बारका नवनिर्वाचित उपाध्यक्ष थापामगरलाई केम्पो खुकुरीको सम्मान

पोखरा, २९ चैत्र
नेपाल बार एशोसिएसनको केन्द्रीय निर्वाचनमा सर्वाधिक मतसहित गण्डकी प्रदेशका तर्फबाट उपाध्यक्ष पदमा विजयी बनेका पोखराका प्रतिष्ठित कानून व्यवसायी अधिवक्ता सुरेन्द्र थापामगरलाई नेपाल केम्पो खुकुरी मार्शल आर्ट संघ, गण्डकी प्रदेश समितिले पोखरामा सम्मान गरेको छ ।


संघको प्रदेश समितिका कानूनी सल्लाहकार समेत रहेका नवनिर्वाचित बार उपाध्यक्ष थापामगरलाई संघको प्रदेश भेला तथा सम्मान कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष पूर्ण पाण्डेले दोसल्ला र बधाईपत्रसहित सम्मान गर्नुभएको हो । सम्मान ग्रहणपछि बोल्दै अधिवक्ता थापामगरले आफूलाई गरिएको सम्मानले गहु्रंगो जिम्मेवारीबोध भएको उल्लेख गर्नुभयो । संघका लागि आफ्नो तर्फबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
सो अवसरमा केम्पो खुकुरी मार्शल आर्टका केन्द्रीय अध्यक्ष पाण्डेले नेपालमा भित्रिएको नयाँ खेल केम्पो खुकुरी भएको भन्दै निकट भविष्यमा नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउने खेलका रुपमा विकास गरिने भनाइ राख्नुभयो । कार्यक्रममा गण्डकी प्रदेशका सांसद् इन्द्रधारा विष्ट, संघका केन्द्रीय सल्लाहकार शिव खकुरेल, सल्लाहकार पूर्ण लामा, कास्की जिल्ला अध्यक्ष अर्जुन केसीलगायतले केम्पो खुकुरी खेलको विकासका लागि पहिले संगठन विस्तारलाई जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
संघको प्रदेश भेलाले प्रदेश समिति सदस्यहरूमा विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी मनोनित समेत गरेको छ । त्यस्तै, विभिन्न जिल्लामा संयोजक र सचिवसहित तदर्थ समिति समेत भेलाले चयन गरेको प्रदेश अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । जस अन्तर्गत भेलाबाट लमजुङको संयोजकमा अनुज अधिकारी र सचिवमा टस गुरुङ, गोरखाको संयोजकमा शिव केसी र सचिवमा विकास नेपाली, स्याङ्जाको संयोजकमा प्रतीक्षा काफ्ले, पर्वतको संयोजकमा सन्तोष बस्याल र सचिवमा भोजराज चापागाईँ एवं गोरखाबाट प्रदेश सदस्यमा नरबहादुर राना, स्याङ्जाबाट प्रदेश सदस्यमा विष्णुमाया गुरुङ मनोनित हुनुभएको छ ।


सो अवसरमा प्रदेश समितिका नवनियुक्त सल्लाहकारहरू अधिवक्ता सुरेन्द्र थापामगरसहित पूर्ण लामा र राजकुमारी भुजेललाई स्वागत एवं सम्मान समेत गरिएको थियो । प्रदेश समितिका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव रूद्रबहादुर श्रीस र कोषाध्यक्ष कुञ्जनी प्यासीले स्वागत गर्नुभएको थियो ।

Advertisment