लाफा ग्रुपद्वारा लाफा होलिडेज प्रालिको शुभारम्भ

काठमाडौं, ४ वैशाख
देश तथा विदेशमा रहेका नेपालीहरूको सामूहिक लगानीमा स्थापित कम्पनी लाफा ग्रुप लिमिटेडले नयाँ व्यवसायिक योजना अघि बढाएको छ । लाफा भिलेज परियोजनामार्फत् आफ्नो रियलस्टेटको पहिलो व्यवसायिक परियोजना सुरु गरेको लाफा ग्रुपले नयाँ व्यवसायका रुपमा ट्राभल व्यवसाय सुरु गरेको हो ।
लाफा ग्रुप लिमिटेडको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर रहने गरी लाफा होलिडेज प्रालि बुधबारदेखि औपचारिक रुपमा शुभारम्भ गरिएको हो । सो कम्पनीको औपचारिक रुपमा शुभारम्भ गर्दै लाफा ग्रुपका सल्लाहकार समेत रहनुभएका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य लंकमान रोकाले छोटो समयमै लाफा ग्रुपले विश्वसनीयता कमाउँदै जान थालेको बताउनुभयो ।
लगानीकर्ताको लगानीलाई सुनिश्चित गर्दै सम्भाव्य क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले लगानीका हिसाबले नेपाल उर्वर भूमि भएको भन्दै लाफा ग्रुप कम्पनीले आफूलाई विश्वसनीय एवं अग्रणी लगानीकर्ताका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । वरिष्ठ उद्योगी एवं व्यवसायी रोकाले विशेषगरी, लगानी गर्दा उत्पादनमूलक क्षेत्रलाई विशेष जोड दिन आग्रह समेत गर्नुभयो ।


लाफा ग्रुप लिमिटेडकी अध्यक्ष चन्द्रज्योति आलेले कम्पनीले आफ्ना लगानीकर्तालाई विश्वास दिलाउँदै नयाँ नयाँ व्यवसायिक परियोजनाहरू सुरु गर्न लागेको जानकारी दिनुभयो । अध्यक्ष आलेका अनुसार लाफा भिलेज, लाफा होलिडेज प्रालिसँगै लाफा भिलेज रिसोर्ट प्रालि समेत अघि बढ्दैछन् भने मिडिया एवं वित्तीय क्षेत्रमा समेत लगानी गर्ने योजनामा कम्पनी रहेको छ ।
काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा मुख्य कार्यालय रहने लाफा होलिडेज प्रालिमा लाफा ग्रुप लिमिटेड र सर्वसाधारणका तर्फबाट लाफा होलिडेजका अध्यक्ष जीवन थापामगरसहित नवीन थापामगर (जापान), नेत्र पहराई (हङकङ), नीता थापा (हङकङ), सुशीला थापा (दक्षिण कोरिया), समिता बराल र लालबहादुर आले (सिंगापुर)ले लगानी गर्नुभएको छ ।

Advertisment