उच्च शिक्षामा अब्बल बन्दै गोँगबुको सुप्रिम कलेज

काठमाडौं, २३ चैत्र । गुणस्तरीय शिक्षा प्रदानमा विशेष जोड दिँदै आएको काठमाडौंको सामाखुशीमा रहेको सुप्रिम कलेजले आफ्नो पाँचौ वार्षिकोत्सव सरसफाई, रक्तदान र उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत एवं सम्मान गरी मानाएको छ ।
क्याम्पस परिसरमा शुक्रबार आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा. डा. ऋदिसकुमार पोखरेलले सूचना प्रविधिको आधुनिक युगमा विश्वको जुनसुकै कुनामा गएर पनि रोजगारीका लागि प्रतिस्पर्धी हुन सक्ने गरी शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले प्रविधिलाई पछयाउँदै गुणस्तरीय शिक्षा दिन सक्नुपर्ने धारणा राख्नुभयो ।
त्रिवि उच्च शिक्षा सुधार आयोजनाका उपनिर्देशक डा. रामचन्द्र पोखरेलले शिक्षा समय सुहाउँदो हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । क्याम्पस प्रमुख वसन्त कटवालले क्याम्पसले विद्यार्थी र अभिभावको चाहना एवं समयको माग अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । यस्तै ९० घण्टा दुई मिनेट लगातार लामो भाषण गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा किर्तिमान कायम राख्न सफल अनन्तराम केसीले संसारमा सबैभन्दा ठूलो कुरा ज्ञान र विवेक भएको बताउँदै निश्चित उद्येश्य लिएमात्र जीवनमा सफल हुन सक्ने धारणा राख्नुभयो ।

सो अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरि कर्माचार्य, क्याम्पस प्रमुख वसन्त कटवाल, टोखा नगरपालिकाका वडा नं. १० का वडाअध्यक्ष मधुसुदन पाण्डेलगायतले वार्षिकोत्सवका अवसरमा आयोजित व्याडमण्टिन, टेबलटेनिस, निबन्ध, चित्रकलासहितका विविध प्रतियोगितमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार एवं प्रमाणपत्र वितरण गरिएको थियो । सो अवसरमा विविध सांस्कृतिक कार्यक्रम र सजाय एवं फेसबुक नामक नाटक प्रदर्शन गरिएको थियो ।
सो अवसरमा मानवीकतर्फ उत्कृष्ट अंक ल्याउने सहदेव न्यौपाने र दश जोड दुईतर्फ उत्कृष्ट अंक ल्याउने १२ कक्षाका नवीन श्रेष्ठलाई सुप्रीम गोल्डमेडल तथा क्याम्पसकी शिक्षिक सरीता क्षेत्रीले आफना स्वर्गीय मातापिताको स्मृतिमा स्थापना गर्नुभएको मीमी स्मृति पुरस्कार व्यवस्थापन तर्फ सर्वोत्कृष्ट अंक ल्याउन सफल सजिना खनेतलाई प्रदान गरिएको थियो ।

यसअघि वार्षिकोत्सवको अवसरमा विहिबार क्याम्पस परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा विद्यार्थी, शिक्षक र सर्वसाधारणलगायत ४४ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक रमेश अधिकारीले बताउनुभयो । क्याम्पस प्रमुख वसन्त कटवालले रक्तदातालाई ब्लड ब्याग दिएर कार्यक्रमको शुरुआत गर्नुभएको थियो । पाँचौ वार्षिकोत्सवका अवसरमा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीयवासीको सहभागितामा क्याम्पस वरपर, गोँगबु, सामाखुशी र टोखाका विभिन्न क्षेत्रमा सरसफाई गरिएको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक र सामाजिक अभियन्तासमेत सहभागी भएर घरदैलो, टोल, मन्दिर र सार्वजनिक स्थलमा सरसफाई गरिएको थियो ।

Advertisment