नेपाल विद्युत प्राधिकरणको निर्वाचनमा कर्मचारी युनियन विजयी

पोखरा, १९ वैशाख
नेपाल विद्युत प्राधिकरणमा आधिकारिक कर्मचारी ट्रेड युनियनका लागि भएको निर्वाचनमा नेपाल राष्ट्रिय कर्मचारी युनियन विजयी भएको छ । आज भएको निर्वाचनमा १ हजार ३ सय ३८ मतान्तरले कर्मचारी युनियन आगामी दुई वर्षका लागि विजयी भएको हो ।
निर्वाचनमा विजयी कर्मचारी युनियनले ४ हजार ७ सय २७ मत प्राप्त ग¥यो भने निकटतम प्रतिद्वन्द्वी कर्मचारी संघले ३ हजार ३ सय ८९ मत प्राप्त गरेको नेपाल विद्युत प्राधिकरणको निर्वाचन समितिले जनाएको छ । मतदान भएका केही मत बदर भएको समेत जनाइएको छ । आधिकारिक कर्मचारी ट्रेड युनियनको निर्वाचनका लागि आज बिहान ९ बजदेखि बेलुकी ४ बजेसम्म मतदानको समयसीमा तोकिएको थियो ।
निर्वाचनमा मतदानका लागि देशभरिका ८ हजार ५ सय प्राधिकरणका कर्मचारी मतदाता थिए । निर्वाचनका लागि पोखरामा दुई मतदान केन्द्रमा प्राधिकरणका कर्मचारीहरूले मतदान गरेका छन् । मालेपाटनस्थित पोखरा वितरण केन्द्र र लेखनाथको तालचोकस्थित लेखनाथ वितरण केन्द्रमा मतदानको व्यवस्था गरिएको थियो ।
मतदानका लागि लेखनाथ वितरण केन्द्रमा पोखरा ग्रीड शाखा, कोत्रे पोल प्लान्ट, दमौली–पोखरा प्रसारण लाइन आयोजना २२० केभी र लेखनाथ वितरण केन्द्रका १ सय १० जना मतदाता रहेको नेपाल विद्युत प्राधिकरण, नेपाल राष्ट्रिय कर्मचारी युनियनकी निर्वाचन बुथ प्रतिनिधि किरण पाण्डे चौधरीले जानकारी दिनुभयो । निर्वाचनमा राष्ट्रिय कर्मचारी युनियन, कर्मचारी संघ र कर्मचारी परिषद्बीच प्रतिस्पर्धा भएको साथै, निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको कर्मचारी संघका गण्डकी धौलागिरि क्षेत्रीय सचिव नारायणप्रसाद रिजालले जानकारी दिनुभयो ।

Advertisment