पर्यटकीय गन्तव्य स्थल : पारगुल्मी र भार्सेको संक्षिप्त चिनारी 

–डा. मीन श्रीस मगर

परिचय :
गुल्मी जिल्लाको पूर्वी क्षेत्र अर्थात बडीगाडदेखि पूर्वी र कालीगण्डकीदेखि पश्चिमी भू–भागलाई पारगुल्मी नामले चिनिन्छ । वि. सं. १७९५ भन्दा अघिसम्म पारगुल्मी स्वतन्त्र राज्यको रुपमा रहेको थियो । पाल्पाको उत्तरी सीमा भएर बग्ने कालीगण्डकीले पूर्वी गुल्मीको रुद्रवेणी भन्ने स्थानमा वडीगाडलाई आफूमा समाहित गरेको छ । कालीगण्डकी र बडीगाडको संगमस्थल रुद्रबेणीदेखि उत्तरीखण्ड अर्थात पारगुल्मी (कालीपार/कालीगण्डकीपारि) नै ऐतिहासिक मगर राज्य पार्कोट भएको बुझिन्छ । यो भेगलाई अहिले पनि पाल्पा र स्याङ्जातिर कालीपार भन्ने गरिन्छ भने बडीगाडदेखि पश्चिमका गुल्मेलीहरूले पारगुल्मी भन्ने गर्दछन् । बडीगाड र कालीगण्डकी पारिका डाँडाहरूमा यसै भेगका मगर राजाका कोट (गढी; दुर्ग; किल्ला) हरू स्थापना गरिएकाले पाल्पा, स्याङ्जा र बडीगाड पश्चिमका मानिसहरूले पारिको कोट भन्दाभन्दै कालान्तरमा उक्त राज्यलाई नै पार्कोट भन्न थालेको भनाइ रहेको छ (श्रीस मगर, २०७५: ३१) । Philippe Ramirez (2000) ले तयार पारेको ‘The Kingdoms of western Gandaki in the 18th century’ शीर्षक नक्सामा पारगुल्मी अर्थात् पार्कोट राज्यको राजधानी भार्से–अर्कुलमा रहेको देखाइएको छ भने ‘From the Principality to the Nation States: Gulmi, Argha-Khachi and the Gandaki Kingdoms’  शीर्षक लेखमा भार्से–अर्कुलमा मगर राजा रहेको परम्परागत लोककथनको उल्लेख गरिएको छ (पृ. १०९ र ११७) । पार्कोट मगर राज्यका बारेमा इतिहासविद् योगी नरहरिनाथ (२०३६), इतिहासकार डा. विष्णुप्रसाद घिमिरे (२०४५), गोपीनाथ शर्मा (२०७१) आदिले पनि सामान्य चर्चा गरेको पाइन्छ । चौवीसी राज्यहरू मध्ये सबैभन्दा शक्तिशाली र वि. सं. १८६३ सम्म स्वतन्त्र रहेको पाल्पा राज्यको इतिहासमा पार्कोटे मगर राज्यको प्रसंग जोडिएर आउँदछ । पार्कोटे मगर राजाकी छोरी सुवर्णमालासँग विवाह गरेका मुकुन्दसेन प्रथमकी आमा शकुनमाला पनि पार्कोटे मगर राजाकी छोरी थिइन् भन्ने वंशावलीमा उल्लेख गरिएको छ (घर्ती क्षत्री, २०६७: ४३) ।
