नयाँ वर्षमा बागलुङ समाज पोखराको भित्तेपात्रो लोकार्पण

पोखरा, १ वैशाख
बागलुङ समाज पोखराले नयाँ वर्ष २०७६ को भित्तेपात्रो लोकार्पण एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार आयोजित कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद् इन्द्रलाल सापकोटाले राजनीति सफा नभएसम्म देश विकासले गति लिन नसक्ने भनाइ राख्नुभयो । देश विकासका लागि राजनैतिक प्रतिबद्धताले मात्र नपुग्ने भन्दै उहाँले अब भाषण नभइ व्यवहारमा उत्रने बेला आएको धारणा व्यक्त गर्नुभयो । बागलुङ जिल्लाको समग्र विकास र समृद्धिका लागि आफूहरूले प्रदेश सरकारलाई निरन्तर खबरदारी गरिरहेको भन्दै सांसद् सापकोटाले बागलुङको विकासका लागि सम्भावनाको खोजी गरी परिणाममुखी योजना बनाउनुपर्ने बताउनुभयो ।


अर्का प्रदेश सांसद् चन्द्रबहादुर बुढा “सागर”ले राजनैतिक क्रान्तिपश्चात् अहिले देश आर्थिक समृद्धिको यात्रामा अघि बढेको भन्दै विकासका लागि आरोप प्रत्यारोपमा उत्रने बेला नभएको उल्लेख गर्नुभयो । सबै राजनैतिक दल एकजुट भएर देश विकासमा लाग्नुपर्ने भन्दै उहाँले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो । सामान्य त्यागले देश विकास गर्न नसकिने कुरा उल्लेख गर्दै सांसद् सागरले निःस्वार्थ भावले देश विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
बागलुङ समाज पोखराका अध्यक्ष कुलचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डिल्लीप्रसाद शर्मा र उपाध्यक्ष सुनिल पाण्डेले स्वागत गर्नुभएको थियो ।

Advertisment