मगर संस्कृति बुझ्न मिस मगर टोली तनहुँको रघु होम स्टेमा

पोखरा, २९ वैशाख
‘मिस मगर नेपाल–२०१९’ का प्रतियोगीहरू शुक्रबार मगर संस्कृतिबारे प्रत्यक्ष जानकारी लिन र बुझ्न तनहुँको भिमाद नगरपालिका–२, रघुस्थित मगर होम स्टे पुगेका छन् । एक वर्ष अघिदेखि सुरु भएको रघु मगर होम स्टेमा पुगेका उनीहरूले मगर भाषाबारे चासो दिए भने स्थानीय मगर संस्कृतिमा रमाए पनि ।

मगर नृत्य “कौरा”मा रमाउँदै ।

त्यहाँ उनीहरूले मौलिक खानाका परिकारको स्वादसँगै कौरा, झ्याउरे र दोहोरीको मजा पनि लिए । होम स्टेका अगुवाहरूसँग उनीहरूले मगर परम्परा र संस्कृतिका बारेमा अन्तरक्रिया समेत गरे । शनिबार होम स्टेमा आयोजित अन्तरक्रियामा मिस मगर नेपाल–२०१९ का कार्यक्रम निर्देशक एवं एसटी क्रियशनका प्रबन्ध निर्देशक सुरज थापामगरले मिस मगरका प्रतियोगीलाई मगर संस्कृतिको प्रत्यक्ष अनुभव गराउन अध्ययन भ्रमणमा आएको जानकारी दिनुभयो । मगर भाषा र संस्कृतिप्रति युवापुस्ताको चासो बढाउन र प्रतिभाशाली मगर युवतीहरूलाई प्रतिभा प्रस्फुटनको मञ्च प्रदान गर्न मिस मगरको आयोजना गरिएको थापामगरले जानकारी दिनुभयो ।
मिस मगरका अभियन्ता एवं पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष शिव थापामगरले नयाँ पुस्तामा मगर भाषा र संस्कृतिबारे चासो जगाउन फरक खालको सौन्दर्य प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । मगर युवतीहरूको प्रतिभा प्रस्फुटन र मगर संस्कृतिको प्रवद्र्धनका लागि समेत मिस मगर नेपाल एउटा राम्रो अवसर भएको उहाँको भनाइ छ । रघु सामुदायिक होम स्टे व्यवस्थापन समितिका अध्यक्ष टुकबहादुर रानामगरले दोस्रो पाहुना टोलीका लागि रुपमा मिस मगर टोलीलाई स्वागत गर्न पाउँदा निकै खुशी लागेको उल्लेख गर्नुभयो । होम स्टेबारे प्रचारप्रसार गरिदिन आग्रह गर्दै उहाँले भर्खर सुरुवात गरेको होम स्टे भएकाले केही कमी कमजोरी भए औंल्याइदिन आग्रह पनि गर्नुभयो ।
मिस मगर नेपाल–२०१९ का तालिम संयोजक रूद्र श्रीसमगरले रघु होम स्टेमा आउनुको उद्देश्य सफल भएको भनाइ राख्नुभयो । होम स्टेलाई अझै व्यवस्थित गर्दै अघि बढाउन सुझाव दिँदै श्रीसमगरले मिस मगर एउटा सौन्दर्य प्रतियोगिता मात्र नभइ मगर भाषा र संस्कृति प्रवद्र्धनको फरक खालको अभियान भएको समेत बताउनुभयो । मिस मगर प्रतियोगीहरूले अध्ययन तथा अवलोकन भ्रमण निकै फलदायी भएको बताए । पहिलोपटक फरक अनुभव गर्न पाएकोमा दंग पर्दै उनीहरूले मगर भाषा र संस्कृतिलाई नजिकबाट नियाल्न पाएकोमा खुशी व्यक्त गरे ।


२०७५ सालदेखि औपचारिक सञ्चालनमा आएको रघु सामुदायिक होम स्टेमा कोदोको रोटी, भुटेको मकै भटमास, मकैको भात, कोदोको ढिंडो, गुन्द्रुक, कोइरालोको अचार, मोही, शुद्ध कोदोको रक्सी, माछाको परिकारलगायत अर्गानिक खानाको स्वाद लिन पाइन्छ भने अकलादेवी, मनकामना, कान्छी बाराही, छाब्दी बाराही, कोटभैरवको दर्शन पनि गर्न पाइन्छ ।
दोस्रो विश्वयुद्धका भिक्टोरिया क्रस बिजेता नेत्रबहादुर थापामगरको जन्मथलो समेत रहेको रघुमा घाँटु, कौरा, झ्याउरे, सालैजो, नचरी र दोहोरीमा रमाउन पाइन्छ । प्रायः सबै किसिमका खेतीपाती गरिने रघुमा ३२४ घरधुरीको बसोबास रहेको छ । जसमा ८६ प्रतिशतभन्दा बढी मगर समुदायको बसोबास छ । सुरुमा १४ वटा घरबाट सुरु गरिएको होम स्टे हाल ३१ वटा घरमा सञ्चालित छ ।


एस.टी. क्रियशनको आयोजनामा हुन लागेको ‘मिस मगर नेपाल–२०१९’ मिस मगर प्रतियोगिताको चौथो संस्करण हो । यसअघि, सन् २०११ मा पहिलोपटक ‘मिस मगर पोखरा’को नामबाट यस प्रतियोगिताको सुरुवात भएको हो । अन्नु थापामगरले प्रथम मिस मगर पोखराको ताज पहिरिन सफल भएकी थिइन् । त्यसपछि, दोस्रो मिस मगर–२०१२ को ताज रञ्जना थापामगर र मिस मगर नेपाल–२०१४ को ताज उषा पाइजामगरले पहिरिन सफल भएकी थिइन् ।
सुस्मिता पुनमगरले कोरियोग्राफी गर्दै गरेको यसपटकको मिस मगर नेपाल–२०१९ का लागि १० जना प्रतियोगी ग्राण्ड फिनालेमा भिड्दैछन् । ग्राण्ड फिनालेको तयारीका लागि उनीहरूले विभिन्न विषयमा तालिम समेत लिइरहेका छन् । आगामी जेठ १० गते हुने ग्राण्ड फिनालेमा मगर जातिको मौलिक सांस्कृतिक प्रस्तुतीहरू समेत राखिने कार्यक्रम संयोजक इनिशा दुरामगरले जानकारी दिनुभयो ।

 

Advertisment