यस्तो ऐतिहासिक महत्त्व बोकेको ऐतिहासिक पार्कोट राज्य अर्थात वर्तमान पारगुल्मी र त्यसको राजधानी भार्सेमा सम्भावित पर्यटकीय गन्तव्य स्थलहरू प्रशस्तै रहेका छन् । पारगुल्मीको प्रवेशद्वारको रुपमा रहेको प्रसिद्ध पवित्र तीर्थस्थल रुद्रवेणी भएर बग्ने कालीगण्डकी किनारको पदमार्गले प्राचीनकालदेखि नै उत्तरको तिब्बत चीन र दक्षिणको भारतलाई धार्मिक तथा व्यापारिक रुपमा जोड्ने गरेको पाइन्छ । व्यापारी र बौद्ध भिक्षुहरू उत्तर भारतबाट बुटवल र रिडी भएर कालिगण्डकी किनारैकिनार बेनी, मुस्ताङ हुँदै भोट (तिब्बत) जाने आउने गर्दथे । अहिले उत्तर भारतको नौतुनादेखि तिब्बतको कोरला जोड्ने कालीगण्डकी करिडोर सञ्चालनमा आइसकेको छ । त्यसकारण लुम्विनी आएका पर्यटकहरूलाई बुटवल–तानसेन–रिडी–रुद्रबेणीको बाटो पारगुल्मीका ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरू अवलोकन गराउँदै कालीगण्डकी करिडोरबाट वागलुङ–पोखरा वा वागलुङ–ढोरपाटन सिकार आरक्ष वा वागलुङ–बेनी–मुक्तिनाथ हुँदै जोमसोम यात्रा गराउन सकिने बलियो सम्भावना रहेको देखिन्छ । कालीगण्डकी करिडोर भएर यात्रा गर्नेक्रममा अन्न तथा तरकारीका उर्बर खेतबारीहरू, परम्परागत पहाडी गाउँबस्तीहरू, त्यहाँका मौलिक लोकसंस्कृति, ऐतिहासिक रानीमहल, पवित्र शालिग्राम, प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ, स्याउ वगैचा, चौरीखर्क, यार्सागुम्बा, दामोदर कुण्ड, टिलिचो ताल, अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि जस्ता हिमश्रृङ्खला आदि स्थान र बस्तुहरूको प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त हुन्छ ।
ऐतिहासिक एवं पुरातात्त्विक  महत्वका स्थलहरू :
पारगुल्मी मध्यकालीन वाइसी–चौवीसी राज्यहरू मध्येको एक राज्य हो । वर्तमान सत्यवती गाउँपालिकाको सम्पूर्ण भूभाग तथा चन्द्रकोट गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको केही भूभाग तत्कालीन पारगुल्मी राज्यमा पर्दथ्यो । तत्कालीन पारगुल्मी (पार्कोट) राज्यका दरबार, गढी एवं किल्लाका भग्नावशेषहरू अहिलेसम्म पनि देख्न सकिन्छ । उक्त राज्यको राजधानी भार्से गाउँको अर्कुल डाँडामा गृष्मकालीन दरबार, रानी कुवा, टुँडीखेल तथा फुर्सेथान डाँडामा शीतकालीन दरबार र गढीको भग्नावशेष रहेको छ । यसैगरी उत्तरी सीमाना चन्द्रकोट र दक्षिणी सीमाना हचिङकोट (लुम्पेक) मा क्षेत्रीय दरबार एवं गढीको भग्नावेशका अतिरिक्त अर्लाङकोट, शान्तिपुर, रुपाकोट, लिम्घाकोट, खड्गकोट, खसकोट, खारीकोट, सिर्कोट, हर्पालकोट आदि सुरक्षा किल्लाका भग्नावेशहरू रहेका छन् । पारगुल्मी राज्य तामा खानीका लागि निकै धनी थियो । राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालासम्म पारगुल्मीमा तामा खानी सञ्चालनमा रहेका थिए । ‘सोह्रखानी’ नामले चिनिने पारगुल्मीमा अधिकांश तामाखानी र केही सिसा (lead) खानीहरू थिए । अहिले पनि खानीका सुरुङहरू र आफर (खनिज प्रशोधन केन्द्र) का भग्नावशेषमा धाउ पगाल्दा निस्केका किटहरू देख्न सकिन्छ । यी ऐतिहासिक एवं पुरातात्त्विक  महत्वका स्थानहरूलाई जिर्णोद्दार, संरक्षण र प्रचारप्रसार गर्न सकिएमा अनुसन्धाता, विद्यार्थीका साथै आन्तरिक तथा वाह्य पर्यटकहरूको लागि आकर्षणको केन्द्रविन्दु बन्न सक्दछ ।
धार्मिक महत्त्वका स्थलहरू :
पारगुल्मीमा शाक्त, वैष्णव र शैव सम्प्रदायका देवदेवीका पूजाआजाको परम्परा पाइन्छ । खासगरी चैतेदसैं र बडादसैंमा पुराना हातहतियार राखिएका कोटघरहरूमा पशुपंक्षीको बलि चढाएर पूजा गरिन्छ । शाक्त सम्प्रदायका देवीलाई पुजिने यस्ता शक्तिपिठहरूलाई कोट, मौला, देवीथान, कालीकादेवी मन्दिर भन्ने गरिन्छ । जुनियाँ गाउँको जुनिया कोटमा बडादसैंको अवसरमा सरायँ खेल्ने र पूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्दछ भने भार्से गाउँको झुल्थुङ कालिका मन्दिरमा चैतेदसैंमा तीन दिनसम्म मेला लाग्ने गर्दछ । झुल्थुङ कालिकालाई वागलुङ कालिकाको प्रतीक स्वरुप (replica) मानिन्छ । यसैगरी कात्तिक पूर्णिमाका दिन पारगुल्मीको भार्से थामोडाँडा सत्यवती, हसराको बूढी सत्यवती, लुम्पेकको क्वाङ सत्यवती र ग्वाघाको कौरे सत्यवतीमा पूजाआजा गरी साँझ मारुनी नचाउने र झाम्रे बस्ने चलन रहेको छ । सत्यवती मन्दिर परिसरमा मारुनी नचाएर समापन गरेपछि आगामी वडादसैंसम्म मारुनी नाच बन्द गरिन्छ । अग्ला डाँडाहरूमा स्थापित सत्यवतीलाई पाल्पाकी सत्यवतीको प्रतीक स्वरुप (replica) मानिन्छ । गाउँमा वर्षे बालीनाली लगाउनु अघि वैशाख शुक्लपक्ष पारेर सिद्धको पूजा गर्ने चलन रहेको छ । भार्से गाउँको दुई हजार मिटर अग्लो चिर्गाको लेक र जमारी डाँडामा सिद्धथान रहेका छन् । यसै क्षेत्रको कालीगण्डकीमा पाइने शालिग्रामलाई विष्णु भगवानको प्रतीक मानिन्छ । पारगुल्मीको प्रवेशद्वार रुद्रवेणीमा वैष्णव सम्प्रदायको राम मन्दिर रहेको छ । यहाँ माघे सङ्क्रान्ति, नयाँ वर्ष तथा अन्य धार्मिक अवसरहरूमा मेला लाग्ने गर्दछ । रिडीको ऋषिकेश पनि वैष्णव सम्प्रदायका लागि प्रसिद्ध मानिन्छ । पारगुल्मीको कालीगण्डकी करीडोर हुँदै पुगिने मुक्तिनाथलाई वैष्णव र बौद्धमार्गीको प्रसिद्ध तीर्थस्थल मानिन्छ । पारगुल्मीको सत्यवती गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको सिमानामा पर्ने त्रिवेणी शिवालयमा शिवरात्रीको अवसरमा तीन दिन मेला लाग्ने गर्दछ भने कालीगण्डकीको घुमाउनेमा बालाचतुर्दशीमा शतवीज छर्ने मेला लाग्दछ । धार्मिक पर्यटनका लागि यो क्षेत्रलाई एउटा महत्त्वपूर्ण गन्तव्यको रुपमा विकास गर्न सकिने देखिन्छ ।
