जग्गा बाँझो नराख्न किसानलाई गण्डकी प्रदेशका कृषि मन्त्री थापाको आग्रह

पोखरा, ६ चैत्र

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले खेतीयोग्य जग्गा बाँझो नराख्न किसानहरूलाई आग्रह गर्नुभएको छ ।

कास्कीको मादी गाउँपालिका–७, पानीघाटस्थित नवनिर्मित पानीघाट बहुउद्देश्यीय भवनको बुधबार उद्घाटन गर्दै मन्त्री थापाले युवाहरूको बढ्दो विदेश पलायनले जग्गा बाँझो हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । विदेशमा भएका युवाहरूलाई पनि स्वदेशमै फर्कौं फर्कौं लाग्ने वातावरण बनाइने दाबी गर्दै मन्त्री थापाले कृषि क्षेत्रको विकासमार्फत् बेरोजगारी हटाउन सकिने भनाइ राख्नुभयो ।

पूँजी र प्रविधि नभित्र्याएसम्म प्रदेशको समृद्धि सम्भव नभएको भन्दै उहाँले आन्तरिक पूँजीको परिचालन र बाह्य लगानीको आकर्षण गरी समृद्धिको अभियान अघि बढाउनुपर्नेमा जोड दिनुभयो । कृषि उत्पादनमार्फत् आयातलाई घटाउनुपर्ने धारणा राख्दै मन्त्री थापाले आन्तरिक उत्पादन गरेर आत्मनिर्भर बन्नतर्फ अग्रसर हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । कृषि सहकारीको स्थापना गरेर कृषि उद्यम अघि बढाउन आग्रह गर्दै उहाँले युवाहरूलाई समूह बनाएर कृषि कर्ममा लाग्न सुझाव दिनुभयो ।

गण्डकी प्रदेशसभाकी नेकपा संसदीय दलकी सचेतक गायत्री गुरुङ “कुसुम”ले जनसहभागितामा निर्माण भएको भवनले समृद्ध प्रदेश बनाउने अभियानमा एउटा नयाँ इँटा थप्ने काम गरेको बताउनुभयो । भौगोलिक हिसाबले कठिनाइ भएपनि मादी गाउँपालिकालाई विकासको केन्द्र बनाउने गरी आफूहरूले सोंचेको भन्दै उहाँले जनताका आवश्यकता पहिचान गरी विकास अघि बढाउने आश्वासन दिनुभयो ।

प्रदेश सांसद् मनबहादुर गुरुङले प्रकृतिले नेपाललाई साथ दिएपनि विविध कारणले देश विकासमा पछि परेको भन्दै अब भने विकासमा ढिलाइ गर्न नहुने धारणा राख्नुभयो । सो अवसरमा उहाँले अबको चार वर्षमा जनतासँग गरेका चुनावी वाचा पूरा गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । कार्यक्रम अघि, मन्त्री थापाले पानीघाटस्थित युम्दु सीता बराह मन्दिरको दर्शन गर्नुभएको थियो ।

कार्यक्रममा मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, मादी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष लालबहादुर गुरुङ, थाक हिल पर्यटन विकास समितिका अध्यक्ष बालकृष्ण गुरुङ, नेकपाका स्थानीय नेता शेरबहादुर गुरुङ, जनकल्याण तमु समाज, पोखराका अध्यक्ष इन्द्रबहादुर गुरुङ, महिला समन्वय समितिकी अध्यक्ष उषा थापामगर, पूर्व वडाध्यक्ष भूपति आचार्यलगायतले मादी गाउँपालिकाको विकासका लागि एकताबद्ध प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रममा भवन निर्माणका लागि सहयोग गर्ने तीन जना जग्गादातासहित चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।

पानीघाट बहुउद्देश्यीय भवन निर्माण समितिका अध्यक्ष हर्कजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मीन गुरुङ र उपाध्यक्ष होमबहादुर गुरुङले स्वागत गर्नुभएको थियो । सो अवसरमा भवन निर्माण समितिका आर्थिक संयोजक लीलबहादुर गुरुङले भवन निर्माणको आयव्यय प्रस्तुत गर्नुभएको थियो । मादी गाउँपालिकाको २ लाख रुपैयाँ सहयोग र स्थानीय जनसहभागितामा भवन निर्माणमा १४ लाख ५० हजार रुपैयाँ खर्च भएको आर्थिक संयोजक गुरुङले जानकारी दिनुभयो ।

 

Advertisment