जनविकास मावि, लाम्तुनको ५९ औं वार्षिकोत्सव सम्पन्न, कल्पनाले लिइन् ७ बालबालिकाको अभिभावकत्व

लाम्तुन (पर्वत), २८ फागुन
पर्वतको महाशिला गाउँपालिका–४, लाम्तुनस्थित जनविकास माध्यमिक विद्यालयको ५९ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रममा महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले सम्बोधन गर्दै गाउँपालिकाको शैक्षिक विकासका लागि आफूले विशेष ध्यान दिएको उल्लेख गर्नुभयो ।
सो अवसरमा गाउँपालिकाको ५ लाख रुपैयाँ सहयोग र स्थानीय जनश्रमदानमा विद्यालयको नवनिर्मित दुई कोठे भवनको समेत अध्यक्ष पौडेलले उद्घाटन गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलाराम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक उमाकान्त लम्साल र शिक्षक भेषनारायण लम्सालले स्वागत गर्नुभएको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष केमबहादुर गुरुङले पनि बोल्नुभएको थियो ।


कल्पना बनिन् ७ बालबालिकाको अभिभावक
समाजसेवी कल्पना गुरुङ सो विद्यालयमा अध्ययनरत ७ बालबालिकाको अभिभावक बन्नुभएको छ । आफूले पढेको विद्यालयका लागि केही गर्ने मनसायले गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई सहयोग गर्ने मन पलाएको उहाँले बताउनुभयो । यसअघि, सोही विद्यालयमा अध्ययनरत ६ बालबालिकालाई अभिभावकत्व ग्रहण गरी पढाउँदै आउनुभएकी उहाँले विद्यालयको वार्षिकोत्सवका अवसरमा अर्का एक विद्यार्थीको पनि अभिभावकत्व ग्रहण गर्नुभएको हो । उहाँले यसअघि, ६ जना बालबालिकालाई अहिले अध्ययनरत तहदेखि कक्षा १२ सम्म पढाउने गरी विद्यालयसँगको सम्झौतामा हस्ताक्षर गर्दै अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।
यसअघि, यसरी अभिभावकत्व पाउनेहरूमा बालशिक्षाका २ जना मीरा सुनार र एलिसा गुरुङ, कक्षा ४ का २ जना हरिकला क्षत्री र भोलाकुमारी नेपाली, कक्षा ५ का धनबहादुर क्षत्री र कक्षा ८ का रामबहादुर क्षत्री रहेका छन् । अहिले थपिएकामा कक्षा ९ का ईश्वर लम्साल छन् । उनले पनि कक्षा १२ सम्म गुरुङको अभिभावकत्वमा पढ्न पाउने छन् । उनीहरूका बुबा आमाहरू मीराका बाबु आमा राजु सुनार र कुमारी सुनार, एलिसाका नरेन्द्र र गौमाया गुरुङ, भोलाका सन्तबहादुर र रीता नेपाली, हरिकलाका कृष्णबहादुर क्षत्री, धनबहादुरका सुकबहादुर र लीलावती क्षत्री, रामबहादुरका पितमबहादुर र विष्णुकुमारी क्षत्री एवं ईश्वरका केदारप्रसाद र बोलकुमारी लम्साल रहनुभएको छ । उनीहरू सामान्य परिवारका छन् ।
गुरुङको अनुरोधमा विद्यालयले गरिब तथा विपन्न परिवारका ६ जना विद्यार्थी छनौट गरिएको विद्यालयका प्रधानाध्यापक चक्रबहादुर क्षत्रीले जानकारी दिनुभयो । वार्षिकोत्सवका अवसरमा गुरुङले अभिभावकत्व पाएका ७ जना बालबालिकालाई विद्यालय पोशाक (स्वीटर र टोपी), झोला, कापी, कलमलगायतका शैक्षिक सामग्री समेत वितरण गर्नुभएको थियो । गुरुङको अनुपस्थितिमा उहाँकी बहिनी समाजसेवी किरण गुरुङले शैक्षिक सामग्री एवं झोला, टोपी र स्वीटर हस्तान्तरण गर्नुभएको थियो ।

Advertisment