प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप कांग्रेसलाई अस्वीकार्य ः देउवा

पोखरा, १२ फागुन
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप आफ्नो पार्टीलाई अस्वीकार्य भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन, कास्की शाखाको नवौं जिल्ला अधिवेशन तथा पुरस्कार वितरण कार्यक्रमलाई शनिबार पोखरामा सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताउनुभएको हो ।
सो अवसरमा देउवाले कांग्रेस सधैं लोकतन्त्र र स्वतन्त्र प्रेसको पक्षमा रहेको जिकिर गर्नुभयो । लोकतन्त्रका लागि प्रेस जगतले खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै उहाँले प्रेस स्वतन्त्रताका लागि आफ्नो पार्टी सधैं लड्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, नेपाली कांग्रेस, कास्कीका सभापति कृष्ण केसी, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरही, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, पुरस्कारबाट सम्मानित व्यक्तित्वद्वय समीरजंग शाह र कविर राणालगायतले प्रेस स्वतन्त्रताको रक्षाका लागि सम्पूर्ण पत्रकारहरु एक हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण गरिएको थियो । त्यस्तै, नेपाल प्रेस युनियन, कास्की शाखालाई महत्वपूर्ण योगदान दिने युनियनका पूर्व पदाधिकारीहरुलाई सम्मान समेत गरिएको थियो ।

Advertisment