स्याङ्जाको हरिनासमा ३७ औं मगर दिवस मनाइयो

रोदीखोला (स्याङ्जा), २१ फागुन
स्याङ्जाको हरिनास गाउँपालिकामा नेपाल मगर संघको ३७ औं स्थापना दिवस एवं मगर दिवस मनाइएको छ । नेपाल मगर संघ हरिनास गाउँपालिका समितिको आयोजनामा ३७ औं मगर दिवस मनाइएको हो ।
नेपाल मगर संघको स्थापना भएको ३७ औं वर्षगाँठका अवसरमा हरिनास गाउँपालिका–४, चित्रेभञ्ज्याङ रोदीखोलामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल मगर संघका पूर्व महासचिव एवं केन्द्रीय सल्लाहकार लोकबहादुर थापामगरले नेपालका हरेक राजनैतिक परिर्वतनमा मगर समुदायको निर्णायक भूमिका रहेको दाबी गर्नुभयो ।
निरंकुश राणा शासनविरुद्ध प्रथम शहीद लखन थापामगरले दिएको बलिदानसँगै मगर समुदायका कैयौं अगुवाहरूले राजनैतिक परिवर्तनका लागि प्राणको आहुति दिएको बताउँदै उहाँले पछिल्लो समय भएको जनयुद्धमा समेत मगर समुदायले निर्णायक भूमिका खेलेको बताउनुभयो । राजनैतिक परिर्वतनमा अग्रणी भूमिका भएपनि मगर समुदाय राज्यसत्ताबाट सधैं उपेक्षित र उत्पीडित रहँदै आएको भन्दै थापामगरले मगर समुदायले अझै पनि राजनैतिक सत्ता प्राप्त गर्न नसकेको उल्लेख गर्नुभयो ।


कार्यक्रममा नेपाल मगर संघ, स्याङ्जाका जिल्ला सदस्य रिबहादुर रानामगर, नेपाल मगर संघ, हरिनास गाउँपालिकाका सल्लाहकारहरू वडा नं. ६ का वडाध्यक्ष नरबहादुर रानामगर, ७ का इन्द्रकुमार थापामगर, ४ का खिमबहादुर थापामगर, नारायणसिंह थापामगर, प्रेम थापामगर, २ का सीबी सिंजालीमगर, ५ का मोहन थापामगरलगायतले मगर समुदायको हक, हित र अधिकारका लागि भाषणमात्रै नभएर व्यवहारगत रुपमा समेत अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो ।
नेपाल मगर संघ, हरिनास गाउँपालिका समितिकी अध्यक्ष रेवती थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव खड्कबहादुर रानामगरले गर्नुभएको थियो । सो अवसरमा वडा नं. ४, राम्चेका तर्फबाट कौरा, वडा नं. ७, वैदीछापका तर्फबाट नौमती बाजा प्रस्तुत गरिएको थियो । वर्षात्का बावजुद पनि सांस्कृतिक झाँकीसहितको ¥यालीमा झण्डै ९ सय मगरहरुको सहभागिता रहेको अध्यक्ष थापामगरले जानकारी दिनुभयो ।

Advertisment