पत्रकार महासंघ गण्डकी प्रदेशले मिडिया सम्मेलन गर्ने

पोखरा, २ वैशाख
नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिले प्रदेशस्तरीय मिडिया सम्मेलन गर्ने भएको छ । कास्कीको पोखरा–२२, कालाबाङ घरेडी सामुदायिक होम स्टेमा सम्पन्न प्रदेश समिति बैठकले यही वैशाख १२, १३ र १४ गते पोखरामा मिडिया सम्मेलन गर्ने निर्णय गरेको अध्यक्ष त्रिभुवन पौडेलले जानकारी दिनुभयो ।
अध्यक्ष पौडेलका अनुसार नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको सभाहलमा हुने मिडिया सम्मेलनमा विभिन्न पाँच वटा विषयमा विज्ञ व्यक्तिहरूसँग अन्तरक्रियात्मक छलफल गरिनेछ । जस अन्तर्गत संस्कृति, खेलकुद, पर्यटन, राजनीति र अर्थका विषयमा अन्तरसंवाद हुनेछ । मिडिया सम्मेलन सफल पार्नका लागि बैठकले विभिन्न उपसमिति समेत गठन गरी जिम्मेवारी बाँडफाँड गरेको छ ।
यसैबीच, बैठकले पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईलगायत भट्टराई परिवारले आफ्ना बुबा आमा स्व. रूद्रबहादुर भट्टराई र आमा पूर्णकुमारी भट्टराईका नाम स्थापित “रूद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार अक्षयकोष”बाट प्रदान गरिने “रूद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार”का लागि प्रतिभा छनौट समिति समेत गठन गरेको छ । बैठकले अक्षयकोष र पुरस्कारसम्बन्धी निर्देशिका समेत पारित गरेको छ ।
छनौट समितिका सदस्यहरूमा अध्यक्ष र महासचिव पदेन सदस्य रहने गरी पुरस्कारका संस्थापक पर्यटन व्यवसायी गोपीबहादुर भट्टराई, महासंघको प्रदेश समितिका सल्लाहकार रवीन्द्र बाँस्तोला र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापा रहनुभएको छ । छनौट समितिको बैठकले संयोजक तोक्नेछ भने प्रदेश समितिका महासचिव सदस्य सचिव रहनेछन् । पुरस्कार स्व. रूद्रबहादुर भट्टराईको जन्म दिनका अवसरमा हरेक वर्ष वैशाख १८ गते प्रदान गरिने महासचिव गणेश पौडेलले जानकारी दिनुभयो ।

Advertisment