मृगौलापीडित डिलमायालाई ४/४ जीआर भूपू सैनिक परिवारको सहयोग

पोखरा, ३० वैशाख
साबिक भोक्सिङ देउराली गाबिस, हाल महाशिला गाउँपालिका–२, पुख्र्यौली घर भइ हाल पोखरा–१४, भेडीफारमनिवासी सुबेदार लालबहादुर गुरुङका ४२ वर्षीया धर्मपत्नी डिलमायाको उपचारार्थ ४/४ जीआर (मण्डले बटालियन)ले बिहीबार सहयोग रकम हस्तान्तरण गरेको छ ।
सु. लालबहादुर गुरुङका धर्मपत्नी डिलमाया गुरुङको दुवै मृगौलाले काम गर्न छाडेकाले हाल राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा १८ महिनादेखि डायलसिस गरिँदै आएको परिवार स्रोतले जनाएको छ । ४/४ जीआर भूपू सैनिक संघ पोखराको पहलमा संघमा आबद्ध सम्पूर्ण भूपूहरू, मण्डले बटालियनलगायतका मनकारी व्यक्तिहरूको सहयोगमा सङ्कलित रकम उहाँकै निवासमा पुगी ४/४ जीआर परिवारले हस्तान्तरण गरेको हो ।
मण्डले परिवारका अध्यक्ष क्या. बुद्धिमान गुरुङ, सचिव सु.मे. लिलबहादुर गुरुङ, कोषाध्यक्ष क्या. दिलबहादुर थापा र ४/४ जीआर परिवार पोखराका सदस्यहरुको उपस्थितिमा परिवारद्वारा संकलित ५ लाख, १५ हजार दुई सय ७० रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । संस्थाको सामाजिक सञ्जालबाट गरिएको आह्वानमा आजसम्म संकलित रकम हस्तान्तरण गरिएको र अझै थप रकम आउनेक्रम जारी रहेको सु. डिलबहादुर गुरुङले बताउनुभयो । दुई साल अगाडि स्थापित ४÷४ जीआरले यस्तै समस्यामा परेका परिवारलाई सहयोग गर्ने उद्देश्य रहेको जनाएको छ भने रकम हस्तान्तरण कार्यक्रममा उपस्थित संस्थाका सदस्यहरुले पीडित डिलमाया गुरुङको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग दाताहरूलाई धन्यवाद समेत प्रकट गरेका थिए ।

Advertisment