प्राकृतिक रमणीय स्थलहरू :
पारगुल्मीको गाउँबस्तीहरू र डाँडापाखाहरू अत्यन्तै सुन्दर र मनोरम छन् । करिव २५७० मिटर अग्लो भार्सेको थाप्ले लेकदेखि कालीगण्डकी किनारको ५२४ मिटर होचो भूभागसम्म फैलिएको यो क्षेत्रमा शीतोष्ण एवं समशीतोष्ण, ठण्डा शीतोष्ण र लेकाली हावापानी पाइन्छ । थाप्ले लेक, अर्लाङ्कोट दहको लेक, रुपाकोट लेक, अस्लेवाको परमावेत्ता, ठूलोलुम्पेकको सत्यवती, मसिना, हिले र हचिङ्कोट जस्ता ठूला लेकहरू छन् । लुम्विनी अञ्चलकै सर्वोच्च शिखर थाप्लेबाट सुन्दर धौलागिरी हिम श्रृङ्खला, संरक्षित वनक्षेत्र, सुन्दर पहाडी बस्तीहरू, तराईका फाँटहरू र बुद्ध जन्म स्थल लुम्विनीको दृश्यावलोकन गरेर आनन्द लिन सकिन्छ । सत्यवती लेकमा ठूला आयातकार ढुङ्गाका प्राकृतिक कुण्डहरू, ज्यामितीय आकारमा बनेका प्राकृतिक ढुङ्गे भर्याङ र गुफाहरू छन् । हचिङकोट लेकको दक्षिण पहरामा ६० फिट लामो नाग आकृतिको ढुङ्गा छ । यस्तो ढुङ्गा भार्से सापढुङ्गामा पनि रहेको छ । अर्लाङकोट वामीदहमा ताराखसे गहिरो भनिने खाडलहरू छन् । हुग्दीखोला, लुम्दीखोला, बडहरेखोला, सर्सिउ खोला, घुमाउनेखोला, भार्सेखोला, जुम्दीखोला, तर्दीखोला, बढीगाड, कालीगण्डकी आदि यस भेगका प्रमुख नदीनालाहरू हुन् । संरक्षित वनक्षेत्रमा विभिन्न खालका चराचुरुङ्गी, वन्यजन्तु, जडीवुटी र अनेकौं प्रकारका वनस्पतिहरू पाइन्छन् । भौगोलिक र जैविक विविधताले भरिपूर्ण पारगुल्मीका हराभरा डाँडापाखा र संरक्षित वनक्षेत्रले आन्तरिक तथा वाह्य पर्यटकलाई थप आकर्षित गर्न सक्दछ ।
साहसिक खेल स्थलहरू :
वि. सं. २०७२ सालदेखि सत्यवती गाउँपालिका वडा नं. ८ भार्सेको मयलडाँडा र देउरालीबाट साहसिक खेल प्याराग्लाइडिङ प्रारम्भ गरिएको छ भने सोही समयदेखि साइक्लिङ र राफ्टिङ पनि शुरु गरिएको छ । काठमाडौंबाट बुटवल, पाल्पा, रिडी, रुद्रवेनी, खैरेनी हुँदै भार्से पुगेर साइकल यात्रीहरू फोक्सिङ, पुर्तीघाट, मिर्मी, बुटवल हुँदै फर्कने एउटा रुट र कालीगण्डकी करिडोर हुँदै लुम्विनीबाट पारगुल्मी भएर मुस्ताङ पुग्ने अर्को रुट तय गरिएको पाइन्छ ।  यसैगरी बुर्तीवाङदेखि वडीगाड भएर मिर्मी–रामघाटसम्म राफ्टिङ गर्न थालिएको छ । यस्ता साहसिक खेलका अन्य क्षेत्र र आयामहरूको पनि थप खोजी र प्रयोग हुन आवश्यक छ । भार्से र पारगुल्मीमा साहसिक खेल पर्यटन प्रबद्र्धनमा भार्सेका युवा अघिवक्ता श्रीप्रसाद बुढाथोकी मगर लगायतको पहल स्रहानीय छ ।
