तीन दिने गुरुङ भाषा तथा लिपि प्रवद्र्धन तालिम सुरु

पोखरा, २७ वैशाख
तमु प्ये ल्हु संघ, केन्द्रीय समितिको आयोजनामा पोखरामा तीन दिने गुरुङ भाषा तथा लिपि प्रवद्र्धन तालिम सुरु भएको छ । पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा सो तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य राधिका शाहीले मातृभाषा संरक्षणमा महिलाको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । सबै समुदायको पहिचानको संरक्षण गर्दै राज्यलाई समृद्धिको दिशामा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले तमु महिलाहरूलाई मातृभाषा संरक्षणमा अग्रसर बनाउन तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी टु तमुले तमु भाषाको प्रयोग हराउँदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्दै आफ्ना सन्तानलाई मातृभाषा बोल्न सिकाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, संघका पूर्व केन्द्रीय अध्यक्ष क्या. रुपबहादुर गरब्ज तमुले हरेक समाजमा भाषा संरक्षणको अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
तमु प्ये छ्या संकलन, लेखन तथा प्रकाशन समितिका संयोजक ले. इन्द्रबहादुर तमुले भाषा कुनै पनि जातिको पहिचान भएको बताउनुभयो । तमु प्ये ल्हु संघ, केन्द्रीय आमा समितिकी अध्यक्ष पुष्पा तेल्मे तमुले मातृभाषा सिकेर प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो । केन्द्रीय बोन्पो लम समितिका अध्यक्ष गंगबहादुर क्रोंगी लम तमु, तमु प्ये ल्हु संघ, कास्कीका प्रथम उपाध्यक्ष निम प्हच्यु तमु, पैयूँखोला तमु समाजका अध्यक्ष बलबहादुर कोन्मे तमुले मातृभाषा संरक्षणका लागि तालिम सहयोगी हुने आशा व्यक्त गर्नुभयो ।
तमु प्ये ल्हु संघकी केन्द्रीय महासचिव शान्ति पर्जु तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन केन्द्रीय कोषाध्यक्ष कञ्चन ल्हेंगे तमु र सदस्य इन्द्रा तमुले स्वागत गर्नुभएको थियो । वैशाख २९ गतेसम्म सञ्चालन हुने तालिमको पहिलो दिन खड्ग प्हच्यु तमुले लिपि तथा तमु भाषाको पृष्ठभूमिबारे सहजीकरण गर्नुभएको छ ।
त्यस्तै, दोस्रो दिन शनिबार कञ्चन ल्हेंगे तमुले तमु भाषामा गाउँ ठाउँको पहिचान, तेज च्हाक्ली तमुले तमु क्युई र चों क्युईबीचको इतिहास तथा अन्तरसम्बन्ध एवं शान्ति पर्जु तमुले भाषा लेखन तथा आदानप्रदानका बारेमा सहजीकरण गर्नुहुनेछ । त्यसैगरी, तालिमको तेस्रो तथा अन्तिम दिन बुद्धिप्रसाद च्हम्रु तमुले तमु भाषा लेखन शैलीबारे सहजीकरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

Advertisment