उपचारका लागि सहयोग गर्न मृगौलापीडित ताराको याचना

पोखरा, २७ वैशाख
पोखरा महानगरपालिका वडा नं. १४, भेडीफारम, शान्तिटोलनिवासी ४३ वर्षीया तारा विकले उपचारका लागि सहयोगको याचना गर्नुभएको छ । दुवै मृगौला खराब भइ विगत तीन वर्षदेखि डायलासिस गराउँदै आउनुभएकी ताराले आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै सहयोगको याचना गर्नुभएको हो ।
उहाँका श्रीमान् नरबहादुर विकले जग्गाको काम गर्दै आएपनि यतिबेला भने खासै कमाइ नभएको मृगौलापीडित ताराले बताउनुभयो । आफूले ज्यामी काम गरेर पाँच जना छोराहरूको पालनपोषण र पढाइ खर्च जुटाउनुपर्ने बाध्यता भएको बताउँदै त्यसमाथि रोगी शरीरले गर्दा आर्थिक बोझ अझै थपिँदै गएको उहाँको भनाइ छ ।
हाल पोखराको लखनचोकस्थित गण्डकी मेडिकल कलेजमा दुवै मृगौलाको डाइलासिस गराउँदै आउनुभएकी तारा रगत जाँच गर्दा मासिक ५÷६ हजार र औषधी खर्च मासिक २५÷२६ हजार खर्च आउने मृगौलापीडित ताराले जानकारी दिनुभयो । उपचारमा आफ्नो मान्छेले सहयोग नगरेकोमा उहाँको गुनासो छ । पैसाको जोहो गर्न सके मृगौला फेर्ने उहाँको धोको छ । तारालाई सहयोग गर्न चाहने व्यक्ति वा संस्थाले ताराको मोबाइल नं. ९८२४१६२२१४ र श्रीमान् नरबहादुरको मोबाइल नं. ९८४६२८८०९३ मा सम्पर्क गर्न सक्नेछन् ।

Advertisment