गोर्खा भी. सी. सांस्कृतिक सम्पदा पदमार्ग निर्माण सम्भाव्यता :
पारगुल्मी लाहुरेहरूको बाहुल्यता रहेको गाउँ मात्र नभएर विदेशी पल्टनमा वीरता प्रदर्शन गरेर सर्वोच्च युद्ध पदक भी. सी. प्राप्त गर्ने गोर्खा सैनिकहरूको थलो पनि हो । सत्यवती गाउँपालिका ८ भार्सेका कर्णबहादुर राना मगरले सन् १९१८ मा प्यालेस्टाइनको लडाईमा र वडीगाड १०, दर्लिङ निगालपानीका कुलवीर थापा मगरले सन् १९१५ मा फ्रान्सको लडाइँमा सर्वोच्च युद्ध पदक भी.सी. प्राप्त गरेका थिए । यी दुबै जना थर्ड क्वीन अलेक्जेन्द्रास अउन गोर्खा राइफल्सका सिपाही थिए । यसैगरी पारगुल्मीको सीमाना नजिकैको गाउँ थनथाप (वागलुङ) का लालबहादुर थापा मगर (सेकेण्ड किंग एडवार्ड सेभेन्थस् अउन गोर्खा राइफल्सका सुवेदार) ले सन् १९४३ मा ट्यूनिसियाको युद्धमा र म्याग्दीका तुलबहादुर पुन मगर (सिक्स्थ क्वीन एलिजावेथस् अउन गोर्खा राइफल्सका सिपाही) ले सन् १९४४ मा बर्माको युद्धमा भी. सी. पदक प्राप्त गरेका थिए । भी. सी. पदक पाउने १३ जना गोर्खालीहरू मध्ये ४ जना यही भेगका लाहुरेहरू भएकाले पदमार्गको नामाकरणसँग गोर्खा भी. सी. शब्द जोड्दा उपयुक्त हुने देखिन्छ । पारगुल्मीको सत्यवती गाउँपालिका क्षेत्रका प्रमुख सांस्कृतिक एवं प्राकृतिक सम्पदाहरूलाई यो पदमार्गले जोड्ने छ ।
बडीगाड किनाराको रुद्रबेणीबाट प्रारम्भ हुने प्रस्तावित पदमार्गमा यात्रा गर्ने पर्यटकहरू अस्लेवाको बोटे गाउँ, लुम्पेकको ऐतिहासिक हचिङकोट गढी, लुम्पेक गाउँ हुँदै पहिलो बास लिम्घाको एकसिङमा बस्ने छन् । एकसिङ गाउँ गुल्मी जिल्लाकै एक मात्र मगर भाषा बोलिने गाउँ हो । दोस्रो दिन लिम्घाको स्याङ, टाँगेको पहरा, कुडडाँडा, लुम्पेकको अमरदीप, क्वाङ सत्यवती मन्दिर, मसिना ताल हुँदै पम्फुका गाउँमा बास उपयुक्त हुने छ । पहिलो दिनको यात्रा करिब १० किलोमिटर र दोस्रो दिनको यात्रा करिब १८ किलोमिटरको हुने छ । तेस्रो दिन पम्फुकाबाट बुढी सत्यवती मन्दिर, हिले, गोठडाँडा (भैसी खर्क), थाप्ले लेक (वा ऐतिहासिक सिर्कोट गढी, लिसापानी), देउराली हुँदै ऐतिहासिक भार्से–अर्कुल दरबार क्षेत्र घुमेर भार्से गाउँमा बास उपयुक्त हुने छ । तेस्रो दिनको पदयात्रा करिव १८ किलोमिटरको हुने छ । चौथो दिन भार्सेको