वैशाख पूर्णिमा र घाँटु–नृत्यनाटिका

-डा. मीन श्रीस मगर (minshrisphd@gmail.com)
वैशाख पूर्णिमालाई मगर समाजमा महत्वपूर्ण उभौली चाडको रुपमा मनाउने गरिन्छ । माघे सङ्क्रान्तिदेखि जेठ मसान्तसम्मको उभौली याममा मनाइने विभिन्न चाडवाडहरू मध्ये वैशाख पूर्णिमालाई अलि बढी धार्मिक अनुष्ठान एवं मनोरञ्जनका साथ विशेष महोत्वसवकै रुपमा सम्पन्न गरिएको पाइन्छ । विश्व शान्तिका अग्रदूत शाक्यमुनि गौतम बुद्धको जन्म, बुद्धत्व र महापरिनिर्वाण प्राप्त गरेको पवित्र दिन तथा वर्षे बाली लगाउने र हिउँदे बाली भित्र्याउने शुभ साइतको दिन वैशाख पूर्णिमा भएकाले नै विशेष महत्व दिइएको बुझिन्छ । मगर समाजमा बालीनाली लगाउने र सेहार्ने समयमा प्रकृति र पितृ पुज्ने परम्परा पाइन्छ । पितृ देउताहरूलाई प्राकृतिक स्रोतहरू वनस्पति, पशुपंक्षी, बालीनाली आदिको संरक्षण गरी मानव जीवनको कल्याण गर्ने शक्तिका रुपमा पुज्ने गरिन्छ (गुरुङ, सन् १९९९) । त्यसैले वैशाख पूर्णिमाका दिन प्रकृति र पितृसँग सम्बन्धित देवदेवीहरूको विधिवत पूजा अनुष्ठान सम्पन्न गरेपछि घाँटु–नृत्यनाटिका प्रस्तुत गरिन्छ । पूजा अनुष्ठान र घाँटु–नृत्यनाटिका प्रस्तुतिबाट प्रकृति एवं पितृ खुशी भई राम्रो वर्षात हुन्छ । अतिवृष्टि, अनावृष्टि, खडेरी, अनिकाल, रोगव्याधी, महामारी जस्ता दैवीप्रकोपबाट बच्न सकिन्छ । सहकाल आउनुका साथै मानिस र घरपालुवा पशुपंक्षिको सुरक्षा हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ ।
खासगरी वैशाख पूर्णिमाको दिनमा चन्डी, सिद्ध, भैरम र कुलदेवता (पितृ) पुज्ने गरिन्छ । घर वा खोला/!तालको किनारका रुखको फेँदमा प्राकृतिक ढुङ्गालाई कुलदेवताको रुपमा थपना गरेर देवाली गरिने भएकाले वैशाख पूर्णिमालाई देवाली पूर्णिमा पनि भन्ने गरिन्छ । कतिपयले सिद्ध र भैरमलाई आफ्नो कुलदेवताको रुपमा पुज्ने गर्दछन् । सिद्ध र भैरम (भैरव) लाई हिन्दू र बौद्ध दुबै समुदायमा तान्त्रिक देवताका रुपमा पुज्ने गरिन्छ । सातौं शताब्दीतिर तान्त्रिकवादको प्रभावबाट बौद्ध धर्मको महायान सम्प्रदायमा बज्रयानको प्रार्दुभाव भएपछि सिद्ध भैरव परम्पराको विकास हुनगयो । वज्रयान परम्परामा चौरासी सिद्धहरूको स्थान रहेको हुन्छ । ती मध्ये मच्छिन्द्रनाथ र गोरखनाथ नेपाली समाजमा प्रसिद्ध छन् । काठमाडौं उपत्यकामा रातो मच्छिन्द्रनाथलाई वर्षात र सहकालको देवताको रुपमा पुज्ने गरिन्छ । महायानी बज्रयान बौद्धमत अनुसार तीन सय साठी लोकेश्वरहरूमध्ये पद्मपाणि लोकेश्वरको एक अवतार तथा आर्यावलोकितेश्वरको नामले पनि मच्छिन्द्रनाथलाई चिन्ने गरिन्छ । रातो मच्छिन्द्रनाथ रथयात्रा वैशाख शुक्लप्रतिपदादेखि एक महिनासम्म सञ्चालन गरिन्छ (बज्राचार्य, २०४१: १ र ४) । पृथ्वीनारायण शाहले सिद्ध गोरखनाथलाई आफ्ना इष्टदेवता मानेका थिए । पश्चिम नेपालको पहाडी समाजमा प्रचलित मस्टो उपासना पनि सिद्ध परम्पराका जाल–धरपा, सरहपा आदि झैं मस्टपा हाँगो भएको बुझिन्छ (पोखरेल, २०५५: ५८९) । ऐतिहासिक मगरात भनिने कालीगण्डकी प्रश्रवणक्षेत्रको मगर समाजमा वैशाख पूर्णिमाकै दिन सिद्धको पूजा गर्ने चलन रहेको छ । त्यसैले वैशाख पूर्णिमालाई सिद्ध गोरखनाथ जयन्ती पनि भनिन्छ । करिव वि. सं. ११९४ देखि १४४६ सम्म अस्तित्वमा रहेको पश्चिम नेपालको सिंजा साम्राज्यको सिमाना गोर्खासम्म फैलिएको र सिंजाली सम्राटहरूको राजकीय धर्म बौद्ध बज्रयान रहेकाले तत्कालीन गण्डकी प्रश्रवणक्षेत्रको मगर समाजमा सिद्ध भैरमको पूजा गर्ने परम्पराको विकास भएको बुझिन्छ (अधिकारी, २०६१: ५० र श्रीस मगर, २०७४: ४५) ।
