तमु प्ये ल्हु संघद्वारा स्नातकोत्तर उत्तीर्ण २५ तमु सम्मानित

पोखरा, २८ फागुन
तमु प्ये ल्हु संघ केन्द्रीय समिति नेपालले सोमवार पोखरामा स्नातकोत्तर उत्तीर्ण गरेका २५ जना तमुहरुलाई सम्मान गरेको छ।
तमु प्ये ल्हु संघ संस्थापक अभियन्ताको रुपमा योगदान पुर्याउनु भएका संघका वर्तमान वरिष्ठ उपाध्यक्ष क्याप्टेन इन्द्रबहादुर च्हम्रु तमु प्ये ल्हु संघमा सम्बद्ध भएको २९ वर्ष पुरा भई ३० वर्ष प्रवेशको अवसरमा उहाँद्वारा प्रायोजित तथा संचालित“स्नातकोत्तर उत्तीर्ण तमु विद्यार्थी सम्मान”बाट विभिन्न विषयमा स्नातकोत्तर (मास्टर्स तह) गरेका तमुहरुलाई सम्मानपत्र, दोसल्ला, क्रमु, मालाले सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख शिक्षाविद प्रा.डा. वीरेन्द्रसिंह गुरुङ, तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष हितकाजी टु तमु, सम्मान कार्यक्रमका प्रायोजक तमु प्ये ल्हु संघका वरिष्ठ उपाध्यक्ष इन्द्रबहादुर च्हम्रु तमु, संस्थापक सदस्य भोवर पाल्चै तमुले स्नातकोत्तर तमुहरुलाई सम्मान गर्नुभएको हो।
कार्यक्रमका सम्मानित हुनेहरुमा शान्ति तमु, अधिवक्ता जुनाकुमारी तमु, तेजबहादुर च्हाक्ली तमु, पोलबहादुर तमु, हुमबहादुर तमु, भीमबहादुर तमु, लोकबहादुर तमु, कर्णबहादुर ङोप्छे तमु, गौरी ङोप्छे तमु, खिमबहादुर तमु, कञ्चन ल्हेंगे तमु, मैया तमु, जीवन प्हच्यु तमु, रेनु सरब्ज तमु, रिश्मा सरब्ज तमु, देवकुमारी तमु, विजय तमु, रेनु तमु, रविन्द्र तमु, शिला तमु, धनबहादुर तमु, अनुप तमु, लक्ष्मी तमु, डोककुमारी तमु र मिलन तमु रहनु भएको छ । उच्च शिक्षाप्रति प्रोत्साहन एवं स्वेदशमै स्थापित हुन अभिप्रेरित गर्न स्नातकोत्तर उत्तीर्ण तमुहरुलाई सम्मानको थालनी गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. वीरेन्द्रसिंह गुरुङले सम्मानित स्नातकोत्तर तमुहरुलाई हार्दिक बधाइ ज्ञापन गर्नुहुदै प्राप्त शिक्षा समुदाय, समाज र राष्ट्रका लागि सदुपयोग गर्न आग्रह गर्नुभयो। सम्मान कार्यक्रमले भावी दिनमा समाजमा सकारात्मक परिणाम दिने उहाँको विश्वास थियो। पोखरामा तमुहरुको बाक्लो उपस्थिति रहे पनि उच्च शिक्षामा तमुहरुको उपस्थिति नदेख्दा आफुले त्यही शिर्षकका अध्ययन गरेको बताउनुहुँदै प्रमुख अतिथि गुरुङले उच्च शिक्षाका लागि भर्ना भए पनि तमुहरुले बीचैमा पढाइ छाड्ने गरेको अध्ययनको निष्कर्ष निस्केको बताउनुभयो। शिक्षा नै विकास र समृद्धिको आधार भएकाले तमुहरुले शिक्षालाई विशेष जोड दिनुपर्ने उहाँको आग्रह थियो।
सम्मानितहरु मध्ये हुमबहादुर तमुले आयोजक तमु प्ये ल्हु संघ र प्रायोजक संघका वरिष्ठ उपाध्यक्ष क्या.इन्द्रबहादुर च्हम्रु तमुलाई हार्दिक धन्यवाद व्यक्त गर्नुहुँदै मास्टर्स उत्तीर्ण गरेको धेरै वर्षपछि सम्मानित भएकाले जोश जाँगर थपिएको बताउनुभयो। उहाँले तमु समुदाय, समाज र राष्ट्रका लागि थप सेवा गर्ने उद्घोष गर्नुहुदै तमु एकता, तमुका अधिकार, पहिचान, समानता, राज्यका कुर्सीमा पु¥याउन र तमुहरुको व्यवसाय, सेवा बृद्धिका लागि सबै जुट्नुपर्नेमा जोड दिनुभयो।
सम्मानित अधिवक्ता जुनाकुमारी पर्जु तमुले सम्मानले ठूलो प्रेरणा प्राप्त गरेको बताउनुहँदै तमु प्ये ल्हु संघ र सम्मान कार्यक्रमका प्रायोजक क्या.इन्द्रबहादुर च्हम्रु तमुको गुनलाई कहिल्यै नबिर्सने बताउनुभयो। उहाँले आफ्ना सन्ततिलाई असल शिक्षा र उचित वातावरण प्रदान गर्नुपर्ने बताउनुहँुदै मिहिनेत गरे अवसर आफै खोज्न आउने भन्दै आफ्नै उदाहरणहरु प्रस्तुत गर्नुभयो। उहाँले तमुहरुले कानून अध्ययनका लागि पनि अग्रसरता देखाउनका लागि समेत आग्रह गर्नुभयो।
स्नातकोत्तर उत्तीर्ण तमु विद्यार्थी सम्मान कार्यक्रमका प्रायोजक, तमु प्ये ल्हु संघ केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष क्या.इन्द्रबहादुर च्हम्रु तमुले आफु २०४६ साल फागुन २७ गतेका दिन तमु प्ये ल्हु संघमा आवद्धताको पाइला टेक्दै २९ वर्ष पूरा गरेको दिनको अवसरमा शिक्षित तमुहरुलाई प्रोत्साहनका लागि सम्मानको शुरु गरेको र यसले आगामी दिनमा पनि निरन्तरता पाउने बताउनुभयो। उहाँले आगामी दिनमा स्नातकोत्तर तमु सम्मानका लागि अक्षयकोष स्थापना गरी प्रत्येक वर्षको फागुन २७ गते स्सम्मान गरिदै लगिने घोषणा गर्नुभयो। यस वर्ष पोखरामा रहेका स्नातकोत्तर तमुहरुलाई सम्मान गरिएको र आउदो वर्षदेखि देशैभरका तमुहरुले सम्मान गरिने उहाँको भनाई थियो। तमुहरुले शिक्षा, तमु एकता, तमुका अधिकार, पहिचान सुरक्षित, मौलिकताका संरक्षण गर्न सबै जुट्नुपर्ने आग्रह गर्नुभयो।
पोखरा–१० स्थित रोयल दिदिबहिनी किचनमा तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी टु तमुको अध्यक्षतामा भएको कार्यक्रममा संघका द्वितीय उपाध्यक्ष पमबहादुर क्रोम्छे तमुले स्वागत मन्तव्यका साथै कार्यक्रमको उद्देश्यको बारेमा जानकारी दिनुभएको थियो भने सहसचिव लोकेन तमुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

Advertisment