ठूलो पोखरी, झुल्थुङ मन्दिर, मयलडाँडा, जुनियाकोट, हर्पालकोट, थामोडाँडा सत्यवती, दबुङ गाउँ, चिर्गा सिद्ध, जमाडी कोट, ऐतिहासिक फुर्सेथान गढी, हरियो खानी (तामा खानी) को सुरुङ, खारागाउँ खानी, तीनतारे खानी, डोरो खानी र गुफा शिव मन्दिर आदि धार्मिक तथा पुरातात्विक महात्वका  स्थलहरूको भ्रमणको कार्यक्रम तय गर्न सकिन्छ । यो पदमार्ग करिव १५ किलोमिटरको हुने छ । पाँचौ दिनमा भार्सेमा सञ्चालित नमूना व्यवसायहरूको अवलोकन भ्रमण गर्नु उपयुक्त हुने देखिन्छ । यस क्रममा धनबहादुर पुनले स्थापना गरेको नेपालकै पहिलो अगर उड फार्म, भार्सेली समाज काठमाडौंको पहलमा वि. सं. २०६३ सालदेखि शुरु गरिएको किवी फार्म, भार्सेली युवाहरूको लामाचौर स्थित भैंसी पालन व्यवसाय (स्थानीय जातको पार्कोटे भैसी पालन), दबुङ उखुबारी स्थित गगन थापाको व्यवसायिक भेडा पालन, मलेसियामा व्यवसायिक तरकारी खेती गरेर सुल्तान टीका नामले चर्चित टीकाराम श्रीसको बाख्रा फार्म, चिउरीडाँडाका शिवलाल थापाको मौरी फार्म र भार्से थाप्ले लालीगुराँस आमा समूहको अल्लोको कपडा बुन्ने घरेलु उद्योगहरूको अवलोकन कार्यक्रमको तालिका राख्न सकिन्छ । छैटौं दिन लुम्विनी अञ्चलकै सर्वोच्च शिखर थाप्ले लेकतर्फको पदयात्रा हुनसक्छ । करिव २५७० मिटर उचाईको यो लेकबाट सुन्दर धौलागिरी हिम श्रृङ्खला, संरक्षित वनक्षेत्र, सुन्दर पहाडी बस्तीहरू, तराईका फाँटहरू र बुद्ध जन्म स्थल लुम्विनीको दृश्यावलोकन गरेर आनन्द लिन सकिन्छ । भार्सेबाट मुक्तिनाथतर्फको पदयात्रा गर्न चाहनेहरूले सातौं दिन भार्सेबाट ग्वाघा, बरेङ, राङखानी, ऐतिहासिक थनथाप गढी, भकुण्डे, बागलुङ कालिका, बेनी बजार हुँदै मुक्तिनाथ र जोमसोमतर्फ यात्रा गर्न सक्ने छन् ।
भार्से सांस्कृतिक संग्रहालय र प्रदर्शनी कक्ष :
नयाँ नयाँ प्रविधिको विकास र प्रयोगले गर्दा गाउँघरका परम्परागत सामग्री तथा सीप लोप हुँदै गइरहेको छ । त्यसकारण परम्परागत भौतिक तथा अभौतिक संस्कृति नयाँ पुस्ताका लागि संरक्षण गर्नुपर्ने आवश्यकतालाई बुझेर प्रत्येक वडामा सांस्कृतिक संग्राहलय र प्रदर्शनी कक्ष स्थापनाको लागि स्थानीय स्तरमै पहल जरुरी देखिन्छ । परम्परागत मौलिकता झल्कने संग्रहालय भवनमा कोल, ढिकीझांतो, पानीघट्ट, माहुरीघार, पासो, दर्जन, आरन, खानीको धाऊ, खानी उत्खनन्मा प्रयोग भएका पुराना औजार एवं हातहतियार, भेषभूषा, गरगहना, संगीत आदिका सामग्रीका साथै तस्वीर, चित्रकला आदिको संग्रहले आन्तरिक तथा