गायक उमेशले सम्हाले तराना म्यूजिकको नेतृत्व

पोखरा, १६ वैशाख
पोखराका प्रतिष्ठित गायक एवं संगीतकार श्रीमान थुलुङले सञ्चालन गर्दै आएको संगीत पाठशाला “तराना म्यूजिक सेन्टर”को नेतृत्व गायक उमेश राईले सम्हाल्नुभएको छ । स्कुटर दुर्घटनामा परी संगीतकार थुलुङको निधन भएपछि थुलुङको उत्तराधिकारीका रुपमा गायक उमेशले तराना म्यूजिकको नेतृत्व सम्हाल्नुभएको हो ।

गायक उमेश राई

तराना म्यूजिककै संगीत प्रशिक्षार्थीका रुपमा आफ्नो प्रशिक्षण पूरा गरी प्रशिक्षण सहायकका रुपमा समेत काम गरिसकेका गायक उमेशले तरानाको नेतृत्व सम्हालेसँगै स्व. थुलुङकी धर्मपत्नी विमला राई संरक्षकका रुपमा रहनुहुनेछ । त्यस्तै, तराना म्यूजिक सेन्टरको सल्लाहकारका रुपमा व्यवसायी एवं पूर्वाञ्चल सेवा समाज, पोखराका अध्यक्ष डीबी राई रहनुभएको छ भने तराना म्यूजिक सञ्चालन सहयोगीका रुपमा स्व. थुलुङकी छोरी गायिका स्मृति राई र दिपेश श्रेष्ठ रहनुहुनेछ ।
तराना म्यूजिकको मुख्य प्रशिक्षकका रुपमा अमर थापा रहने सञ्चालक गायक उमेशले बताउनुभयो । “स्व. श्रीमान गुरुको सपना पूरा गर्न मैले तराना म्यूजिकको नेतृत्व लिएको हुँ”, गायक उमेशले भन्नुभयो, “उहाँको परिवारको आग्रहलाई मैले सहज रुपमा स्वीकार गरेको हुँ ।” संगीतकार श्रीमान थुलुङलाई यति छिटै गुमाउनुपर्दा पोखरा मात्र नभइ सिंगै नेपाली संगीतका लागि उहाँको निधनले अपूरणीय क्षति पुगेको गायक राईले बताउनुभयो ।
संगीतकार स्व. श्रीमान थुलुङले तराना म्यूजिक सेन्टरको सञ्चालन गरी सयौं प्रशिक्षार्थीलाई संगीत प्रशिक्षण दिनुभएको थियो भने हरेक वर्ष “तराना सांगीतिक साँझ”को आयोजना गरी नयाँ प्रतिभाका लागि मञ्च समेत प्रदान गर्दै आउनुभएको थियो । थुलुङको निधन भएपछि बन्द भएको तराना म्यूजिक गायक राईले नेतृत्व सम्हालेसँगै गत बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ ।

Advertisment