लाफा रूङ शान्ति बगैंचाको उपराष्ट्रपतिद्वारा शिलान्यास

काठमाडौं, ६ जेठ
काठमाडौंको चन्द्रागिरि नगरपालिका–१, दहचोक, मगर गाउँमा बौद्ध स्तूपासँगै विशाल बुद्ध र हजार बुद्ध मूर्ति एवं सांस्कृतिक संग्रहालयसहित लाफा रूङ शान्ति बगैंचा निर्माण गरिने भएको छ ।
२५६३ औं बुद्ध जयन्तीका अवसरमा उपराष्ट्रपति नन्दकिशोर पुन “पासाङ”ले सो बगैंचाको शिलान्यास गर्नुभयो । लाफा रूङ फाउण्डेशनले निर्माण गर्न लागेको शान्ति बगैंचाको शिलान्यास गर्दै उपराष्ट्रपति पासाङले बगैंचा निर्माणले काठमाडौं आउने पर्यटकका लागि अर्को गन्तव्य बन्ने उल्लेख गर्नुभयो ।
धार्मिक तथा ऐतिहासिक रुपले महत्वपूर्ण दहचोकमा बन्न लागेको शान्ति बगैंचा पर्यटकका लागि नयाँ आकर्षक गन्तव्य बन्ने धारणा व्यक्त गर्दै उपराष्ट्रपति पासाङले निर्धारित समयमै निर्माण सम्पन्न गर्नका लागि आग्रह गर्नुभयो । शान्ति बगैंचा निर्माणका लागि सरकार र निजी क्षेत्र सबैको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा प्रदेश नं. ३ का प्रदेश सांसद्द्वय रमा आलेमगर र केशव पोखरेल, उपराष्ट्रपतिका जनसम्पर्क सल्लाहकार कपुर श्रेष्ठ, नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत, नागार्जुन नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रमेश गौतम, चन्द्रागिरि नगरपालिका वडा नं. १ का वडाध्यक्ष राजेन्द्र केसी, वरिष्ठ समाजसेवी इन्दिरा रानामगर, नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनमगरलगायतले नयाँ पर्यटकीय गन्तव्यका रुपमा लाफा रूङ शान्ति बगैंचालाई विकास गर्न सकिने भनाइ राख्नुभएको थियो ।
लाफा रूङ फाउण्डेशनका अध्यक्ष लंकमान रोकामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्य रक्षाबहादुर रैकामगर र फाउण्डेशनका सचिव संस्कृतिविद् डा. मीन श्रीसमगरले बगैंचा निर्माणको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा शान्ति बगैंचा निर्माणका लागि सहयोग गर्ने चन्दादाता एवं अन्य सहयोगीहरूलाई सम्मान समेत गरिएको थियो ।
नेपालसहित विदेशमा कार्यरत नेपालीहरूको सामूहिक लगानीमा स्थापित लाफा ग्रुप लिमिटेडले सोही स्थानमा विभिन्न व्यवसायिक परियोजनाहरू समेत अघि बढाएको छ । जसमध्ये लाफा भिलेज, लाफा भिलेज रिसोर्ट रहेका छन् । त्यस्तै, लाफा होलिडेज (ट्राभल्स), लाफा मिडिया (लाफाखबर डटकम)लगायत रहेको र अन्य व्यवसायिक परियोजनाका लागि अध्ययन भइरहेको समेत लाफा ग्रुपकी अध्यक्ष चन्द्रज्योति आलेमगरले जानकारी दिनुभयो ।

Advertisment