बाह्य पर्यटकलाई विशेष आकर्षण गर्ने छ । संग्रहालयसँगै कोसेली घर निर्माण गरी स्थानीय लोकशिल्प कलाका सामग्री, बाँकोको सिन्की, सिलाम, फापरको पिठो, घैया धानको चामल, सिल्टुङ, सतुवा, टिमुर, किवी जस्ता स्थानीय उत्पादनहरु बिक्रीको व्यवस्था गर्न सकेमा स्थानीय जैविक उत्पादनले प्रचार–प्रसार र बजार पाउँदछ । पर्यटकहरुलाई स्थानीय लोकगीतनृत्य घाटु, मारुनी, जीवैमामा, सालैजो, झाम्रे, भजन आदि प्रदर्शन गरेर मनोरञ्जन दिनका लागि प्रदर्शन कक्षको पनि व्यवस्था मिलाइनु सकिन्छ । यस्ता गतिविधि र कार्यक्रमले आन्तरिक तथा वाह्य पर्यटकहरूलाई थप आकर्षित गर्ने देखिन्छ । सत्यवती ८, भार्से गाउँका काठमाडौं र विदेशमा बस्ने केही महानुभावहरूको सक्रियतामा भार्से गाउँमा सांस्कृतिक संग्रहालय तथा प्रदर्शनी कक्ष स्थापना गर्ने पहल भइरहेको छ । यसका लागि भार्से डेभेलपमेन्ट फण्ड हङ्गकङ्ग र सत्यवती सांस्कृतिक तथा पर्यटन प्रवद्र्धन ट्रष्ट भार्से नामक संस्थाहरूले विशेष चासो राखेको पाइन्छ । समाजसेवी भू.पू. लेफ्टेनेन्ट कुलबहादुर बुढाथोकीज्यूको आर्थिक सहयोगमा निर्माण भएको भार्से सामुदायिक भवन झुल्ठुङमा आनन्दवन विन्द्रावन आमा समूह भार्सेले नयाँ वर्ष २०७६ देखि ‘भार्से सांस्कृतिक संग्रहालय तथा प्रदर्शनी कक्ष’ सञ्चालन गर्न लागेको छ ।
घरबास (Home Stay) व्यवस्था :
पर्यटकहरूको खाना र बासका लागि विभिन्न स्थानमा घरबास (Home stay) र तालिमको व्यवस्था आवश्यक हुन्छ । पारगुल्मी सत्यवती गाउँपालिकाको प्रवेश विन्दु रुद्रबेणीदेखि भार्सेसम्मको तीन दिने पद यात्राको क्रममा विभिन्न गाउँहरूमा होम स्टेको व्यवस्था मिलाउनु आवश्यक हुन्छ । प्रवेश विन्दु रुद्रबेणीमा एउटा स्वागत कक्ष र सूचना केन्द्र स्थापना गर्नुपर्ने हुन्छ । पहिलो दिनको पदयात्रामा दिनको खानाको लागि लुम्पेक गाउँमा र साँझको खाना र बासको लागि लिम्घाको एकसिङमा तथा दोस्रो दिनको खाना लिम्घाको काफलडाँडा गाउँमा र साँझको खाना र बास पम्फुका गाउँमा व्यवस्थापन गर्न उपयुक्त देखिन्छ । तेस्रो दिनको पदयात्रा भार्से गाउँमा, चौथो, पाँचौं र छैटौं दिनको पदयात्रा भार्से सेरोफेरोको ऐतिहासिक तथा प्राकृतिक सम्पदामा केन्द्रित हुने भएकाले भार्से गाउँमै खाना र बासको व्यवस्था मिलाउनु पर्ने हुन्छ । लुम्पेक, अस्लेवा, एकसिङ, काफलडाँडा, पम्फुका र भार्से गाउँमा १५–१५ वटा घरमा (एक घरमा कम्तिमा ५ जनाको लागि) खान र बासको व्यवस्थापन गर्नसक्ने खालको होम स्टेको