।
नेपाल मगर संघका पूर्व अध्यक्ष एवं केन्द्रीय संरक्षक झकबहादुर थापामगरले मिस मगर नेपाललाई आफू सुरुवात हुँदादेखि नै नजिकबाट नियालिरहेको भन्दै मिस मगर नेपाललाई फगत एउटा सौन्दर्य प्रतियोगिताका रुपमा मात्रै बुझ्न नहुने उल्लेख गर्नुभयो । उहाँले मिस मगर नेपाल बाहिरी देखावटी रुप मात्रै नभइ मगर युवतीहरूको प्रतिभा प्रस्फुटन गर्ने एउटा राम्रो माध्यम भएको बताउनुभयो । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराका प्रबन्धक सूर्य थपलियाले नेपाल एक विविधताको देश भएको बताउँदै विविधताको संरक्षण गर्न सके मात्र पर्यटन विकासमा फड्को मार्न सकिने भनाइ राख्नुभयो । लोप हुँदै जान थालेको मगर भाषा र संस्कृति जोगाउन यस्ता कार्यक्रमले टेवा दिने बताउँदै थपलियाले युवापुस्ताको चासो बढाउन कार्यक्रम सफल रहेको उल्लेख गर्नुभयो ।
मिस मगर नेपाल–२०१९ का प्रमुख सल्लाहकार एमबी आस्था मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम निर्देशक सुरज थापामगर, कार्यक्रम संयोजक इनिशा दुरामगर र सञ्चारकर्मी जुना थापामगरले गर्नुभएको थियो भने प्रशिक्षण संयोजक रूद्र श्रीसमगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Advertisment