रुपा गाउँपालिकामा गण्डकी प्रदेशस्तरीय प्रथम अध्यक्ष कप भलिबल हुने

पोखरा, १२ फागुन ।
रुपा गाउँपालिका, कास्कीको आयोजनामा गण्डकी प्रदेश अन्तर्गतका स्थानीय तहहरूबीच “प्रथम अध्यक्ष कप–२०७५” खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । गाउँपालिकाले स्थानीय तह स्थापना दिवसको अवसर पारेर यही फागुन २४ गतेदेखि २७ गतेसम्म अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
आज रुपा तालकिनारमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराउँदै गाउँपालिका अध्यक्ष नवराज ओझाले नेपालको राष्ट्रिय खेल र रुपा गाउँपालिकाको पनि विशेष खेल भएकाले भलिबल प्रतियोगिता गर्न लागेको जानकारी दिनुभयो । “युवाहरुलाई खेलकुदतर्फ आकर्षित गरौं, स्वस्थ र समुन्नत समाजको निर्माण गरौं” भन्ने मूल नारासहित आयोजना गर्न लागिएको भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहलाई आमन्त्रण गरिएको अध्यक्ष ओझाले बताउनुभयो ।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख रुपैयाँ रहेको छ । त्यस्तै, प्रतियोगितामा द्वितीय, तृतीय हुने टिम तथा विभिन्न विधामा उत्कृष्ट हुनेहरूलाई विधागत पुरस्कारको समेत व्यवस्था गरिएको ओझाले जानकारी दिनुभयो । सोही अवसरमा गाउँपालिका अन्तर्गतका ७ वटै वडाहरुमा लोप हुन लागेका विभिन्न जातजातिहरुको सांस्कृतिक परम्परालाई जगेर्ना र संरक्षण गर्ने उद्देश्यले गाउँपालिकास्तरीय झाँकी प्रदर्शन समेत राखिएको छ । झाँकी प्रदर्शनमा प्रथम हुनेलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले जानकारी दिनुभयो ।
अर्यालका अनुसार प्रतियोगिता सम्पन्न गर्न ५ देखि ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यसैगरी, प्रतियोगितामा सहभागी टिमका लागि सेमीफाइनलदेखि खान र बस्नको व्यवस्था समेत गरिएको गाउँपालिका अध्यक्ष ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा ३० देखि ४० टिम सहभागी हुने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागी हुन टिम दर्ताका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

Advertisment