व्यवस्था मिलाउन सकेमा पर्यटकलाई सुविधाका साथै गाउँलेलाई गतिलो आम्दानीको माध्यम बन्न सक्छ । भार्से गाउँमा स्थानीय आमा समूहका १६ जना सदस्यहरूको सक्रिय सहभागितामा रान्टोला (राना टोल) र दर्लामीटोलामा घरबास (Home stay) सञ्चालनमा ल्याइएको छ । यसैगरी ऐतिहासिक धार्मिक क्षेत्र भार्से गुफा शिवालयमा सामुदायिक भवन निर्माण हुँदै छ ।
निष्कर्ष :
भौगोलिक तथा जैविक विविधताले सम्पन्न पारगुल्मी प्राकृतिक रुपमा जति सुन्दर र आकर्षक रहेको छ त्यो भन्दा पनि सुन्दर त्यहाँको समाज र संस्कृति रहेको छ । सबै जातजातिका मानिसहरू मिलेर बनेका सुन्दर पहाडी बस्तीहरू, ती गाउँबस्तीहरूका भौतिक एवं अभौतिक सांस्कृतिक सम्पदाहरूमा पर्यटकहरूलाई आकर्षित गर्नसक्ने विशेषता रहेको छ । धार्मिक तथा सांस्कृतिक पर्यटनका अतिरिक्त जलयात्रा, साइक्लिनिङ र प्याराग्लाडिङ जस्ता साहसिक पर्यटनका लागि पनि पारगुल्मी अति उपयुक्त रहेको छ । थोरै भौतिक पूर्वाधारको विकास र धेरै प्रचार–प्रसार गर्न सकेमा पारगुल्मीलाई एउटा नमूना पर्यटकीय गन्तव्य स्थल बनाउन सकिन्छ । जसले गर्दा गाउँघरमा चहलपहल बढ्नुका साथै आय आर्जन र स्वरोजगारको अवसर सिर्जना भई जीवन स्तर माथि उठ्न सक्छ । पर्यटन विकासले गाउँघरको तीब्र र व्यापक बसाइँसराइँलाई नियन्त्रण गर्नुका साथै परम्परागत मौलिक संस्कृति र पुरातात्त्विक सम्पदाहरूलाई लोप हुनबाट जोगाउनमा ठूलो सहयोग पुर्याउँदछ ।
सन्दर्भ सूची :
घर्ती क्षत्री, सूूर्यबहादुर. (२०६७). पाल्पाको मगर संस्कृति. (अप्रकाशित विद्यावारिधि शोधप्रबन्ध). त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौं ।
घिमिरे, विष्णुप्रसाद. (२०४५). पाल्पा राज्यको इतिहास, भाग–१. दोस्रो संस्क.  चितवनः श्रीमती पद्मा घिमिरे ।
बुढाथोकी, गीरिप्रसाद (२०१४). भार्से गाउँको प्राचीन इतिहास र बुढाथोकीको पुख्र्यौली किताव. गुल्मी भार्सेः भीमबहादुर बुढाथोकी  । 
शर्मा, गोपीनाथ. (२०७१). चौवीसी राज्यको इतिहास. काठमाडौंः मकालु प्रकाशन ।
श्री मगर गुरुङ वंशावली. (२०३६). नवदेहलीः विश्व गोर्खाली समिति
श्रीस मगर, मीन. (२०७५). भार्से–अर्कुल राज्यको इतिहास. ललितपुरः जीवन–गंगा कल्याण कोष ।
Ramirez, P. (2000). From the Principality to the Nation States: Gulmi, Argha-Khaci and the Gandaki Kingdoms. In Pilippe Ramirez (eds.), Resunga The Mountain of the Horned Sage, (pp.103-142). Lalitpur: Himal Books.
Advertisment