गलकोट समाज पोखराको भित्तेपात्रो लोकार्पित

पोखरा, २९ चैत्र
गलकोट समाज पोखराले नयाँ वर्ष २०७६ को अवसरमा शुभकामना आदानप्रदान तथा नयाँ वर्षको भित्तेपात्रो लोकार्पण गरेको छ ।
शुक्रबार आयोजित कार्यक्रममा बागलुङ समाज, पोखराका अध्यक्ष कुलचन्द्र शर्मालगायत समाजका सल्लाहकारहरूले संयुक्त रुपमा समाजले प्रकाशन गरेको भित्तेपात्रो लोकार्पण गरेका हुन् । सो अवसरमा बोल्दै बागलुङ समाज पोखराका अध्यक्ष शर्माले पछिल्लो समयमा सामाजिक भावना हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
एक आपसमा दुःख, सुख साटासाट गर्नका लागि यस्ता समाजहरूले महत्वपूर्ण सहयोग पु¥याउने बताउँदै शर्माले गलकोट पनि बागलुङकै हिस्सा भएकाले सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा समाजका संस्थापक अध्यक्ष निलप्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष हिराबहादुर खत्री, सल्लाहकार एवं नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका सचिव बमबहादुर छन्त्याल, सल्लाहकार रामप्रसाद पाण्डे, प्रभु बैंक, नयाँसडक शाखाका प्रबन्धक चेतनारायण गौतम, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्रबहादुर श्रीसलगायतले नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको थियो ।
समाजका अध्यक्ष मीनबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव पूर्वक खत्री र उपाध्यक्ष खडकबहादुर थापाले स्वागत गर्नुभएको थियो ।

Advertisment