कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा प्रा.डा. राना नियुक्त

काठमाडौं, १३ फागुन
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन पदमा प्रा.डा. रेशमबहादुर राना नियुक्त हुनुभएको छ । उपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्लेले प्रा.डा. रानालाई आगामी चार वर्षका लागि गत पुष १६ गते सो पदमा नियुक्त गर्नुभएको हो ।
स्वास्थ्य सहायक पदबाट स्वास्थ्य सेवा शुरु गर्नुभएका प्रा.डा. रानाले चिकित्सा शिक्षाअन्तर्गत स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि पूरा गर्नुभएको छ । प्रा.डा. रानाले वीर अस्पताल सेवा तथा चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठान (न्याम्स)मा र काठमाडौं विश्वविद्यालयको चिकित्सा शिक्षा अध्यापनमा समेत संलग्न हुनुहुन्थ्यो ।
यसअघि प्रतिष्ठानले प्रतिष्ठानअन्तर्गत स्त्रीरोग विभागको प्रमुखमा पूर्वस्वास्थ्य सचिव प्रा.डा. किरण रेग्मीलाई नियुक्ति गरेको थियो । ‘मलाई दूर्गम क्षेत्रको स्वास्थ्य अवस्थाको पीडा राम्ररी जानकारी छ, यसलाई कसरी उठाउन सकिन्छ भनेर विश्व स्वास्थ्य सङ्गठनको सेवा छाडेर जुम्ला गएकी हूँ’, प्रा.डा. रेग्मीले भन्नुभयो ।
प्रतिष्ठानले डा. सुनिल बुढाथोकी र डा. कमल शर्मालाई बालरोग विभागमा नियुक्ति गरेको छ । त्यसैगरी, प्रतिष्ठानले एमडिजिपी कार्यक्रमको संयोजकमा यसअघि डा. तरुण पौडेललाई नियुक्ति गरेको थियो । उहाँले स्वास्थ्य सेवातर्फ १२ आँै तहबाट अवकाश लिएका थियो । प्रतिष्ठानले सोही कार्यक्रमका लागि डा. भोलाराम श्रेष्ठलाई नियुक्तिको तयारी गर्दैछ । यसअघि, प्रतिष्ठानमा डा. निरेश थापा कार्यरत हुनुहुन्थ्यो ।
नेपाल मेडिकल काउन्सिलले प्रतिष्ठानलाई सो शैक्षिक कार्यक्रम सञ्चालन गर्न सिट संख्या निर्धारण गर्न ढिलाइ गरिरहेको छ । काउन्सिलले तीन पटकसम्म प्रतिष्ठानको स्थलगत अध्ययन पूरा गरिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एमडिजिपी शैक्षिक कार्यक्रम सञ्चालन गर्न अगाडि बढ्न अनुमति प्रदान गरिसकेको छ ।
‘एमडीजिपी तथा एमबीबीएस तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति, पूर्वाधार, उपकरण तीनै दृष्टिकोणले प्रतिष्ठानले तयारी पूरा गरेको छ, अब मेडिकल काउन्सिलको अनुमतिको पर्खाइमा छाँै । सिट संख्या निर्धारणको पत्र कहिले आउला भन्ने प्रतिक्षामा छौँ ।’ प्रतिष्ठानका उपकुलपति प्रा.डा. वाग्लेले भन्नुभयो ।
ती तहका कार्यक्रम अनुमति पाएपछि जुम्लामा पहिलो पटक चिकित्सक उत्पादन हुनेछ । प्रतिष्ठानले जुम्लामा ३०० शैय्याको अस्पताल सञ्चालन गरिरहेको छ । प्रतिष्ठानले कालीकोट, मुगु जाजरकोट, अछाम, बाजुरा, बझाङ, सुर्खेत, दैलेख, सल्यान, रुकुम (पूर्व) तथा रुकुम (पश्चिम) जिल्लामा रहेका स्वास्थ्य संस्थामा चिकित्सक अभाव हुन नदिन चिकित्सक, स्वास्थ्यकर्मी तथा उपकरणको सहयोग तथा घुम्ती विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
प्रतिष्ठानले प्रमाणपत्र तहमा जनरल मेडिसिन (हेल्थ असिस्टेन्ट), नर्सिङ तथा स्नातक तहमा मिडवाइफ्री तथा व्याचलर इन पब्लिक हेल्थ शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । अर्काेतर्फ प्रतिष्ठानले गत वर्षदेखि नै नेपाल सरकारको उच्च प्राथमिकता प्राप्त बीमा कार्यक्रमलाई जुम्लालगायत प्रदेश नं ६ मा कार्यान्वयन गर्न सहयोगसमेत गर्दै आएको छ ।
जुम्लामा रहेको प्रतिष्ठानमा शैक्षिक एवं प्राज्ञिक सेवा तथा प्रतिष्ठानले सेवा दिने अति दुर्गम जिल्लामा स्वास्थ्य सेवा दिन अहिले ३०० चिकित्सकले प्रतिष्ठानमा आवेदन दिएका प्रतिष्ठानले जनाएको छ ।
‘प्रतिष्ठानमा सेवा दिन चिकित्सकको मोह र आकर्षण बढ्दो छ, उनीहरुको योग्यता र दक्षताका आधारमा नियुक्ति गर्छाैँ ,सूची तयारी गर्दैछौँ,’ उपकुलपति प्रा.डा. वाग्लेले भन्नुभयो । तीमध्ये अधिकांश शहरी क्षेत्रमा कार्यरत तथा विदेश अध्ययन गरेर आएका चिकित्सक रहेको बताइएको छ ।

Advertisment