दगाईं श्रीस मगरको कुल पूजामा डीएसपी श्रीस सम्मानित

गलकोट, ५ जेठ
बागलुङको गलकोट नगरपालिका वडा नं. ६, ठूलाथरका गौतम गोत्रीय दगाईं श्रीस मगरहरूको कुल पूजा सम्पन्न भएको छ । हरेक दुई/दुई वर्षमा हुने कुल पूजा यसपाली फरक कार्यक्रमसहित जेठ २ गते बिहीबार सम्पन्न भएको हो ।
कुल पूजाका अवसरमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चन्द्रकुमार श्रीसमगर सम्मानित हुनुभयो । प्रहरी नायब उपरीक्षक श्रीसमगरलाई दगाईं श्रीस मगर भाइ समाजका ज्येष्ठ सदस्य ह. टेकबहादुर श्रीसमगरले सम्मान गर्नुभएको हो ।
त्यसैगरी, सो अवसरमा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक गणेश श्रीसमगर, नेपाली सेनाका अवकाशप्राप्त सुबेदार गणेश श्रीसमगर पनि सम्मानित हुनुभयो । कार्यक्रममा दगाईं श्रीस मगर भाइ समाजका अध्यक्ष मोहनप्रसाद श्रीसमगर, दगाईं श्रीस मगरहरूका धर्मगुरु धनबहादुर श्रीसमगर, दगाईं श्रीस मगरको कुल मन्दिरका लागि जग्गा दान गर्ने जग्गादाता स्व. मुखिया हिराबहादुर श्रीसमगरका सुपुत्र टेकबहादुर श्रीसमगर, श्रीस साउण्ड एण्ड भिडियो, पोखराका सञ्चालक, वरिष्ठ क्यामरापर्सन दानबहादुर श्रीसमगरलाई पनि सम्मान गरिएको थियो ।
साथै, सो अवसरमा ब्रिटिश गोर्खा वेल्फेयर, पोखराका मेडिकल अधिकृत शमशेर श्रीसमगर, नेकपाका युवा नेता एवं होटल व्यवसायी यामबहादुर श्रीसमगर, भारतको सिलिगुडीनिवासी भारतीय सेनाका अवकाशप्राप्त सुबेदार सुदाम श्रीसमगर, देहरादूननिवासी सूर्यबहादुर श्रीसमगर, क्यानाडानिवासी प्रेमबहादुर श्रीसमगर, अष्ट्रेलियानिवासी विनोद श्रीसमगर, बेलायतनिवासी खेमबहादुर श्रीसमगर, भैरहवानिवासी लक्ष्मणकुमार श्रीसमगर, भाइ समाजका सचिव यामबहादुर श्रीसमगर पनि सम्मानित हुनुभयो । ज्येष्ठ सदस्यहरू रत्नकुमारी श्रीसमगर, धनचन्द्रा श्रीसमगर, हरिमाया श्रीसमगर, जमुना श्रीसमगरलगायतलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।
दगाईं श्रीस मगर भाइ समाजका अध्यक्ष मोहनप्रसाद श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार रूद्रबहादुर श्रीसमगरले गर्नुभएको थियो । कार्यक्रममा कुल मन्दिरमा पूजा र भेटीबापत संकलित ६ हजार ६ सय ६५ रुपैयाँ र सहयोगबाट उठेको ४९ हजार ९ सय १६ रुपैयाँ गरी जम्मा ५६ हजार ५ सय ८१ रुपैयाँ नगद संकलन भएको समेत जानकारी गराइएको थियो । दगाईं श्रीस मगरहरूले कुल पूजामा भेडा बलि दिने गर्दछन् । यस वर्ष २७ वटा भेडाको बलि दिइएको भाइ समाजका कोषाध्यक्ष चित्रबहादुर श्रीसमगरले जानकारी दिनुभयो ।

Advertisment