महिला उद्यमीका साथमा सांसद् मीना गुरुङ, पोखरा–८ मा वडा एकाइ गठन

पोखरा, १४ फागुन
गण्डकी प्रदेशकी सांसद् मीना गुरुङले हरेक टोल टोलबाट महिलाहरू उद्यमी बनेर आउनुपर्ने धारणा राख्नुभएको छ । महिला उद्यमी संघ, कास्कीको संगठन विस्तार अभियान अन्तर्गत पोखरा महानगरपालिका वडा नं. ८ मा वडा एकाइ गठन तथा मेकअप आर्टसम्बन्धी तालिमलाई सम्बोधन गर्दै सांसद् गुरुङले महिला उद्यमी संघको अभियानमा आफ्नो सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


पोखरा महानगरपालिकाका ३३ वटै वडामा महिला उद्यमी संघ, कास्कीको संगठन विस्तारका लागि आफ्नो साथ रहने बताउँदै सांसद् गुरुङले महिला हुँ भनेर हीनताबोध गरेर बस्ने दिन अब गएको उल्लेख गर्नुभयो । महिलाले पनि अवसर पाए धेरै काम गर्न सक्छन् भनेर उदाहरण बन्नुपर्नेमा जोड दिँदै उहाँले पहिलेको तुलनामा अहिले परिस्थिति फेरिएको भनाइ राख्नुभयो । महिलाहरुका लागि धेरै अवसर रहेको भन्दै सांसद् गुरुङले महिला उद्यमशीलताको विकास गरेर आयआर्जनमा लाग्नु आवश्यक रहेकोमा जोड दिनुभयो । सांसद् गुरुङले सांसद् भएबापत पाउने आफ्नो सम्पूर्ण तलबभत्ता महिला उद्यमी जन्माउनका लागि विभिन्न सीपमूलक तालिम एवं महिला उद्यमी संघको संगठन विस्तारमा खर्च गरिरहेको र आगामी दिनमा पनि निरन्तर लाग्ने बताउनुभएको छ ।
यसैबीच, महिला उद्यमीहरुको भेलाले कुलमाया क्षेत्रीको अध्यक्षतामा महिला उद्यमी संघ, वडा एकाइ समिति, वडा नं. ८ गठन गरेको छ । महिला उद्यमी संघ, कास्कीकी अध्यक्ष काशी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव प्रतिभा गैरे तथा उपाध्यक्ष पार्वती पौडेलले गर्नुभएको थियो । कार्यक्रममा महिला उद्यमी संघ, कास्कीकी पूर्व सचिव एवं वडा सदस्य किरण गौतमले मन्तव्य व्यक्त गर्नुभएको थियो । महिला उद्यमी संघ, कास्कीले यसअघि, वडा नं. १ मा वडा एकाइ गठन गरेको छ भने बाँकी वडाहरुमा पनि छिटै गठन गर्ने अध्यक्ष काशी गुरुङले जानकारी दिनुभयो ।

Advertisment