राष्ट्रिय मौलिक कौरा पत्रकारिता पुरस्कार छनौट समिति गठन

पोखरा, ६ जेठ
राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित एवं नेपाल मगर पत्रकार संघ कास्कीद्वारा सञ्चालित “राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७६”का लागि प्रतिभा छनौट समिति गठन भएको छ ।
नेपाल मगर पत्रकार संघ, कास्कीको आइतबार बसेको बैठकले संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरको संयोजकत्वमा पाँच सदस्यीय प्रतिभा छनौट समिति गठन गरेको हो ।
छनौट समितिमा राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्क आलेमगर, नेपाल मगर संघ, म्याग्दे गाउँपालिका, तनहुँकी अध्यक्ष नरमाया आलेमगर तथा नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगर र सचिव उमा आलेमगर पदेन सदस्य रहनुभएको छ ।
सो पुरस्कार यही जेठ २५ गते वितरण गरिने राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालकी उपाध्यक्ष तारामाया थापामगरले जानकारी दिनुभयो । मगर जातिको मौलिक सांस्कृतिक चिनारीका रुपमा रहेको कौरा नाचको संरक्षण एवं प्रचारप्रसारका लागि पत्रकारितामा क्रियाशील पत्रकारलाई हौसलास्वरुप यो पुरस्कार स्थापना गरिएको उपाध्यक्ष थापामगरले बताउनुभयो ।
राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालको स्थापना दिवस जेठ १५ गतेको सन्दर्भमा यो पुरस्कार हरेक वर्ष प्रदान गरिने हिसाबले गत वर्षदेखि सुरुवात गरिएको हो । बैठकमा नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगरले संगठनलाई क्रियाशील बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको थियो ।

Advertisment