विप्लव समूहमा संलग्न नरहेको लामिछानेको स्पष्टोक्ति

पोखरा, २३ चैत्र
अखिल नेपाल सञ्चार छापाखाना तथा प्रकाशन मजदुर संघ, केबल मूल इकाई कमिटी, पोखराका अध्यक्ष नेत्र (मित्र) लामिछानेले आफू विप्लव समूहमा संलग्न नरहेको स्पष्टोक्ति दिनुभएको छ ।
लामिछानेले शनिबार एक विज्ञप्ति जारी गर्दै आफू अध्यक्ष पदमा क्रियाशील रहेको संघ हाल सत्तारुढ नेकपा र साबिक नेकपा (माओवादी केन्द्र)निकट संगठन रहेको भन्दै आफूले विप्लव नेतृत्वको नेकपा गत २०७४ साल पुस महिनामा नै परित्याग गरिसकेको उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा लामिछानेले रोजगारीका शिलशिलामा विगत २० वर्षदेखि पोखरा केबल टीभी नेटवर्क प्रालिमै कार्यरत रहेको र पेशागत हक, हितका निम्ति साबिक माओवादी केन्द्रनिकट अखिल नेपाल ट्रेड युनियन महासंघ मातहतको संघमा हालसम्म मूल इकाई अध्यक्षका रुपमा क्रियाशील रहँदै आएको प्रष्ट पार्नुभएको छ ।
साथै, लामिछानेले विज्ञप्तिमार्फत् आफूप्रति कहीँ कतै कोही पनि भ्रमित हुन आवश्यक नरहेको पनि बताउनुभएको छ । शान्तिपूर्ण राजनीतिमार्फत् नै देश र जनताको हितमा काम गर्न सकिने कुरामा आफू प्रतिबद्ध भएको र सत्तारुढ नेकपासँग आबद्ध रही क्रियाशील हुने कुरा समेत लामिछानेले उल्लेख गर्नुभएको छ ।

Advertisment