मगर गाउँहरूमा वैशाख पूर्णिमाको दिन गरिने चन्डी पूजा पनि सहकाल र वर्षातकी देवीसँग सम्बन्धित रहेको पाइन्छ । मगर भाषामा ‘चन’ को अर्थ विजुली र ‘डी’ को अर्थ पानी हुन्छ । यसर्थमा ‘चन्डी’ वर्षातकी देवी अर्थात जलदेवी हुन् । चन्डीलाई आदिम मातृसत्तात्मक समाजको प्रतीक पनि मानिन्छ । प्राचीनकालदेखि राणाकालसम्म चलेको खानी उत्खनन्को समयतिर मगर गाउँहरूमा वैशाख पूर्णिमाको दिन चन्डी पूजा गरेपछि खानी उत्खनन् कार्य बन्द गरेर वर्षे खेतीपातीको काममा लाग्ने गरिन्थ्यो । त्यसैले चन्डीको पूजा गरिने पूर्णिमा भएकाले वैशाख पूर्णिमालाई चन्डी पूर्णिमा पनि भनिन्छ । गाउँटोलको शिरानतिरको एउटा रुखको फेँदमा थान बनाएर उचित वर्षात र सहकालको कामना गर्दै सामुहिक पूजा गरेपछि पायक पर्ने स्थान (चउर, आँगन) मा घाँटु नचाउने गरिन्छ (श्रीस मगर, २०७५: ५७–५८) ।
वैशाख पूर्णिमाको दिन गरिने चन्डी, सिद्ध र भैरम पूजा प्रकृति एवं पितृपूजा परम्परा र कृषि कर्मसँग अन्तरसम्बन्धित धार्मिक अनुष्ठानका पक्ष हुन् भने घाँटु–नृत्यनाटिकाको प्रस्तुति मगर समाजमा प्रचलित जीवात्मवाद (animism) र लामाझांक्रीवाद (shamanism) वा तान्त्रिक आचरणको प्रभावको प्रतिविम्व हो । लामाझांक्री (shaman) लाई पितृ र जीवितहरू वीचको मध्यस्थकर्ताका रुपमा लिइन्छ । लामाझांक्रीद्वारा मृतकको आत्मालाई उतारेर पितृको स्थानमा थपना गराउने पुर्खापूजा परम्पराबाट घाँटु–नृत्यनाटिकाको विकास भएको मानिन्छ । शाक्यमुनि गौतम बुद्धको मावली/ससुराली गणराज्य कोलीय अन्तर्गत पर्ने वर्तमान नवलपरासीको देवचुली क्षेत्रका मगरहरूले बुद्धको महापरिनिर्वाण पश्चात पितृपूजा परम्पराअनुरुप वैशाख पूर्णिमाको पवित्र तिथि पारेर घाँटु प्रारम्भ गरेकाले नै आरधना गीतमा देवचुली र वरचुली देवताको आह्वान गरिएको पाइन्छ । घाँटु गाथाको परिवेश चित्रणमा पनि सोही क्षेत्रको नवलपुर पटाङ्गिनी, रामपुर टार (पाल्पा), काली खोलैतिर (कालीगण्डकी) आदि स्थानहरूको वर्णन पाइन्छ । त्यसैले घाँटुको उद्गम स्थल नवलपरासीको देवचुली क्षेत्रको मगर गाउँलाई मानिएको हो (श्रीस मगर, २०७०: ५२) । प्रारम्भमा बुद्धगाथाले भरिएको घाँटु–नृत्यनाटिका हजारौं वर्षको अन्तराल पश्चात बौद्ध दर्शनको प्रभाव कमजोर हुनेक्रमसँगै समसामयिक समाज–राजनीति तथा सांस्कृतिक वातावरण अनुसार वाइसी–चौवीसीकालखण्डमा आएर कालीगण्डकी प्रश्रवणक्षेत्रका राजारानीको जीवनगाथामा रुपान्तरित भएको सहजै अनुमान लगाउन सकिन्छ । राणाकालसम्म अस्तित्वमा रहेको सती प्रथा, नेपाल–अंग्रेज युद्ध (सन् १८१४–१६) ले जन्माएको गोर्खा भर्तीसँगै भित्रिएका हल्दार, जम्दार, लेप्टेन, केप्टेन आदि दर्जानुआर्थी शब्दहरूले घाँटुगाथामा भइरहेका परिवर्तन एवं विषय–वस्तु र पात्रहरूमा देखापर्ने समसामयिक फेरबदलको अवस्थालाई प्रष्टयाउँदछ ।
घाँटु–नृत्यनाटिकामा अनुष्ठान, सन्देश र मनोरञ्जनका पक्षहरू समेटिएका छन् । रौराले विधिपूर्वक आराधना गीतका माध्यमबाट कन्याहरूमा पितृ देवता आरोपित गराएर जीवन भोगाइका क्रममा गरिने समग्र क्रियालापहरूको अनुकरण प्रस्तुत गराएको पाइन्छ । हिउँदे बाली सेहार्ने र वर्षे बाली लगाउने समय वैशाख पूर्णिमाको अवसरमा प्रस्तुत गरिने घाँटु–नृत्यनाटिकाको उद्देश्य प्रकृति एवं पितृलाई खुशी पारेर वर्षात र सहकालको आह्वान गर्नु रहेकाले नै वर्षात हुने, खेतवारी खनजोत गर्ने, रोपाइँ गर्ने आदि समग्र क्रियाकलापहरूको सुन्दर अभिनय गरिन्छ । यसका अतिरिक्त सिकार खेल्ने, माछा मार्ने, हटिया (बजार) जाने, युद्ध गर्ने आदि जीवनचक्रीय कर्मको अनुकरण समेत प्रस्तुत गरिन्छ । मानव पर्यावरणीय दृष्टिकोण (Human Ecological Perspective) बाट विश्लेषण गर्दा प्रारम्भिक कृषियुगतिर नवलपरासी (कोलीय राज्य) को चुरे पहाडको फेँदीमा रहेका मगर बस्तीहरूमा वर्षे बाली लगाउने समयमा प्रकृति एवं पितृलाई खुशी पारेर वर्षात र सहकालको आह्वान गर्ने उपाय वा विधिको रुपमा चन्डी पूजा र घाँटु–नृत्यनाटिकाको विकास गरिएको बुझिन्छ । वैशाख पूर्णिमा तिथिमा नै चण्डी, सिद्ध, भैरमको पूजा गरी घाँटु प्रस्तुत गर्ने परम्पराको थालनीको पछाडि सोही क्षेत्रको दार्शनिक राजकुमार गौतम बुद्धको गहिरो प्रभाव रहेको प्रष्ट हुन्छ । घाँटु–नृत्यनाटिका प्रस्तुतिका क्रममा मादल लगायत कुनै पनि संगीत साधनको प्रयोग गरिदैन । वसन्त ऋतुमा रुखविरुवाले नयाँ पालुवा फेर्ने, पशुपंक्षीले बच्चा हुर्काउने तथा वर्षे बाली लगाउने वा पलाउने समय भएकाले वातावरण शान्त राख्ने उद्देश्यले मादल बजाउने गरिँदैन । वैशाख, जेठ र असार तीन महिना मादल बन्द गरिने हुँदा घाँटु–नृत्यनाटिका लस्के र सुमधुर भाकामा सृष्टिका प्रतीक नारी अर्थात कन्याहरूले सौम्य र शान्त रुपमा प्रस्तुत गर्दछन् ।
सन्दर्भ सामाग्री:
अधिकारी, सूर्यमणि. (२०६१, पुनर्मुद्रण २०६७). खश साम्राज्यको इतिहास. काठमाडौं: भुँडीपुराण प्रकाशन ।
पोखरेल, बालकृष्ण. (२०५५). खश जातिको इतिहास. विराटनगरः उदात्त अनुसन्धान अड्डी ।
बज्राचार्य, पुण्यरत्न. (२०४१). नेपालका केही यात्रा र मेला. काठमाडौं: जुजुभाई डंगोल ।
शर्मा, जनकलाल. (२०५८). हाम्रो समाजः एक अध्ययन. तेस्रो संस्क. ¬काठमाडौं: साझा प्रकाशन ।
शान्ति, सुरभ. (२०३३). हाम्रो संस्कृतिः एक सिंहावलोकन. काठमाडौं: साझा प्रकाशन .
श्रीस मगर, मीन. (२०७०). मगर समाजमा प्रचलित लोकगीतिनाट्य घाटुको विश्लेषण. शोधमाला, ७ (२), पृ. ४८–७७ ।
–––.(२०७४).बुद्ध, बौद्ध दर्शन, बौद्ध सम्पदाहरू र मगर जातिको संस्कार विधि. काठमाडौं: मगर अध्ययन केन्द्र ।
–––.(२०७५). चाडवाडहरूको समाजशास्त्रीय विश्लेषण. ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान । 
Gurung, O. P. (1999). Local institutions, cultural practices and resource management in a mountain village of west Nepal. In R. B. Chhetri & Om P. Gurung (eds.), Anthropology and Sociology of Nepal, (pp. 251-274). Kathmandu: SASON.
Advertisment